जोडिनुहोस
  • होमपेज
  • सर्पका साथी यमलाल भण्डारी !

सर्पका साथी यमलाल भण्डारी !

विप्लव काफ्ले

चितवन, जेठ ३–

भरतपुर–४ लंकुका यमलाल भण्डारी सर्पका असल साथीका रुपमा चिनिएका छन् । ५ वर्षयता सर्पलाई मान्छेबाट र मान्छेलाई सर्पबाट जोगाउने काममा सक्रिय छन् । ५ वर्षको अवधिमा उनले करिव ९ सय सर्प उद्वार गरेका छन् । घर, गोठ, करेशाबारी, खेतबाट उनले विषालु तथा अविषालु सर्पलाई समातेर सुरक्षित ठाउँमा लगेर छाडेका छन् ।

यमलाललाई कोभिडका महामारीका बेला समेत फुर्सद छैन् । चितवनमा वैशाख १६ देखि लकडाउन गरिएको छ । गर्मीयाम भएकाले यो सिजनमा सर्प बढी सक्रिय बन्छन् । “सर्प उद्वार गरिदिनुपर्‍यो भनेर फोन आउँछ”, उनी भन्छन्, “सम्भव भएसम्म भिडियो र फोटो मगाउँछु, विषालु भएको यकिन गरेपछि तुरुन्तै गएर उद्वार गर्छु ।” वैशाखयता उनले १२ वटा अविषालु सर्प लंकु, प्रेमवस्ती, भरतपुर, गैडाकोट लगायतका ठाउँबाट सर्प उद्धार गरेका छन् । यस्तै ५ वटा विषालु सर्प समातेर जंगल र बस्तीदेखि टाँढा लगेर छाडेका छन् । कोभिडका कारणले उनले सर्पबाट जोगिने र बचाउनेबारे सामाजिक सन्जालबाटै परामर्श र सन्देश दिदै आएका छन् । टिकटकमा सर्प उद्धार गरेका भिडियो र सन्देश राख्दै आएका छन् । “सर्पले मान्छे खोज्दै टोक्न आउने होइन, त्रसाउँदा–जिस्क्याउँदा टोक्न आउने हो”, भण्डारीले भने, “सर्पहरु वातावरण सन्तुलनमा राख्न आवश्यक छन्, जोगाउनुपर्छ, हामी पनि जोगिनुपर्छ ।” गत लकडाउनमा उनले ९० वटा सर्पहरु उद्धार गरेका थिए ।

उनले पहिलो पटक सर्प उद्धार गर्दाको कहालीलाग्दो दिन भुलेका छैनन् । ५ वर्ष पहिले लंकुमै अजिंगर उद्धार गर्न वनका कर्मचारी र प्रहरी आउँदा उनी संयोगले पुगेका थिए । “अजिंगर परालभित्र लुकेछ, पराल हटाउन लाग्दा सर्पको टाउकोमै पो समातेछु”, उनी सम्झन्छन्, “थाहा पाउँदा म निकै डराएको थिएँ, तर सबैको स्याबासीले हिम्मत बढेको थियो ।” २८ केजीको अजिंगर समातेपछि सर्प समात्ने व्यक्ति भनेर चिनिदा खुशी बनेका भण्डारी त्यसपछि सर्प समात्ने विधि, सर्पका प्रकार र गतिविधिबारे स्वअध्ययन गर्न लागे ।

अर्को वर्ष फेरी २२ केजीको अजिंगर समातेपछि भण्डारी सर्प बचाउने अभियानमा होमिए । सर्प समात्न उनले ६५ हजार लगानी गरेर केही समाग्री जुटाएका छन् । स्नेक स्टीक, ग्लोब्स, हुक, सर्प राख्ने बाकस, एक दर्जन बाल्टी, डब्बा लगायतका सामाग्री छन् । “सर्प समात्न सकिन्छ भनेर हौसिनुहुदैन”, उनी भन्छन्, “विधि र ज्ञान विना सर्प समात्दा ज्यान जान सक्छ, खेलाँची नगरौँ ।” सर्प उद्धारमा जाँदा सर्पको भावलाई बुझेर स्नेक स्टीकबाट घुलमिलहुदै समातेर बाल्टी वा बासमा राख्ने गर्छन् । अजिंगर, किंग कोब्रा उद्वार गर्दा वन, निकुञ्जको रोहबरमा गर्ने गर्छन् । गोमन, करेट लगायतका सर्पहरु अति विषालु भएकाले यस्ता सर्पहरुबाट सर्तक बन्नुपर्ने बताउँछन् । “सबै सर्प विषालु हुदैनन्, तर सबै सर्पबाट बच्नुपर्छ”, उनी भन्छन्, “घर वरिपरी सरफाई गरेमा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।”

यमलालको सपना

यमलाल रेज हेण्ड्स नेपालका अध्यक्ष हुन् । संस्थालाई देशव्यापी बनाएर सर्प संरक्षणकर्मीको संख्या बढाउने सपना बोकेका छन् । “हरेक जिल्ला, वडामा संरक्षणकर्मी बनाउन सके सम्भावित दुर्घटना रोक्न सकिन्छ”, उनी भन्छन्, “सर्पबाट बच्ने र उसलाई पनि बचाउनेबारे देशभर अभियान चलाउनुपर्छ, कोरोना महामारीपछि यो सपना पुरा गर्न लाग्छौँ ।” विगतमा केही स्कुलमै पुगेर सर्पदंशबारेका कक्षा लिएका यमलाल कोभिड नियन्त्रणमा आएलगत्तै पुनः सचेतना कक्षा चलाउने सोचमा छन् । उनले विज्ञान संकायमा १२ पढेकी छोरी खुश्वुलाई समेत सर्प संरक्षण अभियानमा सामेल गराउन थालेका छन् ।

“म नहुदा पनि सर्प जोगाउने काम नरोकियोस् भनेर छोरीलाई सीप सिकाएको छु”, उनी भन्छन्, “पढेलेखेको व्यक्ति संरक्षणमा लाग्दा बुझ्न र बुझाउन पनि सजिलो हुन्छ ।” उनले सर्पविज्ञहरु डा. देव पाण्डे, रोहित गिरी, सुनिल सापकोटासँग परामर्श लिएर सर्प उद्धार गर्ने गर्छन् । सर्पबारे सर्वसाधरणमा प्रयाप्त जानकारी गराउन सके अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सकिने उनको बुझाई छ । हरेक स्थानीय तहका अस्पतालमा एण्टी स्नेक भेनम सहितको सर्पदंशको सहज उपचार व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई छ । “विषालु सर्प धेरै देखिने ठाउँहरुमा सर्पदंश केन्द्रहरु बनाउनुपर्छ, नजिकै उपचार पाउने वातावरण बनाउनुपर्छ”, यमलाल भन्छन्, “सर्पलाई दुस्मन होइन, मित्र हो भनेर चिनाउन सोही खालका सचेतनाहरु हुन जरुरी छ ।” सर्प संरक्षणमा दिनरात खटिएपनि उनीसँग कुनै पहिचान परिचयपत्र छैन । “सर्प संरक्षणमा लागेकालाई परिचयपत्र दिन सके आत्मबल बढ्थ्यो, काम गर्न सजिलो हुन्थ्यो”, उनी भन्छन्, “हामीलाई हौसला र ज्ञानको खाँचो छ ।” सुनिल सापकोटा र उनका बुबा, देवेन्द्र गैरे, रमेश गैरे, घनश्याम न्यौपान लगायतका सर्प संरक्षणकर्मी छन् । सामाजिक काममा उनको लगाव धेरै छ ।

यमलालको संघर्ष

गुल्मी धुरकोटमा जन्मेका यमलाल निकै मिहेनी युवा हुन् । काम सानो ठुलो हुदैन भन्ने सोचका धनी छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका बेला ११ वर्षको उमेरमै कक्षा ८ पढ्दै नपढी उनी भारत पुगेर कमाउन थालेका थिए । रंगाउनु पहिले गाडी घोट्ने, कपडा धुने, खाना पकाउने जस्ता थुप्रै काम गरे । मिहेनत गरेर गाडी सिके । ५ वर्ष निकै दुख पाएका उनी पछि गाडी चालक बने ।

सीप सिकेर नेपाल आएपछि भरतपुरको लाइभकेयर नेपालमा काम गर्न थाले । हाल उनी सफल व्यवसायी बनेका छन् । लंकुको चितवन फुडमार्ट, भरतपुरको रोज गार्डेन, कावासोतीको स्वस्तीक पाटी प्यालेसमा लगानी गरेका छन् । चितवन फुडमार्टमा व्यवस्थापन, बजारीकरण र कुक लगायतका काम आँफै गर्छन् । गायन, वाद्यवाधनमा समेत उनी अब्बल छन् ।

सर्पबाट जोगिने ७ उपाय
–घरवरीपरीको झाडी, बुट्यान सफा गर्ने, गोडमेल गर्ने
–पानी निस्कने, जाली, भित्ताका प्वालहरु गर्मी सिजनमा बन्द गर्ने
–बगैँचा, गमलामा ससाना काँडे फुलहरु हुर्काउने
–आँगनमा हल्का फिनेल छर्ने
–सर्पलाई जिस्काउने काम नगर्ने
–सुत्दा झुल लगाउने
–राती हिडडुल गर्दा टर्च बाल्ने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका