जोडिनुहोस
  • होमपेज
  • पत्रकार महासंघ चितवनको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, ९७ प्रतिशत मत खस्यो

पत्रकार महासंघ चितवनको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, ९७ प्रतिशत मत खस्यो

चितवन, चैत २५-

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

चितवनमा २७४ जना मतदाता रहेकोमा २६६ जनाले मतदान गरेका छन् । जुन मत परिणाम ९७ प्रतिशत हुन जान्छ । जिल्ला अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि भरतपुरको कभर्ड हलमा सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

जिल्ला अध्यक्षका लागि तिलकराम रिमाल, नारायण अधिकारी र सूर्यप्रकाश कँडेल गरी तीन जना उम्मेदवार मैदानमा छन् । तीमध्ये रिमाल र अधिकारीले प्यानल बनाएर चुनाव लडेका छन् भने कँडेल स्वतन्त्र उम्मेदवार हुन् ।

रिमालको प्यानलमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रेस चौतारी, राप्रपा निकट मिडिया नेपाल र विप्लव माओवादी निकट जनपत्रकार संगठनको गठबन्धन छ भने नारायण अधिकारीको प्यानलमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरको सहभागिता रहेको छ । दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ । थोरै मतको अन्तरले मात्र हारजित हुने देखिएपछि दुवै प्यानल मतदातालाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर कसरत गरेका थिए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले आज साँझबाट नै मतगणनाको कार्य सुरु गरिने नारायणी अनलाइलाई जानकारी दिए । उनले भने, ‘ म अहिले त्यसको तयारीमा लागेको छु ।’ त्यस्तै केन्द्र, प्रदेश, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि पनि आजै मतदान हुँदैछ । चितवनमा २७४ मतदाता छन् भने देशभर महासंघमा १३ हजार बढी मतदाता छन्।

पहिला केन्द्र, प्रदेश अनि जिल्लाको मतगणना गरिने छ । साँझ करिब ७ बजेबाट मतगणना सुरु हुने बताउँदै खतिवडाले भोलि बिहान ९ बजेसम्ममा अन्तिम मतगणना सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका