जोडिनुहोस
  • होमपेज
  • विजय खड्गी स्मृति गोल्डकपको उपाधि क्यामरुनलाई

विजय खड्गी स्मृति गोल्डकपको उपाधि क्यामरुनलाई

चितवन, चैत २१–

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले ‘सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप’ फुटबलको उपाधि उचालेको छ । आज (शनिबार) नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल खेलमा एआरए क्यामरुनले त्रिभुवन आर्मी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

क्यामरुनको जितमा किउटे, बास्सेक र मौसाले समान एक–एक गोल गरे । आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए । खेलको पहिलो हाफमा क्यामरुनले आर्मीलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ४० औं मिनेटमा किउटेले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा क्यामरुनले थप २ गोल गर्‍यो । दोस्रो हाफको तेस्रो मिनेटमा नै बास्सेकले क्यामरुनको अग्रता दोब्बर बनाए । दोस्रो हाफको १६ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनलाई ३–१ को अग्रता दिलाए । २८ औं मिनेटमा सुशान्तले आर्मीका लागि एक गोल गरे । पहिलो गोल गरेपछि आर्मीले थप गोलको अवसर सृजना गरे पनि सफल भएन । खेल अवधिभर क्यामरुनले आर्मीलाई खुलेर खेल्न दिएन । खेलको म्यान अफ दि म्याच क्यामरुनका केउटे घोषित भए ।

उपाधिसँगै क्यामरुनले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त्त बुझाएको छ । क्यामरुनका मौसा प्रतियोगिताको भरको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । क्यामरुनकै गुएमो उत्कृष्ट डिफेन्डर, आर्मीका रमेश भुजेल उत्कृष्ट मिडफिल्डर, ५ गोल गरेका आर्मीकै सुशान्त सर्वाधिक गोलकर्ता, नुवाकोट युनाइटेड एफसीका प्रयास तामाङ उदयमान खेलाडी र क्यामरुनका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक घोषित भए । उनिहरुले जनही पाँच–पाँच हजार प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताबाट बचेको रकम स्व विजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका क्रममा कतारमा ३२ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनलाई प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगिताहरु समेत खेलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका