जोडिनुहोस

Banner

चितवन, वैशाख ११–

पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्म झन्डै ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिना अर्थात चैत मसान्तसम्म ८ करोड ८७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेका अनुसार संकलित सो राजस्व लागत सहभागिता सहितको हो । हालसम्म १ करोड ९४ लाख ९१ हजार रुपैयाँ लागत सहभागिता रहेको छ । त्यस बाहेक ६ करोड ९२ लाख ५७ हजार विभिन्न शिर्षकबाट आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । सबैभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेशनबाट संकलन भएको छ । उक्त शिर्षकबाट २ करोड १७ लाख रुपैयाँ संकलन भएको हो ।

त्यस्तै सम्पत्ति करबाट १ करोड ७७ लाख ३२ हजार, ब्यवसाय रजिस्ट्रेशन दस्तुरबाट ७८ लाख २३ हजार, सिफारिस दस्तुरबाट ६३ लाख ३३ हजार, घर बहाल करबाट ४३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट २९ लाख ८ हजार, बांडफांड भई प्राप्त हुने मुल्य अभिवृद्धि करबाट १२ लाख ७१ हजार, भुमिकर/मालपोतबाट ११ लाख ६० हजार रुपैयाँ संकलन भएको न्यौपानेले बताए । बाँकी अन्य आम्दानी विभिन्न शिर्षकबाट संकलन भएको छ ।

खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षमा १० करोड ११ लाख रुपैयाँ राजस्व आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए । लक्ष्य अनुसार यो वर्ष पनि राजस्व संकलन हुने प्रमुख चौधरीले बताए । अघिल्लो आर्थिक वर्षमा ९ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्य भन्दा १८ प्रतिशत बढी राजस्व संकलन भएको थियो ।

जनप्रतिनिधि निर्वाचित भएको वर्ष खैरहनीको आन्तरिक आम्दानी १ करोड पनि थिएन । यहाँका उद्योगी ब्यवसायी, नगरवासी, जनप्रतिनिधि, नगरपालिका कर्मचारीको साथ सहयोगले आम्दानीको श्रोत वृद्धि हुँदै गएको नगर प्रमुख चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *