जोडिनुहोस

महिलाहरू यसरी सोच्दछन्

महिलाहरू सोच्दछन्

बजार जानुअघि
विद्यालय या कलेज जानुअघि
कार्यलय या कारखाना जानुअघि
घाँस, दाउरा या गोठालो जानुअघि
सार्वजनिक बस चढ्नुअघि
कुनै जुलुसमा जानुअघि
कुनै सभा सेमिनार या बैँठकमा जानुअघि
एकान्तमा यात्रा गर्नुअघि
या एक्लै पुरुषसँग भेट्नुअघि

महिलाहरू सोच्छन् ।
यो एक थान योनी
र यी दुई थान स्तन
कतै लुकाएर राख्न मिल्ने भए
आहा१हामी कति फुक्काफाल हुन्थ्यौं होला ।
उनीहरू साँच्चै यसरी पनि सोच्छन्

यसरी सोचिरहँदा
उनीहरू यसरी सोच्दैनन्(
उनीहरूले जस्तै गरी
उनीहरूका आमाहरूले
उनीहरूका हजुर आमाहरूले
या उनीहरूका जिजू आमाहरूले
उनीहरूले पनि यसै गरी सोचेका भए
या सोचे जस्तो गरेका भए
आज उनीहरू नै रहने थिएनन् ।
बरु यसरी सोच्छन् (
उनीहरू नरहेर के फरक पर्थ्यो ?
पृथ्वी रहन्थ्यो
प्रकृति ,पर्यावरण र प्राणीहरू रहन्थे
पृथ्वी अहिलेभन्दा सुन्दर
अहिलेभन्दा स्वच्छ
र अहिलेभन्दा हराभरा रहन्थ्यो
शिकारी र शिकारमा बाँडिएको
नाथे मान्छेको जात नरहेर के फरक पर्थ्यो र?

यो सोचाइ सही हो कि होइन
यो सोचाइ सिर्जनात्मक हो कि होइन
उनीहरू खासै ख्याल गर्दैनन्
लखेटिँदा लखेटिँदा लिङ्गबाट
सोचाइको पल्लो सीमान्त डिलमा पुग्दा

कैयन महिलाहरू यसरी सोच्छन् ।
उनीहरू
एक्लै विद्यालय छिर्दा
आफ्नै गुरुसँग डराउँछन
एक्लै कार्यालय छिर्दा
आफ्नै हाकिमसँग डराउँछन
एक्लै मन्दिर पुग्दा
मन्दिरको पुजारीसँग डराउँछन्
आफ्नै पार्टीको कार्यालय जाँदा
ती आफ्नै नेता कमरेडसँग पनि डराउँछन्
ठेकेदारसँग
चौकिदारसँग
थानेदारसँग
साहुजीसँग
सबै सबैसँग
ती लिङ्ग धारण गरेको प्रजातिको
आक्रामक फोटोसँग पनि डराउँछन ।
जुन दिनदेखि
योनीबाट बहने
प्रथम बाह्य रगत
लिङ्गको शिरमा चढाएर
योनीको भोग दिनु पर्ने हुन थाल्यो
त्यो दिनदेखि उनीहरू डराउँछन ।

जुन दिनदेखि
घर नामको पिञ्जडामा
थुनिएर बस्नु पर्‍यो एक्लै
र स्वागत गर्नु पर्‍यो शिकारी लिङ्गको
त्यही आदिकालदेखि डराउँछन् ।
जुन दिनदेखि
विवाहको नाममा
बन्नु पर्यो यौन(दासी आजन्म
त्यही पुरानो दिनदेखि डराउँछन
यो डर सर्दै सर्दै पुस्तौं पुस्ता
आज पनि दिमागमा गजधम्म छ
त्यसैले उनीहरू डराउँछन् ।

जुन दिनदेखि

उनीहरूले खप्नु पर्ने भयो
ऐया । आत्था । या आहा । केही नभनी
सहनु पर्ने भयो पुरुषको
एकोहोरो एकलभोग
जुनदिन समभोगले मृत्यु वरण गर्‍यो
उनीहरू त्यही दिनबाट डराउँछन् ।
जुन दिन
घरमै थन्क्याएर हृदय
हृदयको सट्टामा
बोकेर लिङ्गको बन्दुक
घरको शिकारले अघाएर
शिकारको खोजीमा निस्क्यो पुरुष
आफूलाई नामुद शिकारी सम्झना
लिङ्गलाई बन्दुक
महिलाहरूलाई शिकार
र योनीलाई शिकारको आँखा सम्झ्यो
त्यो दिनदेखि प्रेम छटपटाउँदै मर्‍यो
सम्भोगले आत्महत्या गर्‍यो
र बाँकी रह्यो केवल लुटपाट ।

हो त्यही दिनदेखि
ती शिकारीकाजस्ता आँखा भएका
हरेक पुरुषसँग महिला डराउँछन् ।
रुँदै भाग्दै
भाग्दै रुँदै
लुक्दै देखिदै
देखिदै लुक्दै
लखेटिदै ,दपेटिदै
निचोरिदै, चिथोरिदै
यस्तो परिवन्दमा पनि
सम्हालेर आफैंलाई
फेरि महिलाहरू सोच्छन ।

सायद,
जहरबाटै ओखती निकाल्न सकिन्छ
कहरबाटै आनन्द खोज्न सकिन्छ
रातको जब्बर प्रहरभित्रैबाट
जन्मन्छ एउटा कलिलो उषाकाल
सायद,
हामीले भोगिरहेको कहर
इतिहासको रात्रीकाल हो
कहरको उत्कर्षसँगै
ढल्दै जाने छ रात्री काल
जन्मने छ प्रेमको सुन्दर बिहान
र त्यो दिनबाट
उनीहरू डराउने छैनन् पुरुषसँग
डराउँने छैनन् लिङ्गसँग
बरु चुम्बकको विपरीत ध्रुवले
आलिङ्गन गरेजस्तै अर्को ध्रुवलाई
ती एक प्राण भएर जोडिने छन् ।

ती अझै सोच्छन् ।
तर त्यो बिहान आउन
त्यो प्रेमको बिहान आउन
योनीको भोग दिएर मात्रै पुग्दैन
दिनु पर्ने छ सिङ्गै शरीरको रगत
लड्नु पर्ने छ एउटा सुन्दर युध्द
त्यसपछि मात्रै त्यो बिहान आउँने छ ।
जब जब यसरी सोच्न थाल्छन् महिलाहरू
ती रुँदा रुँदै हाँस्न थाल्छन्
यसरी हाँसिरहेका महिलाहरू
आहा कति सुन्दर र मायालु देखिन्छन् ।

– बलराम तिमिल्सिना

 

तस्बिर:सामाजिक संजालबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका