जोडिनुहोस
  • होमपेज
  • जुम्लामा जुस उद्योग स्थापना

समाचार

जुम्लामा जुस उद्योग स्थापना

  • रासस
  • शुक्रबार, बैशाख १७, २०७८
जुम्लामा जुस उद्योग स्थापना

खलङ्गा,वैशाख १७ –

जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने अध्यक्ष भण्डारीले बताउनुभयो । करिब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने गाउँपालिकाले जनाएको छ ।
उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहबाट सहजीकरण हुने र गाउँमै सडक पुगिसकेको तथा नेपालका विभिन्न बजारमा माग अनुसार बिक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताउनुभयो ।

बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञको भनाइ छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाख लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो ।
कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा
जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो ।

शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले समितिको बैठकको निर्णय अनुसार विद्यार्थीलाई घर पठाइसकिएको तर घर गएपनि अधिकांश समय अध्ययनमा खर्च होस भनेनर भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो भन्नुभयो । घरबिदामा गएका ४० प्रतिशत विद्यार्थी भएको ठाउँमा फोनको सुविधा नभएको तथा दश प्रतिशत विद्यार्थीसँग मोबाइल नै नभएको भन्दै थापाले जसरी भएपनि अनलाइन कक्षा चलाउनुपर्ने अवस्था आएको छ भन्नुभयो ।
कर्णालीका १० सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना सङ्क्रमण नियन्त्रण नभए सम्मका लागि वैशाख १५ गतेदेखि सबै विद्यार्थीलाई घर पठाइएको शिक्षालयले जनाएको छ । शिक्षालयमा कृषि बाली विज्ञान, फार्मेसी, वन विज्ञान, सिभिल इञ्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सबै ओभरसियर कार्यक्रम सञ्चालित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका