जोडिनुहोस
  • होमपेज
  • पुनः सुनसान बनेको सौराह : विस्थापित हुँदै व्यवसायी, ५ हजारभन्दा बढीले रोजगारी गुमाए

पुनः सुनसान बनेको सौराह : विस्थापित हुँदै व्यवसायी, ५ हजारभन्दा बढीले रोजगारी गुमाए
तस्विर : बिनय आचार्य

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, जेठ २५
पहिलो चरणको कारोना महामारीबाट गुज्रेर फेरि उठ्न खोजेको सौराहको पर्यटन व्यवसायलाई दोश्रो चरणको महामारीले थला पारिदिएको छ ।

अहिले नयाँ भेरियन्टसहित पुनः तीव्ररुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न चितवनमा निषेधाज्ञा जारी छ । अन्र्तराष्ट्रिय उडान पनि बन्द छन् । जसले गर्दा सौराहको समग्र पर्यटन व्यवसाय ठप्प छ ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराइका अनुसार अहिले सौराहका कतिपय होटल व्यवसायीहरु विस्थापित भइसकेका छन् । केही होटलहरु बिक्रिमा रहेका छन् । बाह्य पर्यटकलाई लक्ष्ति गरेर बनाइएका होटलहरु जग्गा कारोबारीले खरिद गर्दा सौराहको पर्यटन व्यवसायमा नकरात्मक प्रभाव पर्ने डर भएको भट्टराइ बताउँछन् ।

पर्यटन वर्ष २०२० लाई लक्ष्ति गरेर होटल व्यवसायीले बैंकबाट ऋण लिएर धेरै लगानी गरेको हुँदा अहिले व्यवसायीहरुलाई बैंकको ऋण तिर्न समस्या भएको अध्यक्ष भट्टराइले बताए ।

सौराहको पर्यटन क्षेत्रमा कार्यरत ५ हजार कर्मचारीले रोजगार गुमाएका छन् । भट्टराइका अनुसार यहाँका होटलसहित समग्र पर्यटन क्षेत्रमा ५ हजार ५ सय जना कर्मचारी कर्यरत रहेका थिए । जसमध्ये अहिले २/३ सय जनामात्र कार्यरत छन् । होटलको सरसफाइ र रेखदेखका लागिमात्र केही कर्मचारीहरु राखिएका छन् ।

सौराहमा संघमा दर्ता भएका १२० सहित जम्मा १६० वटा पर्यटक लक्ष्ति होटल रहेका छन् । यहाँका होटलमा ३५ अर्बको हाराहारीमा लगानी रहेको अध्यक्ष भट्टराइले जानकारी दिए ।

बजेटले राहतको महसुश :

आगामी आर्थिक वर्षबाट सरकारले होटल तथा पर्यटन क्षेत्रलाई उत्पादन मुलक उद्योगको सरह मान्यता दिने भनेको छ । सरकारको निर्णयको कार्यान्वयन भएमा उद्योगले पाउने सुविधा होटल तथा पर्यटन क्षेत्रले पनि पाउने हुँदा होटल तथा पर्यटन व्यवसायीलाई धेरै राहत महसुश हुने अध्यक्ष भट्टराइले बताए ।

बजेटमा पुनःकर्जालाई निरन्तरता दिइएको भए पनि यसमा धेरै अन्यौलता रहेको र सबैले कर्जा पाउन नसकेको भट्टराइको भनाइ छ । यस्तै कृषि र पर्यटन क्षेत्रलाई सरकारलेसँगै जोडेर हेर्ने गरे पनि कृषि सरह सुविधा पर्यटन क्षेत्रले पाउन नसकेको भट्टराइले गुनासो गरे ।

डेढ वर्षदेखि थलिएको पर्यटन व्यावसाय :

नेपालमा कोराना नियन्त्रण गर्न सरकारले २०७६ को चैतदेखि देशव्यापी लकडाउनको घोषणा गर्‍यो । त्यसयता देखि नै नेपालको पर्यटन क्षेत्रमा नकरात्मक असर पर्दै आएको छ । काठमाडौं, पोखरा, लुम्बिनीलगायतका विभिन्न प्रमुख पर्यटकीय गन्तव्यहरुको अवस्था पनि सौराहको जस्तै छ ।

पहिलो चरणको कोरोना महामारी केही नियन्त्रणमा आएपछि सरकारले देशव्यापी लकडाउनलाई खुकुलो पार्दै बन्द गरेको थियो । जिल्लाहरुले आआआफ्नै तरिकाले निषेधाज्ञा जारी गरेका थिए । चितवनमा पनि जारी गरिएको निषेधाज्ञा बिस्तारै खुकुलो पारियो । २०७७ सालको दशैंतिहारका बेला देशभरि नै लकडाउन र निषेधाज्ञा बन्द गरियो । दशैं तिहारका बेला सौराहमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । दशैंतिहारपछि आन्तरिक पर्यटक पनि कम आउन थाले

कोरोनाको जोखिम पूर्ण रुपमा नहटेका कारणले गर्दा सवारी चलेको भए पनि आन्तरिक पर्यटक विगतका वर्षहरुमा जस्तो आएका थिएनन् । अन्र्तराष्ट्रिय उडान भने बन्द रहेका कारण बाह्य पर्यटकको आगमन ठप्प थियो । पछि उडान खुले पनि बाह्य पर्यटको आगमन हुन सकेको थिएन ।

सौराहका होटल व्यावसायीहरुले आन्तरिक पर्यटकमा वृद्धि गराउन घुँमौ सौराह अभियान सञ्चालन गरेका थिए । उनीहरु देशको विभिन्न सहरमा पुगेर सौराह कोरोनाबाट सुरक्षित रहेको भन्दै घुम्न आउने आग्रह गरे । त्यसपछि आन्तरिक पर्यटकको पुनः केही चहलपहल सुरु हुँदै थियो । त्यसैबेला पुनः दोश्रो चरणको कारोना महामारी फैलियो । त्यसपछि चितवनमा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । आन्तरिक तथा बाह्य उडानहरु ठप्प छन् । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा छ ।

यतिबेला सौराहका होटलमात्र होइनन् हात्ती व्यावसायीहरुलाई पनि ठूलो मर्का परेको छ । हात्तीहरु नै विस्थापित हुने डर रहेको पाइएको छ । यससम्बन्धि समाचारका तल क्लिक गर्नुहोस्, ।

सौराहका घरेलु हात्ती : वारी भोकै पारी निकुञ्जको घाँस कुहिँदै, निषेधाज्ञामा पाल्न नसक्दा भारत विस्थापित हुँदै

  

सम्बन्धित समाचार :

आन्तरिक पर्यटकले धानिएन सौराहा, अन्तर्राष्ट्रिय उडान खुलाउन पर्यटन व्यावसायीको माग

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका