जोडिनुहोस
  • होमपेज
  • आइसोलेसनमा रहेकी ममीलाई छोरीले सुत्नेबेलामा सोध्थिन्: बाबा मामुलाई कहिले निको हुन्छ ?

विचार/ब्लग

आइसोलेसनमा रहेकी ममीलाई छोरीले सुत्नेबेलामा सोध्थिन्: बाबा मामुलाई कहिले निको हुन्छ ?

पत्रकार उपाध्यायको कोरोना महामारीको सिकाइ

आइसोलेसनमा रहेकी ममीलाई छोरीले सुत्नेबेलामा सोध्थिन्: बाबा मामुलाई कहिले निको हुन्छ ?

श्रीधर उपाध्याय

 

म आफू सञ्चारकर्मी । छोरीलाई सिकाइका लागि मसँग समय नहुने । साँझ आउँदा निदाउने । बिहान भनेजस्तो नहुने । कहिले चाँडै निस्कनु पर्ने । उसको सिकाइको साथी बन्न पाएको थिइन । छोरी पाँच वर्ष पूरा भइन् । पाँच वर्षमा एउटा बच्चाको ९० प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ । यो महत्वपूर्ण समय छोरीको सिकाइका लागि थियो । भर्खर विद्यालय टेकेकी छोरीका लागि सिकाइको निरन्तरता घामछाया जस्तै थियो । २०७६ चैतबाट २०७८ जेठबीचमा मुस्किलले साढे तीन महिना विद्यालय जान पाइन् होला । कोभिडको पहिलो लहरमा सिकाइका लागि उनी विद्यालयको प्राथमिकतामा थिइनन् । पहिलो लहरमा घरमै ‘एबीसीडी’ र ‘कखरा’ सिकाएको थिएँ । तर, त्यो प्रर्याप्त थिएन । महामारीमा झन् बढी अफिसका लागि समय दिनुपर्ने बाध्यता थियो । त्यति बेला सिकाएको ‘कखरा’ लेखेको कपी अहिले पनि सुरक्षित छ । दोस्रो लहरमा भने अनलाइन क्लासबाट भए पनि सिक्ने अवसर पाएकी छन् । ल्यापटप र मोबाइल अघि बसेर पढ्नु त्यति सहज होइन । माहामारीले नयाँ अध्याय सुरु गरेको छ । स्वीकार गर्नुपर्छ । उनको अनलाइन क्लासको साथी मेरी श्रीमती हुन् । जेठ पहिलो साता उनी कोभिड–१९ संक्रमित भएपश्चात उनको अनलाइन क्लासको साथी म भएको छु ।

छोरीको मामु संक्रमित भएपछि मामुबाट टाढा रहँदा उनको सिकाइ प्रक्रिया अघि बढाउनु पनि चुनौती थियो । उनलाई मामुबाट टाढा राख्न सजिलो थिएन । एकछिन पनि एक्लै बस्दा जहिले डर लाग्छ भन्न थालेकी थिइन् । एकदुई दिनको कुरो थिएन, दुइ हप्ताको कुरा थियो । काम सजिलो थिएन । तर, सोचे जस्तो गाह्रो पनि भएन । मामुले हामीलाई केही नहोस् भनेर दूरी कायम गर्नु भएको हो भन्ने छोरीको बुझाइले झन् सजिलो बनायो । हुन त छोरीले मन सम्हालेर भनेकी थिइन् । दुई तीनदिन मामुको फोटो उनको साथबाट टाढा थिएन ।

घरमा टेलिभिजन छैन, घरका सबै सदस्यलाई टेलिभिजनप्रति कम रुचि छ । रेडियो भने छ । सामाजिक सञ्जालका माध्यमबाट आउने कोभिड सम्बन्धी सन्देशहरुले छोरीलाई सिकाइ सकेको रहेछ । पिङ खेल्दै गर्दा उनलाइ मैले सोधेँ, छोरी कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ ? छोरीको जवाफ थियो ‘मास्क लगाउने जसरी अहिले हामीले लगाएका छाँै, साबुनपानीले हात धुने, दूरी कायम गर्ने, जसरी मामुले अहिले टाढा बस्नुभएको छ ।’ छोरीको जवाफले यस्तो लाग्यो छोरी ठूली भइछन् । मैले भनेको चीज नल्याइदिए, मामुसँग जान्छु भनेर एक पटक घुर्काएकी थिइन् । तर, कुनै बेला नजिक हुने प्रयत्न गरिनन् । हरेक रात सुत्ने बेलामा मलाई एउटा प्रश्न गर्दर्थिन ‘बाबा मामुलाई कहिले निको हुन्छ ?’

उनलाई खाना खुवाउनु, नुहाउनु, सँगै खेल्नु, सुताउनु, उनीसँग समय बिताउनु मात्र होइन, उनीसँग पढ्नु र उनको क्लासबाट सिक्नु पनि मेरो दैनिकी थियो । सिनियर नर्सरीमा पढ्न त्यति समय नपाएकी उनलाई अनलाइन क्लास जरुरी थियो । केही न केही सिकाइ हुन्छ भन्ने हाम्रो बुझाइ थियो । धेरै अपेक्षा भने थिएन । साथी र शिक्षकसँग संवाद गर्दा पनि धेरै कुरा सिक्न पाउँछिन् भन्ने बुझाइ थियो । मेरी श्रीमती र म दुवैले अनलाइन क्लासमा छोरीले पढोस् नपढोस्, कसरी पढाउने र के पढाउने भन्ने कुरा हामीले सिक्नु पर्छ भन्ने निधो गरेका थियौँ । मेरी श्रीमती संक्रमित भएको अघिल्लो दिनसम्म छोरीको नर्सरी कक्षामा पढ्थिन । संक्रमित भएपश्चात छोरीको नर्सरी अनलाइन क्लासमा म नियमित पढ्न र सिक्न थालेँ । छोरी ल्यापटप अघि २ वा ३ घण्टासम्म राखिरहन नसकिएला । नमान्लिन । तर, हामीले सिक्यौँ भने जति बेला पनि सिकाउन सकिन्छ भन्ने हाम्रो निचोड थियो । त्यसपछि हामी नियमित पढ्न थाल्यौँ । छोरीसंगै नर्सरीमा सिक्न थालेका थियौँ ।

पीजी, नर्सरी, कक्षा १ र २ का साना बाबुनानीलाई पढ मात्र भन्ने होइन । उनीहरु सँगसँगै आफू पनि पढ्नु राम्रो रहेछ । उनीहरुसँग खेल्दा खेल्दै नयाँ शब्द, नयाँ कथा, नयाँ श्लोक सिकाउन सकिन्छ भन्ने छोरीसँगको बसाइमा अनुभूत गरेको छु । छोरी गैँडाकोट इंग्लिस स्कुलमा नर्सरीमा पढ्छिन् । कोभिड महामारीको यो समयमा अनलाइन क्लासबाट सिक्ने प्रयत्न गर्दै आएकी छन् । १५ दिनको समय उनीसँग प्रगाढरुपमा बिताएको छु । यसबीचमा उनको अनलाइन क्लासको प्राविधिक साथी पनि म नै हुँ । उनको कक्षामा पढ्न बस्नुको कारण, पढाउने तरिका सिक्नु थियो, विषयवस्तु के के सिकाउने सिक्नु पनि थियो । सिकाउने काम सजिलो छैन । तर, तरिका जान्यो भने त्यति अप्ठेरो पनि छैन । विषयगत कुरा जानेर मात्र नहुने रहेछ । म स्नातकोत्तर गरेको छु भनेर मात्र हुँदैन । पढाउने लय हुन्छ । सिकाउने तरिका हुन्छ । ‘एबीसीडी’ होस् या ‘ककाकीकी’ लय र तरिका चाहिन्छ । यिनै कुराहरु उनको अनलाइन क्लासमा म सिक्न सकिन्छ की भनेर व्यग्र प्रतिक्षामा हुन्थेँ । उनि मोबाइल अघिको ऐनामा कपाल कोर्दथिन्, कति बेला नाच्दथिन पनि, कति बेला अनेक बहाना बनाउँथिन । यति गर्दा गर्दै पनि हामीले सोचे भन्दा पनि ज्ञानी भएर क्लासमा बसेकी थिइन । उनलाई ल्यापटपमा हेर भनेर कर गरिरहनु जायज लाग्दैनथ्यो । क्लास सकिएपछि मेरो क्लास सुरु हुन्थ्यो । मेरो क्लासको कुनै सिमाना हुँदैन, कुनै समय हुँदैन, जहाँ जतिबेला सम्झन्छु, अनलाइन क्लासमा उनलाई म्यामहरुले सिकाएका कुराहरुको चर्चा गर्न सुरु गरिहाल्छु ।

घरआँगनमा उनीसँग दौड प्रतियोगितामा खेलेँ। दौडिदा एबीसीडी भन्दै दौडिनुपर्ने नियम बनाएका थियाँै । अल्फाबेट भएको क्यालेण्डरमा इरेजरले हान्ने जुन लेटरमा लाग्दछ त्यही लेटरबाट शब्द बनाउन थाल्ने । उनका खेल सामग्रीमा १, २, ३ लेखेर छिरलिदिएर क्रम मिलाउन लगाउने । एक दिन उनको कक्षामा अपोजिट वर्ड (विपरितार्थक शब्द) पढाउनु भयो । त्यसपछि बाटोमा मान्छे देख्ने बित्तिकै उनलाई सोध्ने । बाटोमा हिँडेको मान्छे फ्याट कि थिन भनेर । टल कि सर्ट भनेर । यसरीनै गफिरहने गर्दथ्यौँ । एकदिन त आपत नै प¥यो । घर नजिक हिँडेका मान्छेलाई छोरी सुन्ने गरी बाबा फ्याट मान्छे भनि हालिन । त्यो मान्छेले हामीलाई पुलुक्क हेरे । म अर्को तिर फर्किएँ । हाँसो पनि लाग्यो, असहज पनि लाग्यो ।

आफैँ अनुहारको मुड परिवर्तन गर्ने । हँसिलो अनुहार बनाउने । छोरी भन्दथिन, ह्याप्पी । दुःखी अनुहार बनाउने । छोरी भन्दथिन, स्याड । एकदिन थकित मुद्रामा नजिक आउनुभएकी हजुरामालाई नाातिनीले भनिन्, आमा हेप्पी हुनुन, किन स्याड भएको ।
यति मात्र होइन । उनीसँग बस्दा संस्कृतका श्लोकहरु गुनगुनाउन थालेँ । उनलाई पनि भन्न लगाएँ । साँझ पख शीतलताका लागि बसेको समयमा पनि संस्कृत श्लोक गुनगुनाउन लगाएँ । अहिले कण्ठस्थ ‘त्वमेव माता चपिता त्वमेव र शान्ताकारं भुजगशयनं’ भनेर भन्न थालेकी छन् ।

छोरीलाई कुनै न कुनै कुरामा भुलाउनु पनि आवश्यक छ । घरबाहिर निस्कनै नपाएकी छोरीलाई घरकै वातावरण रमाइलो बनाउनु थियो । उनका साथीहरुबाट बञ्चित थिइन । उनलाई भुलाउन, बढार्न लगाउने, भाँडा माझ्न लगाउने, कोठा मिलाउन लगाउने जे गर्दथिन् । उनलाई स्वतन्त्र छोडी दिएँ । मैले मिलाएको कोठाका समानहरु बिगारेर गल्लीमा तिनै सामानहरु ल्याएर सानो कोठा बनाएर सजाउँथिन् । उनलाई सबै स्वतन्त्र छोडिदिएँ । कुनै कुनै कुरामा भुलुन भन्ने अभिप्राय पनि थियो । यस्ता कुराहरुबाट रचनात्मक बन्न सकिन्छ भन्ने कुरामा म विश्वस्त थिएँ ।

मामु आइसोलेसनमा रहँदा समय व्यवस्थापन मेरो लागि कठिन थियो । यहि कठिनका बीच उनको परीक्षा पनि थियो । अनलाइनबाटै परिक्षा दिइन् । गणितको परीक्षा थियो त्यो दिन । शिक्षिकाले सोध्नुभएको सबै प्रश्नको जवाफ निर्धक्क दिइन् । वाह छोरी बधाइ छ भन्दै थिएँ । मोबाइलमा म्यासेज आयो । प्रिन्सिपल सर, हिरालाल सरको म्यासेज रहेछ । सरले म्यासेजमा भन्नुभएको थियो । आइ एम सो ग्लाड टु सि अनुश्री इज सो कन्फिडेण्ट. बधाइ छ । सरको म्यासेजले पनि थप हौसला दियो । नजिकै बस्नुभएकी मेरी आमा मुस्कुराउनुभयो ।
उनीसँगको सबैभन्दा रमाइलो त लिफ आर्ट र थम्ब आर्ट कक्षामा भयो । उनीलाई सिकाउँदा आफैले पनि सिक्ने अवसर पाएँ । म आफूले पनि रमाइलो मानेँ । मैले इन्जोए गरेँ भने बच्चाले पनि सिक्न खोज्ने रहेछ । भोलि लिफ आर्ट कक्षा छ भने अघिल्लो दिन नै म युट्युब सर्च गर्दथेँ र सिक्थेँ । छोरीलाई सिकाउँथे । छोरीलाई चाहिने शिक्षण समग्रीको जोहो गरिदिन्थे । एउटा पिपलको पात लिन नारायणी किनार पुगेको छु । थम्ब आर्ट उत्तिकै रमाइलो थियो । छोरीको स्किन एलर्जी भएको हुँदा कलर आँैलाले छुन दिइन । युट्युबबाट इयर बर्ड प्रयोग गर्न सकिने गज्जबको आइडियो मिल्यो । छोरीले इयर बर्डको प्रयोग गरेर पेन्टिङ गरिन् । शिक्षण सामग्रीको व्यवस्थापनले छोरीलाई रचनात्मक बन्न सहजता मिलेको थियो । आइसोलेसनमा रहेकी छोरीको मामुलाई झन् बढी लयात्मक तरिकाले पढाउने कला छ । त्यो कला मसँग भने कम छ । आइसोलेसनमा रहँदा माथिबाट पनि छोरी तल पिङ खेल्दै गर्दा ‘अआइई’ गीतबाट उनले सिकाउँथिन् । सिकाइका लागि अर्को महत्त्वपूर्ण कुरा के हो भने सिकाइको निरन्तरता हो । प्रारम्भिक सिकाइको अवस्थामा रहेकाहरुलाई सिकाइको निरन्तरतामा ब्रेक हुन दिन नहुने रहेछ ।
सिकाइका लागि विशेष समय चाँहिदैन, सिकाइका लागि विशेष परिवेश चाँहिदैन । सिकाइका लागि निश्चित समय र विशेष कक्षा चाँहिदैन । सिकाइका लागि विशेष पोशाक चाँहिदैन । सिकाइका लागि सिकाउनु पर्ने व्यक्ति कटिबद्ध भए पुग्ने रहेछ । सिकाइका लागि समर्पित हुन सक्नुपर्ने रहेछ । सिकाइका लागि प्रकृति पनि काफी छ । सिकाइका लागि समय निकालेर पलेँटी कस्न पर्दछ भन्ने होइन । हामी काम गर्दागर्दै, हामी बस्दा बस्दै, हामी खेल्दा खेल्दै, हामी यात्राको क्रममा, हामी घुमफिरको क्रममा अभिभावकले धेरै कुरा सिकाउन सकिन्छ । सिकाइका लागि अभिभावकले चाहेको खण्डमा सहज पनि छ । सिकाउन पनि अभिभावक स्वयंले पनि पहिला सिक्न जरुरी छ । के पहिला सिकाउने, के पछि सिकाउने ? यो महत्वपूर्ण पक्ष रहेछ ।

यस विषयमा पढेको पनि थिएँ । सुनेको पनि थिएँ । गिजुभाइको दिवा स्वप्न पढेको थिएँ । त्यो उपन्यास पढ्दा छोरी जन्मेकी पनि थिइनन् । रेडियोमा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दे गर्दा केही कुरा सिक्न भने पाएको थिएँ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले सञ्चालन गर्ने गरेको शिक्षा संवाद रेडियो कार्यक्रम र भर्चुअल कार्यक्रममा शिक्षाविद् तथा सरोकारवालाका कुराहरुबाट प्रभावित पनि भएको थिएँ । सुनेका कुरा भोगे पछि मात्र प्रमाणित हुने रहेछ । शिक्षाका लागि राष्ट्रिय अभियानले परिस्थिति जस्तो सुकेै होस् तर सिकाइ प्रक्रियाबाट बालबालिकाहरुलाई बञ्चित गर्नुहुँदैन भने सचेतना कार्यक्रम गरिरहेको सम्झनामा आयो । सिकाइ प्रक्रिया विद्यालयको मात्र होइन, अभिभावकको त्यो भन्दा ठूलो जिम्मेवारी र दायित्व हो ।

हामी बच्चालाई पढेन भनेर गाली गर्छौ । हामी बच्चालाई खेलेन भनेर गाली गर्छौ । हामी बच्चालाई सोसल अर्थात् सबैसँग घुलमिल भएन भनेर गाली गर्छौ । के हामी उसँगै उसका क्रियाकलापमा सहभागी भएका छौँ ? उसले सिक्नुपर्ने कुरा हामीले पनि सिकेका छौँ ? आफूले सिके मात्र सहीरुपमा सिकाउन सकिन्छ । तसर्थ मैले छोरीसँगै नर्सरी कक्षामा पढिरहेको छु । समय मिलेसम्म आगामी दिनमा पनि उनीसँगै पढ्ने छु । मैले उनको कक्षा बाहिर सिकेका धेरै कुरा पनि छन् । जुन क्रमैसँगै सिकाउँदै जानेछु । महामारीमा परिस्थिति अनुकुल हुन्छ अनि सिकाउँला भनेर बस्नु गलत रहेछ । छोरीको एक वर्ष हामी अभिभावकले सिकाउन सक्ने कुरा पनि नसिकाएर भूल गरेछौँ । धेरै कुरा सिकाउन र सिक्नबाट हामीले पनि छोरीलाई टाढा बनाएको महसुस गरेका छाँै । अब हामीले सिकेका कुरा महामारीले सिकाउन रोक्ने छैन । अब हामीसँग उनको विद्यालय पनि छ । अब हामीसँग शिक्षाविद् गोपालप्रसाद भण्डारी सरले दिनुभएको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित बालकेन्द्रित क्रियाकलापहरुको सूचि पनि छ । यो सूची तपाइँका लागि आवश्यक भए इमेल गर्नुहोला । गोपालसरले नवराज सरले शेयर गर्नुभएको फोटोमा कमेण्ट गर्नुभएको थियो । मलाई निकै मन परेको थियो त्यो भनाइ ‘केही गरेपछि केही न केही हुन्छ, हुन्छ । अगाडि तिर लागौँ ।’

(लेखक उपाध्याय नवलपुरको गैँडाकोटमा कार्यरत पत्रकार हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका