जोडिनुहोस
  • होमपेज
  • नयाँ वर्षमा सौराहामा आन्तरिक पर्यटक बढे, विदेशी पर्यटकको आगमन भने ठप्प

नयाँ वर्षमा सौराहामा आन्तरिक पर्यटक बढे, विदेशी पर्यटकको आगमन भने ठप्प

चितवन, वैशाख २

देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको सौराहामा आन्तरिक पर्यटकको संख्या केही बढे पनि विदेशी पर्यटकको आगमन भने ठप्प बनेको छ ।

कोरोना संक्रमणपछि गत वर्षबाट पर्यटक आगमन शून्य बनेको सौराहामा कोरोनाको त्रास घटेसँगै यस वर्षको नयाँ वर्षमा भने केही बढेको हो । अब फेरि संक्रमण बढ्दै गएकोले पयर्टक आगमन झनै अनिश्चित बन्दै गएको व्यवसायीहरुले नारायणी अनलाइनलाई बताएका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले सौराहाका होटलहरुको अकुपेन्सी ८० प्रतिशतसम्म पुगेको बताए । उनले भने, ‘चैत ३१ गते होटलको अकुपेन्सी ८० प्रतिशतसम्म पुगेको थियो । १ गते साँझ भने घटेर ३० प्रतिशत पुग्यो । फेरि कोरोनाको दोस्रो लहर आउने त्रासले पनि धेरै टाढाका आन्तरिक पर्यटकहरु सौराहा आएनन् ।’

गत वर्षको वैशाखदेखि नै विदेशी पर्यटकहरुको आगमन भने सौराहामा ठप्प नै भएको छ । केही नेपालका विभिन्न गैरसरकारी संस्थामा काम गर्ने विदेशी नागरिक बाहेक अन्य देशको पर्यटकको आवागमन नै छैन । अध्यक्ष भट्टराईले भने, ‘सौराहामा विदेशी पर्यटक शून्य नै भएको छ । त्यसको मुख्य कारण कोरोनाको त्रास नै हो ।’

त्यसैगरी रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नयाँ वर्षमा सौराहामा आन्तरिक पर्यटकको संख्या बढे पनि टाढाबाट पर्यटकहरु भने नआएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘नयाँ वर्षमा आएका आन्तरिक पर्यटकको संख्या सन्तोषजनक नै छ । धेरै टाढाबाट भने पर्यटकहरु निकै कम आए । लकडाउनदेखि यता केही आन्तरिक भर्यटककै भरमा सौराहा चलिरहेको छ । ’

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिका भएको छ ।

विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो । सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ ।

पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ । पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ । नेपाल पनि यसै क्षेत्रभित्र पर्ने मुलुक हो । युरोप तथा अफ्रिकी क्षेत्रमा ८५, मध्य एसियामा ८४ र अमेरिकी क्षेत्रमा ७७ प्रतिशत कमी आएको देखिएको छ ।

कोभिडको दोस्रो लहर सुरु भएसँगै विभिन्न मुलुकले लगाएको यात्रा प्रतिबन्धसँगै पर्यटक आवागमन घटेको संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोभिडको दोस्रो लहरबाट सबैभन्दा बढी अमेरिका र युरोपसँगै केही हदसम्म दक्षिणपूर्वी एसिया प्रभावित बनेका छन् ।

कोभिडका कारण सन् २०२० मा करिब ७५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा कमी आएको थियो । उक्त अवधिमा विश्व उड्डयन क्षेत्रले ३७० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति व्यहोरेको थियो । विमानस्थलले ११५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलरबराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले जनाएको छ ।

तीन महिनामा ८५ प्रतिशत गिरावट

सन् २०२१ को प्रथम त्रैमासिकमा ८५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा गिरावट आउने प्रक्षेपण यूएनडब्लूटीओले गरेको छ । सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यो वर्ष २६० मिलियन अन्तर्राष्ट्रिय आवागमनमा कमी आउने प्रक्षेपण गरिएको हो । ३२ प्रतिशतभन्दा बढी मुलुकले फेबु्रअरी पहिलो सातादेखि अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई प्रतिबन्ध लगाएका छन् । यस्तै ३४ प्रतिशत मुलुकले ससर्त मात्रै पर्यटक भित्र्याउने गरी मापदण्ड अपनाएका छन् ।

पहिलो ६ महिना विश्व पर्यटन गिरावटमा जाने भए पनि त्यसपछिको महिनादेखि बढ्ने अनुमान संगठनको छ । यूएनडब्लूटीओको प्रक्षेपणअनुसार २०२० को जुलाईको तुलनामा चालू वर्षको जुलाईमा ६६ प्रतिशतले विश्व पर्यटन माथि उठ्ने भनिएको छ । सेप्टेम्बरसम्म पुग्दा २२ प्रतिशतले पर्यटक बढ्ने अनुमान संगठनको छ । कोभिड–१९ विरुद्धको खोपको उपलब्धता, यात्राको आत्मविश्वास बढ्नु, यात्रा प्रतिबन्ध हट्दै जाने विश्वासका साथ यो प्रक्षेपण गरिएको हो । तर, सन् २०१९ को तुलनामा अन्तर्राष्ट्रिय पर्यटनमा वृद्धि हुन ४ वर्षभन्दा बढि समय लाग्ने अनुमान गरिएको छ ।

नेपालमा नेपालीकै भर

भारतमा कोरोना भाइरस संक्रमणदर दैनिक डेढ लाख पुग्दा नेपालमा फेरि ५०० बढी पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३३० संक्रमित भएका छन् । शुक्रबार २८८ जनामा कोरोना संक्रमण देखिएको थियो। सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिरहेको छ । यसले केही चलायमान हुन थालेको पर्यटन क्षेत्र पुनः सशंकित बनेको छ ।

कोभिडको दोस्रो लहरले समग क्षेत्र नै चिन्तामा गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मी बताउँछन् । सरकारले विदेशी पर्यटक आवागमनका लागि खुकुलो नीति अवलम्बन गरेको, भारतसँगका सीमा नाका पनि खोलेकाले पर्यटक बढ्ने अनुमान बोर्डले गरेको थियो । क्षेत्रीय पर्यटन प्रवद्र्धनमा अघि बढेको बोर्डले भारतीय पर्यटक भित्र्याउँन प्रचारलाई तीव्र बनाएको बताउँदै आएको थियो ।

‘भारतबाट मात्रै पनि पर्यटक बढाएर मुलुकको पर्यटन क्षेत्रलाई हाँक्न सकिन्छ भन्ने विश्वास लिएर हामी अघि बढेका छौँ । तर, अहिले कोभिडले केही धक्का त दिएको छ’, डा. रेग्मी भन्छन्, ‘तापनि निराश हुने अवस्था भने होइन ।’

विदेशी पर्यटक नआउँदा पनि आन्तरिक पर्यटकले समग्र पर्यटन क्षेत्र चलायमान हुने विश्वास बोर्ड कार्यकारीको छ । लकडाउनपछि खुलेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकले नै थेगेको उदाहरण हामीसँग रहेकाले आत्तिने अवस्था नरहेको उनको भनाइ छ । खुला सिमाना, भिसा लगाउनु नपर्नेलगायत कारण कोभिड सहज भएको अवस्थामा तुरुन्तै भारतीय पर्यटक बढ्ने अपेक्षा बोर्डको छ ।

प्राकृतिक रूपमा धनी देश नेपालका साहसिक पर्यटन गन्तव्यहरू भीडभाडभन्दा टाढा छन् । यसले गर्दा कोभिडको बीचमा पनि पर्यटक भित्र्याउन सकिने पर्यटनविद् दीपकराज जोशी बताउँछन् । ती स्थानहरूको प्रचार र पर्यटकीय बजारमा विविधता गर्न सके विदेशी पर्यटक भित्रिने उनको भनाइ छ ।

नेपालको प्रमुख पर्यटकीय बजार युरोप, अमेरिका, भारतलगायतका देश कोभिडबाट बढी प्रभावित बनिरहेकाले अरू सम्भावित बजारतिर पनि सरकारको ध्यान जानुपर्ने उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका