जोडिनुहोस
  • होमपेज
  • पत्रकार महासंघ निर्वाचन : चितवनमा तीन अध्यक्षसहित ८३ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

पत्रकार महासंघ निर्वाचन : चितवनमा तीन अध्यक्षसहित ८३ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, चैत २३
आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

तीन जना अध्यक्षसहित निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचनका लागि आइतबार ८८ जनाको उम्मेदवारी परेको थियो । जसमा सोमबार ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सह–सचिवका उम्मेदवार प्रस्ताव सुवेदी, मधेसी सदस्यबाट ज्योती महत्तो, खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सुवास लामिछाने, खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सनिलकुमार श्रेष्ठ र खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हरि पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।

आज दुई जना उम्मेदवार निर्विरोध चयन भएका छन् । मधेशी सदस्यमा सरिता महत्तो साह (अपेक्षा) र अन्य समावेशीमा भुपराज पाठक चयन भएका छन् ।

निर्वाचन समिति संयोजक जनक अर्यालका अनुसार प्रेस चौतारी सहितको गठबन्धनबाट तिलक रिमालको नेतृत्वमा प्यानल तथा प्रेस युनियन सहितको गठबन्धनबाट नारायण अधिकारीको नेतृत्वमा प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै स्वतन्त्र रुपमा सूर्यप्रकाश कँडेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएको अर्यालले जानकारी दिए । प्रेस चौतारी नेपाल चितवनलाई मिडिया नेपाल चितवन र जनपत्रकार सङ्गठनको साथ छ भने प्रेस युनियन चितवनलाई प्रेस सेन्टर र नेकपा एमालेको माधव नेपाल पक्षका पत्रकारहरुको साथ छ ।

आइतबार भएको मनोनयनका क्रममा खुला उपाध्यक्षका लागि तीन, समावेशी उपाध्यक्षका लागि दुई, सचिवका लागि दुई, सहसचिव खुलाका लागि तीन, सहसचिव समावेशीका लागि दुई तथा कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष खुलामा प्रकाशमणि ज्ञवाली, रामकान्त पौडेल र विनोदबाबु रिजालको उम्मेदवारी परेको छ भने समावेशी उपाध्यक्षमा प्रमिता ढकाल र शान्ता अधिकारी ‘बी’ को उम्मेदवारी परेको छ  । सचिवमा भने अनिल ढकाल र दीपेन्द्र अधिकारीको उम्मेदवारी परेको अर्यालले बताए ।

त्यसैगरी, समावेशी सह–सचिवमा अमिर रामदाम र उर्गेन तामाङको उम्मेदवारी परेको छ  । कार्यसमितिको सह–सचिवमा खुलातर्फ आनन्द पोखरेल, टीकादत्त तिमिल्सीना र राजु सापकोटाको उम्मेदवारी परेको छ भने कार्यसमिति कोषाध्यक्षमा गोविन्द घिमिरे, राजेन्द्र आचार्य र राजेश घिमिरेको उम्मेदवारी परेको छ  । महासंघको विधानअनुसार अध्यक्षमा एक, उपाध्यक्ष खुलामा एक, समावेशी उपाध्यक्षमा एक, सचिवमा एक, खुला सहसचिवमा एक, समावेशी सहसचिवमा एक र कोषाध्यक्षमा एक जना निर्वाचित हुनेछन् ।

त्यसैगरी, सदस्यतर्फ महिला सदस्यमा रविना पौडेल र शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल (प्रिति) र सरोज उपरकोटी, आदिवासी जनजाति सदस्यमा तुलमान गुरुङ् र सञ्जय चौधरीको उम्मेदवारी परेको छ । खुला सदस्यमा १६ जनाको उम्मेदवारी परेको अर्यालले बताए  । खुला सदस्यमा अनिल भट्टराई, किशोर खनाल, तिलक पौडेल, बद्रिप्रसाद अर्याल, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, मुकुन्द भुषाल, रामु आचार्य, रोहिणिप्रसाद त्रिपाठी, विकास पौडेल, विप्लव काफ्ले, विवेक पोख्रेल, समिक्षा पुरी, सरिता पौडेल, हेमराज रिमाल र ज्ञानेन्द्र तामाङको उम्मेदवारी परेको छ ।

पत्रकार महासंघ चितवनमा महिला सदस्य एक, दलित सदस्य एक, आदिवासी जनजाति सदस्य एक, मधेशी सदस्य एक, अन्य समावेशी सदस्य एक र खुला सदस्य आठ जना निर्वाचित हुने अर्यालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका