जोडिनुहोस
  • होमपेज
  • सुरक्षा घेरामा असुरक्षित राउटे युवती,ज्यान बस्तीभित्रै जोखिममा

सुरक्षा घेरामा असुरक्षित राउटे युवती,ज्यान बस्तीभित्रै जोखिममा

सुर्खेत,जेठ २५-

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायकी युवती भएका कारण हत्तपत्त कसैसँग बोल्दैनन् । बोलिहाले पनि मनका कुरा खोल्दैनन् । अन्य समुदायभन्दा छुट्टै पहिचान बोकेकाले पनि उक्त समुदायसँग बाहिरका व्यक्ति घुलमिल गर्न चाहन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै युट्युबर, टिकटकर र फेसबुक प्रयोगकर्ताहरुले समुदायका युवती तथा अन्य व्यक्तिसँग फोटो खिच्ने र भिडियो बनाउने क्रम बढ्दै गयो । युट्युब पत्रकार भनेर चिनिनेहरुले राउटे समुदायका युवतीलाई सुन्दरी समेत भनेर चर्चामा पुर्‍यायो । उनीसँग फोटो खिच्ने र टिकटक बनाउनेहरुको लर्को लाग्न थाल्यो । अन्ततः फेसबुकमा अपलोड गरिएको एक भिडियोले उनको पहिचान नै गुमनाम बनायो ।

दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेतको लेकबेंसी नगरपालिका हुँदै करिब ४ महिनाअघि गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसाइँ सरेका थिए । गुर्भाकोटमा आएपछि पनि बस्तीमा बाहिरबाट फोटो खिच्न, भिडियो बनाउन जानेहरुको लहर रोकिएन । केही महिनाअघि राउटे बस्तीका युवतीको चिनजान गुर्भाकोटकै स्थानीय युवासँग भयो । बस्तीमा फोटो खिच्न र भिडियो बनाउन जानेहरुका कारण बाहिरी समाजसँग अलि बढी घुलमिल हुन थालेकाले पनि ती युवकसँग चिनजान बढ्यो । तर उक्त चिनजानको मूल्य आफ्नो अस्तित्व गुमाएर चुकाउनुपर्छ भन्ने उनले सोचेकी पनि थिइनन् ।

चिनजानपछि ती युवतीलाई स्थानीय युवाहरुले गुर्भाकोट–९ बोटेचौरमा रहेको मेहेलकुना होटलमा खाना खान जाने प्रस्ताव गरे । होटलमा जान मञ्जुर भएपछि युवाहरुले मदिरा सेवन गरी ती युवतीलाई समेत मदिरा सेवन गराए । मदिरा सेवन गरी मातिएका युवाले भिडियो खिच्दै उनीहरुलाई दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ । जेठ २१ गते राति घटना भएको भोलिपल्ट सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फि विरोध भयो । भिडियो भाइरल भएको भोलिपल्ट २३ गते बिहान ३ बजे प्रहरीले उक्त होटलबाटै तीन युवालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा होटल सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भुपेन्द्र बुढा रहेको प्रहरीले जनाएको छ ।

घटनापछि आफ्नै बस्तीमा फर्किएका युवतीहरु भिडियो भाइरल भएको र युवाहरुलाई पक्रिएको खबरबारे अञ्जान छन् । उनीहरुले आफूमाथि भएको दुर्व्यवहार नै पहिचान गर्न सकेका छैनन् । न त उनीहरुले आफूमाथि शोषण भयो भनेर आवाज नै उठाएका छन् । बस्तीमा आफ्नाहरुका माझ बसेका ती युवतीहरुलाई अब आफ्नाबाटै जोगिन मुस्किल देखिएको छ । राउटे समुदायले बनाएको नियम कानुन अनुसार ती युवतीमाथि भएको घटनाबारे थाहा पाएमा मृत्युदण्डको सजायसमेत दिन सक्ने केही अध्ययनले देखाएको छ । बस्तीमा बाहिरका व्यक्तिहरुलाई प्रवेश गर्न नदिनका लागि प्रहरीको कडा सुरक्षा छ । तर ती युवतीहरुको ज्यान बस्तीभित्रै जोखिममा छ । कान्तिपुरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका