जोडिनुहोस
  • होमपेज
  • माडीको राम मन्दिर निर्माण स्थल मुख्यमन्त्री पौडेलद्वारा अवलोकन, रामनवमीमा विशेष कार्यक्रम गरिने

माडीको राम मन्दिर निर्माण स्थल मुख्यमन्त्री पौडेलद्वारा अवलोकन, रामनवमीमा विशेष कार्यक्रम गरिने

चितवन, चैत २२-

वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले माडीमा बन्ने राम मन्दिर निर्माण स्थलको अवलोकन गरेका छन् ।

राम मन्दिर अवलोकनपछि भएको अन्तरक्रिया कार्यक्रममा मुख्य मन्त्री डोरमणि पौडेलले माडीमा राम मन्दिर बन्यो भने यसले राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो असर गर्ने विचार राखे । उनले भने, ‘ मन्दिर निर्माणबाट माडीमा अन्य गतिविधि पनि बढ्दै जाने बताए । उनले मन्दिर वृहतरुपमा विकास गर्ने गरी धेरै खुला क्षेत्रमा निर्माण गर्नुपर्छ ।’ मुख्य मन्त्रीले अयोध्या धाम निर्माणले माडीको जनजीवनमा ठूलो प्रभाव पार्ने विचार राखे । उनले राम मन्दिर अयोध्या धाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै खर्चको बारेमा चिन्ता नगर्न सबैलाई अनुरोध गरे । उनले भने, ‘ राजनीतिक पार्टीको रुपमा विभाजन नगरी सबैको साझा सहमति बनाएर अगाडि बढ्नुपर्छ । तीनै तहको सरकारले यसको जिम्मा लिन्छ ।

त्यसैगरी माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालले माडीमा देखिने गरी केही गर्न सकिन्छ कि भन्ने सुरुवात गरौं भन्ने कार्यको लागि मुख्यमन्त्री यहाँ आएको बताए । उनले भने,‘ राम मन्दिर बनाउन स्थानीय सरकार निरन्तररुपमा लागेका छौं । राम नवमीमा मुर्ती प्रतिस्थापन गर्ने र त्यसको व्यवस्थापन गर्नको लागि अगाडि बढ्नुपर्छ ।’ उनले कम्तीमा सानोतिनो काम भए पनि यो वर्ष सुरु गर्नुपर्ने विचार राखे । उनले तत्काल कहाँबाट सुरु गर्न सकिन्छ त्यहाँबाट सुरु गर्न अघि बढ्नुपर्ने बताए ।

आगामी वैशाख ८ गते पर्ने राममन्दिरको दिनमा माडीको राम मन्दिर निर्माण स्थलमा विशेष कार्यक्रम गर्न माडीका पूर्वसांसद तीर्थ भुसालको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।

यसअघि पनि मन्दिर निर्माण विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको थियो । प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाएका छन् ।

 

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भएको छ । मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ । आगामी रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको प्रदेश सांसद विजय सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ । गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका