जोडिनुहोस
  • होमपेज
  • कोरोना नियन्त्रणमा चितवनका स्थानीय तहको तयारी कमजोर, आइसोलेसनभन्दा जनचेतना प्राथमिकतामा

कोरोना नियन्त्रणमा चितवनका स्थानीय तहको तयारी कमजोर, आइसोलेसनभन्दा जनचेतना प्राथमिकतामा

मधुसूदन दवाडी

चितवन, वैशाख १५

चितवनमा कोरोना संक्रमण तीव्ररुपमा विस्तार भएसँगै स्थानीय तहले गरेका कोरोना नियन्त्रण र रोकथामको उपाय गत वर्षको भन्दा कमजोर पाइएको छ ।

भरतपुर महानगरपालिकाले गत वर्ष कोरोनाको संक्रमण चितवनमा सुरु नहुँदै वाडवाडमा राहत वितरण र आइसोलेसन बनाउने कामलाई प्राथमिकता दिएको थियो । भरतपुरको वागेश्वरीमा रहेको आयुर्वेद अस्पताललाई कोरोना उपचार केन्द्रको रुपमा सञ्चालनमा ल्याउँदा निकै प्रभावकारी भएको थियो । त्यसैगरी पूर्वी चितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले पनि गत वर्ष लकडाउन सुरु भएसँगै राहत सामग्री वितरण र आइसोलेसन केन्द्रहरु बनाउने काम प्राथमिकतामा दिए । यसपटक कोरोनाको दोस्रो लहर निकै तीव्ररुपमा चितवनमा फैलिरहेको अवस्थामा स्थानीय तहहरु बल्ल बैठक बसेर अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्दै छन् ।

चितवन प्रशासनले संक्रमण दर बढेर निषेधाज्ञाको घोषणा गरिसक्यो तर स्थानीय तहमा भने आइसोलेसनको व्यवस्था अझै प्रभावकारी ढंगले भइसकेको छैन । सबै स्थानीय तहले सामुदायिक आइसोलेसन केन्द्र भन्दा घरमा नै आइसोलेसनमा बस्न संक्रमितलाई अनुरोध गर्ने सोचमा छन् । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी वडावडामा आइसोलेसन बनाउन महानगरपालिकाले निर्देशन दिएको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘भरतपुरको वागेश्वरीमा आइसोलेसन बनाउने बारेमा पनि सल्लाह भइरहेको छ । स्वास्थ्य मापदण्ड कायम गर्न जनचेतना दिने काम पनि सँगसँगै गरिरहेका छौं ।’

चितवनमा भरतपुर महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमण भएको स्थानीय तह रत्ननगर नगरपालिका हो । आज वैशाख १५ को स्वास्थ्य कार्यालय चितवनको तथ्यांक हेर्ने हो भने पनि भरतपुरमा थप १०३ जनालाई संक्रमण देखिएको छ भने रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा रत्ननगरमा कोरोना संक्रमण दर दोब्बर बढी हो । रत्ननगर नगरपालिकाले अहिले सार्वजनिक आइसोलेसन भन्दा पनि घरमा नै आइसोलेसनमा बस्नका लागि नागरिकहरुलाई अभिप्रेरित गर्ने सोच बनाएको छ । अहिलेको लकडाउनमा गत वर्ष जस्तो राहत वितरण गर्ने केही सोच छैन भने नगरपालिकाले क्वारेन्टिनहरु बनाउने सोच बल्ल बनाउँदै छ । रत्ननगरका नगर प्रमुख नारायण वनले नारायणी अनलाइनलाई भने, ‘क्वारेन्टाइनहरु बनाउने बारे सरसल्लाह गरिरहेका छौ ।’ गत वर्ष पूर्वी चितवनका नगरपालिकाहरुले संयुक्तरुपमा बनाएको कृषि तालिम केन्द्रको आइसोलेसन केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । वीरेन्द्रनगरमा आइसोलेसन बनाउनेबारे छलफल हुँदै छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका र राप्तीमा पनि कोरोनाको संक्रमण दर बढ्दो छ । मंगलबार खैरहनीमा थप २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आज बुधबार खैरहनीमा त्यो संख्या बढेर ६ जना पुगेको छ । राप्ती नगरपालिकामा पनि मंगलबार थप १ जनामा संक्रमण देखिएकोमा आज बुधबार २ जनामा संक्रमण देखिएको छ । यसरी हरेक दिन यी नगरपालिकाहरुको संक्रमण दर बढ्दै छ । दुवै नगरपालिकामा बल्ल आइसोलेसन निर्माणको बारेमा छलफल हुँदै छ । राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले राप्तीमा गत वर्ष कोरोना नियन्त्रणका लागि गठन भएको समिति र उपसमितिहरुलाई यस वर्ष पनि सक्रिय बनाइएको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन् , ‘भण्डारा अस्पतालमा रहेको पाँच बेडको क्षमतालाई विस्तार गरेर २० बेड क्षमताको बनाउने तयारी छ । नगरपालिकाभित्र रहेको एक वटा एम्बुलेन्स र रेडक्रसको तीन वटा एम्बुलेन्सलाई परिचालन गर्ने तयारी गरिएको उनले बताइन् । सकभर संक्रमितलाई घरमा नै आइसोलेसनमा बस्न लगाउने, सारै नै गाहे भए भरतपुरमा उपचारको लागि पठाउने तयारी गरिएको उनले जानकारी दिइन् ।

त्यसैगरी खैरहनी नगरपालिकाले पनि लकडाउनमा गत वर्षमा जस्तो राहतका समग्री वितरण गर्ने कुनै सोच बनाएको छैन । नगरपालिकाले यसपटक जनचेतनालाई निकै नै बढी प्राथमिकता दिएको छ । खैरहनीका नगर प्रमुख लालमणि चौधरीले नगरपालिकाको चोकचोकमा स्वास्थ्य मापदण्ड कायम गर्ने बारेका सचेतनामूलक बोर्डहरु राखेर जनचेतना दिने काम गरिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ खैरहनीको चैनपुरमा रहेको स्वास्थ्य केन्द्रलाई २० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउने तयारी रहेको छ । त्यस्तै वडा नम्बर ९को सिमलटाँडीमा ८ बेडको आइसोलेसन बनाउने तयारी छ ।’ उनले कोरोना संक्रमण देखिएकाहरुको निगरानी गरिएको छ भने स्थानीय तहमा नै स्वाब संकलन गर्ने बारेमा पनि छलफल भइरहेको उनले बताए ।

पूर्वी चितवनको कालिका नगरपालिकामा पनि कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । आज बुधबार थप एक जनालाई संक्रमण देखिएको छ । नगरपालिकाले कालिका अस्पताललाई ३५ बेड क्षमताको आइसोलेसन केन्द्र बनाउने सोच बनाएको छ । नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालको तल्लो तहमा ओपीडी र माथिल्लो तलामा आइसोलेसन सञ्चालनमा ल्याउने तयारी रहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ गत वर्ष आइसोलेसन बनाएको कृषि विकास बैँकको भवनमा यसपटक आइसोलेसन बनाउन नमिल्ने भएको छ । गत वर्ष जस्तै पूर्वी चितवनका नगरपालिकाहरु मिलेर वीरेन्द्रनगरको कृषि विकास बैँकको भवनमा आइसोलेसन केन्द्र बनाउने बारे छलफल भइरहेको छ ।

त्यसैगरी भारतसँग सिमाना जोडिएको नगरपालिका भएकोले पनि माडी निकै संवेदनशील क्षेत्रमा पर्छ । माडी नगरपालिकाले अहिले आफ्नो सम्पूर्ण ध्यान सिमाबाट आउने नागरिकहरुमा निगरानी गर्नमा दिइरहेको छ । माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले भारतीय सिमाना ठोरी र स्वमेश्वरतिरबाट आउने नागरिकहरुलाई नगरपालिकाले विशेष निगरानी राखिरहेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ ठोरी तिरबाट आउनेहरुलाई निगरानीका लागि बगई बसपार्कमा हेल्थ डेस्क राखेका छौं । माडी नगरपालिकामा रहेका विभिन्न संघसंस्थाका चार वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छौ । वडा नम्बर ५ को छरछरेमा गत वर्षको जस्तै आइसोलेसन केन्द्र बनाउने सोच बनाएका छौं ।’

चितवनको राजमार्गक्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका पनि निकै संवेदनशील क्षेत्रमा पर्छ । गाउँपालिकाले पनि बल्ल आइसोलेसन केन्द्र र स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउने बारे तयारी गरिरहेको छ । गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले नारायणी अनलाइनलाई भनिन्, ‘गाउँपालिकाको आकस्मिक बैठक बसेर सबै सुरक्षा निकाय र स्वास्थ्य संस्थाहरुलाई अलर्टमा राख्ने निर्णय गरेको छ । वडामा क्वारेन्टाइनको व्यवस्थापन गर्ने र सेना तथा प्रहरीसँग समन्वय गरेर कुरिनटारमा हेलीप्याड बनाएर हेलिकप्टरबाट समेत उद्धारको तयारी गरिएको छ । ’ चितवनमा फैलिएको कोरोना संक्रमण दर हेर्दा रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायले गरेको तयारीमा ढिलाइ भएको देखिन्छ । तयारी पनि गत वर्ष भन्दा धेरै नै कमजोर देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका