जोडिनुहोस
  • होमपेज
  • बाँदरमुढे घटना सम्बन्धमा माओवादी पार्टीका ५ त्रुटि

बाँदरमुढे घटना सम्बन्धमा माओवादी पार्टीका ५ त्रुटि

सुदिप निउरे,

चितवन, जेष्ठ २३ –

बाँदरमुँढे घटना घटेको आज १६ बर्ष पुगेको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा यात्रुवाहक बस पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । माडीको कल्याणपुर र वसन्तपुरको बीचमा पर्ने बाँदरमुढे खोलामा घटाईएको घटना हुनाले यस घटनालाई बाँदरमुढे घटना भनिएको हो।

यस घटनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा माओवादी पार्टी निक्कै आलोचित छ। माडीको अयोध्यापुरीबाट भरतपुरतर्फ आइरहेको ना२ख ३२४५ नं. को बसलाई बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना घटेको थियो। वि.सं. २०६२ साल जेठ २३ गते आजकै दिन यो घटना घटाईएको हो ।

यस जघन्य घटना घटाएर पनि बाँदरमुढे घटनाका पिडीतलाई माओबादीले अहिलेसम्म आश्वासनमै अल्झाएको छ । पिडीतले घटना बिर्सन त सक्दैनन तर उनीहरुको मन बुझाउने ठाउँ समेत माओवादीले राख्न सकेन । उस्ले जे जति गर्नु पर्ने थियो त्यो अहिलेसम्म पनि गरेको छैन । पिडीतसामु जाँदा होस वा चुवान जित्न बिभिन्न प्रतिवद्वता गरेको भएपनि त्यो पुरा नगर्दा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड र उनी नेतृत्वको पार्टी एउटा झुठ पात्रका रुपमा चिनिएका छन्।

त्रुटि नम्बर १ – राहत प्याकेज

माओबादीले बाँदरमुढे घटनालाई बाहिर देख्नेहरुका लागि गल्ति स्वीकार गरे जस्तो देखाउने गरेपनि ब्यबहारिक रुपमा यस घटना र पिडीतलाई भने पूर्णरुपमा ब्यवास्ता गर्दै आईरहेको छ । घटना घटेको करिब एक वर्ष पछि २०६३ साल जेष्ठ ६ गते पहिलो पटक पीडितहरुले माडीको देबेन्द्रपुर बजारमा उस्का केहि कार्यकर्ता मार्फत लिखीत रुपमा ९ बुदे माग प्रचण्ड कहाँ पठाएका थिए ।

मृतक परिवारलाई राहत । मृतक तथा घाईतेका बालबालिकाको पठनपाठनको ब्यबस्था । घाईतेहरुलाई राहत तथा उपचारको खर्च । मृतकको परिवार तथा घाईतेहरुलाई दिर्घकालीक आयआर्जनको स्रोत ब्यबस्थापन एवं दोषीलाई कानुन बमोजिम कारबाही लगायत बुँदाहरु मागमा समावेश थिए । यी मागबारे प्रचण्ड सकारात्मक भएको खबर लिएर नेता देबेन्द्र पौडेल सुनिल तत्कालै माडीको देबेन्द्रपुर बजारमै पुगेर पिडीतलाई खबर गरेका थिए। त्यसपछि २०६३ सालको मंग्सिरमा चितवनको फुलबारीमा माओबादीका उच्च तहका सबै जसो नेताहरुसंग पिडीतहरुको भेटघाट भयो ।

त्यस भेटघाटक्रममा राहत प्योकेजको रुपमा दिन्छौ भनेर स्वयम अध्यक्ष प्रचण्डले सम्पूर्ण पीडित सामु बोलेका थिए । अध्यक्ष प्रचण्डले पिडीतसंग गरेको कबुल आजपनि उनीहरुसंग ताजै छ । त्यो राहतको प्याकेज अहिले सम्म पनि आईपुगेको छैन । त्यो कस्तो खालको प्याकेज थियो भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

त्रुटि नम्बर २ – पिडीतबिच फाटो ल्याउने काम ।।

बाँदरमुढे घटना घटाएपछि माओवादी पार्टी माडीको राजनितिलाई पुन पुरानै अवस्थामा फर्काउन आफ्नै पार्टी मातहतका पिडीतको खोजीमा जुट्यो । माओवादीकै नेतृत्वमा संकलन गरिएको राहत रकम केहि सिमीत उनीहरुलाई मात्र बितरण गरियो । केहिलाई आर्थिक सहयोग त केहिलाई जागिर पनि लगाई दिने काम भयो ।

घटनाको बिरोध नगर्न तथा संघर्ष समितिको पछि नलाग्न सहमत गराउँने अभियान चल्यो। यस अभियानमा अन्य पिडीतलाई समावेश गरिएन । अन्य पिडीतहरु तत्कालीन जनमोर्चा,एमाले,काँग्रेश तथा राप्रपाको पछि लागेर समस्याको समाधानको बाटोेमा भन्दा माओवादी समाप्त पार्ने योजनामा लागेको आरोप लगाईयो ।

प्रचण्डस्वयंले उच्चस्तरको छानविन नगरी बिबिसी नेपाली सेवा लगायत बिभिन्न मिडियाको अन्र्तवार्तामा यस बिषयमा बोलेका छन। अन्य उच्च तहका नेताले पनि त्यहि भाषा र शैलीका कुरा बोलेका छन । पार्टीलाई बदनाम गर्न केही मान्छेले बाँदरमुढे घटनाबारे नियतबस गलत प्रचार गरिरहेको उनीहरुले आरोप लगाई रहे ।

यहि बिचमा घटनास्थलमा स्मारक निर्माण गर्ने कुरा उठ्यो यसबारे माओबादी पक्षबाट पनि आर्थीक सहयोग गर्ने चर्चा त चल्यो तर स्मारकमा उल्लेख गर्ने भनिएको शब्दावलिमा माओबादीपक्ष असहमत भो । सहयोग हुने थियो या थिएन तर शब्दावलिबाटै माओबादी पछि हट्यो । यस सन्दर्भमा बाँदरमुढे घटनाका पिडीतहरु माओबादी पार्टी सिध्याउने खेलमा लागेको आरोप उनीहरुले लगाई रहे।

अन्य दलहरुले उनीहरुलाई पुर्ण समर्थन गरेका छन भन्ने कुरा उच्च नेतृत्वसमक्ष स्थानियस्तरबाट रिपोर्टि∙ गरियो । बाँदरमुढे घटना घटाउन संलग्न स्थानिय ब्यक्तिहरुले नै गरेको रिपोर्टि∙लाई सत्य मान्दा उच्च नेतृत्वमा घटना र पिडीत प्रति माओवादी नेतृत्वको नकरात्मक धारणा बिकास भईरह्यो ।

खासगरी, बांदरमुढे घटना पीडित संघर्ष समितीका उपाध्यक्ष लेखनाथ अधिकारीलाई लक्षित गरि सम्पुर्ण राहत रकम अधिकारीकै कारण रोकिएको हो भन्ने भ्रम अहिलेसम्म पनि माओवादीले प्रचार गरि रहेको छ । यति ठूलो दलको बिशाल योजनामा एकजनाले गर्दा सबै योजना अल्झियो भन्न माओवादी पार्टी कत्ति पनि हिच्किचाएन । यो भन्दा लाजमर्दाे कुरा संसारमा सम्भवत अरु केहि पनि नहोला ।

त्रुटि नम्बर ३ – साठी लाखको राहत।।

माओवादी अध्यक्ष प्रचण्डले माडी महोत्सवको उद्घाटनका क्रममा २०६९ साल फागुन १७ गते बाँदरमुढे घटनाका पीडितलाई ६० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेर आँफु आएको बताएका थिए। उनले घटनाका पीडित परिवारलाई सो रकम के–के काममा खर्च गर्ने तपाईहरुको इच्छा छ सोही अनुसार खर्च गर्नु भनेर सो क्रममा बोल्न समेत भ्याएका थिए । प्रचण्डको घोषणा सुनेपछि पिडीतहरुमा थोरै आषा भने जागेको थियो ।

प्रचण्डले आफ्नै खल्तीबाट दिने बिडींको ठुटो जस्तै गरि बोले पनि त्यो ६० लाख राहतको घोषणा भने आउन सकेन। त्यतिबेलाको घोषणा प्रचण्डको माडी छिर्ने बहाना मात्रै थियो भन्नेमा कुनै दुई मत रहेन। त्यतिखेर नेपाल सरकारले औपचारिक रुपमा बाँदरमुढे घटनाका पिडीतलाई राहत दिने भनेर कुनै पनि निर्णय गरेको भेटिएन ।

२०६९ सालमा दिने भनिएको ६० लाख रकम २०७६ सालमा आएर केहिलाई मात्र दिईएको छ । माडी नगरपालीका आफ्नै पार्टीको पोल्टामा आएपछि २५ लाख बजेट पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनि २५ जना पिडीतलाई जनही एकलाखका दरले बाँडियो । निकासा भएको ६० लाख रुपैयाँ मध्य २५ लाख मात्र बाँडीए पनि अन्य ४० जनालाई दिने भनिएको जनही एकलाख रुपैयाँ अहिलेसम्म पनि बाँडिएको छैन।

त्रुटि नम्बर ४ – घटना र पिडीत प्रति मौन ।।

माओवादी पार्टी राष्ट्रिय राजनितीमा आएपछि राज्यसत्ता सञ्चालनको वरिपरिनै छ। प्रचण्ड स्वयम प्रधानमन्त्रि बनीसकेका छन् । पार्टी एउटै हुँदा बाबुराम भट्टराईपनि प्रधानमन्त्रि बने थिए।

माओबादीबाट मन्त्रि बन्न छुटेका सायद कोही छैन । यतिधेरै अबसरका बिचमा पनि यस घटनाको सम्बन्धमा कुनैपनि विकल्प नसोच्नु त्यो भन्दा गम्भिर त्रुटि र भुल अर्काे हुनै सक्दैन । राज्यबाट पिडीत भएका आफ्ना कार्यकर्ताबारे धेरैथोरै बिकल्प सोच्ने माओवादी पार्टीले बाँदरमुढे घटनाबारे केहि पनि सोच्न सकेन।

हुन त आफै कलंकित बन्ने कुरा बल्झाउनु माओबादीका लागि अप्ठ्यारो बिषय थियो तर यसबारे केहिपनि नसोच्नु झनै गलत हो । स्थानिय सरकार आफ्नै,प्रदेश सरकार आफ्नै र केन्द्र सरकार पनि आफ्नै बाहुबलमा हुदा समेत नगरेका काम अब हुन्छ वा होला भनेर कसरी विश्वास गर्ने।

त्रुटि नम्बर ५ – ३ बुँदे सम्झौता।।

चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उम्मेदवार रहँदा प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीन बुँदे सहमति गरेका थिए । सहमति पत्रमा पीडितको तर्फबाट म लगायत केहि पिडीतहरु र प्रचण्डले हस्ताक्षर गरेका थियौ । सहमति पत्रमा मृतकका आश्रित परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख थियो ।

त्यस्तै घाइतेको अवस्था हेरी औषधी उपचार, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति दिने सहमति भएको थियो । घटनास्थलको १० विगाहा क्षेत्रमा स्मारक र नमुना संग्रहालय बनाउने एवं चिडिया घर निर्माण गरी माडीलाई नै महत्वपूर्ण पर्यटकीय स्थल बनाउने सम्झौता गरिएको थियो।

यस सम्झौता केहि बिबादित पनि बन्यो । यसमा लामो समय संघर्ष गर्दै आईरहेको समितिका कोहि पनि सहभागी थिएनन । केहि पिडीतकै कारण हामी पिडीतसम्म पुग्न सकेनौ भन्ने माओवादीको बहानालाई अन्त्य गर्न मैले सहमतिपत्रमा हस्ताक्षर गरेको यथार्थ सत्य हो ।

सहमति गरेलगत्तै माओबादीले बाँदरमुढे घटना पिडीत संघर्ष समिति बाहेकका सदस्य राखी चलाखी पुर्वक छुट्टै समिति बनायो । जुन समितिले बाँदरमुढे पिडीतको अबस्था पनि अध्ययन गर्यो । जुन समितिको नेतृत्व नगरप्रमुख ठाकुर प्रसाद ढकालले गरेका थिए । माओवादी पिडीतको अवस्था अध्ययन गर्न माओवादीकै नेतृत्वको समिति हुनु एक लज्जास्पद काम समेत भयो।

सम्झौता कार्यान्वयन गर्न बनेको समितिले बाँदरमुढे घटनास्थलमा दश करोडको लागतमा उद्यान सहित मन्दिर तथा संग्राहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको एवं आर्थिक बर्ष २०७६–७७ देखि सो उद्यानको निर्माण कार्य शुरु गर्ने बताएपनि अहिलेसम्म त्यहाँ केहि पनि काम भएको छैन ।

यसरीनै झुठमाथी झुठ बोलेर बिगतमा गरेका बाचा र कबुललाई लत्याई रहे त्यसको क्षति माओबादीलेनै बेहोर्नु पर्नेछ । नत पिडीतको लागि केहि ब्यबस्था गर्ने नत निर्माण गरिएको स्मारकको सरक्षणमा पहल गर्ने । पिडीतसंग दुरी बढाएर समस्याको हल पक्कै हुने छैन । अब यस घटनालाई यत्तिकै दवाउने हो, दवाउन सकिन्छ भन्ने सोच माओवादीपक्षमा पलाई रहेको छ। अब त त्यो दिन सबैले बिर्सिए भनि माओवादीले सोच्यो भने यो उसैका लागि घातक हुनेछ । त्यहि सोचनै उस्को ठूलो भुल हुनेछ । गल्तीको क्षमा जवरजस्तीको दमनबाट हुने छैन। यसबारे पनि ध्यानपुर्वक सोचियोस ।

अन्तमाः बाँदरमुढे घटनाका मृतकप्रति हार्दिक श्रद्वाञ्जली । घाईतेहरुको स्वास्थ्य लाभको कामना एवं मृतकका परिवारजनप्रति हार्दिक समबेदना ।

लेखकः बाँदरमुढे घटनाका पीडित हुन् । घटनामा उनले २४ वर्षीया दिदि डिलकुमारी निउरे र डेढ वर्षीय भान्जा निश्चल सापकोटालाई गुमाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका