जोडिनुहोस
  • होमपेज
  • चितवनको वायु प्रदुषणले खतराको तह नाघ्यो , सजग रहन विज्ञहरुको सुझाव

चितवनको वायु प्रदुषणले खतराको तह नाघ्यो , सजग रहन विज्ञहरुको सुझाव

मधुसूदन दवाडी

चितवन, चैत १६-

चितवनमा गत शुक्रबारबाट फैलिएको वायु प्रदुषणले खतराको तह नाघेको छ ।

चितवनका विभिन्न सामुदायिक वनलगायत विभिन्न जिल्लामा लागेको डँडेलोको कारणले चितवनमा वायु प्रदुषण बढेको हो । प्रदुषणले गर्दा भरतपुर विमानस्थलबाट हुने उडानहरु स्थगित भएका छन् भने भरतपुरका विभिन्न अस्पतालमा रुघा, खोकी र दमका बिरामीहरुको संख्या पनि बढ्दै गएको छ ।

वातावरण विज्ञ ध्रुव आचार्यका अनुसार चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको छ । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने बताए ।

आचार्यले अहिले मानिसको नाकले सम्म छान्न नसक्ने गरी प्रदुषण बढेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘चितवनको वायुमण्डलमा फैलिएको प्रदुषण हामीले अनुभव गरिरहेको विषय हो । यस्तो प्रदुषणले आँखा नाक पोल्ने, टाउको दुख्ने, दम र स्वासप्रश्वासमा समस्या देखिएको छ । ’

के कारणले फैलियो प्रदुषण ?

वातावरण विज्ञ आचार्यका अनुसार अहिलेको मौसम प्रिमनसुन सिजन हो । यो समय स्वभाविकरुपमा तापक्रम बढी हुन्छ । वनजंगलमा प्राकृतिकरुपमा र मानिसहरुबाट आगलागी बढी हुन्छ । त्यसैगरी अहिले गहुँलगायतको कृषि उपज भित्र्याउँने समय भएकोले थ्रेसर लगाउने र खेतबारीमा खनजोत गर्दै सुकेको स्याउला डढाउने प्रचलन हुन्छ । त्यसैगरी मानिसले नियन्त्रणमा राखेर नयाँ घाँसको लागि वनजंगलमा डँडेलो लगाउँछन्, जुन स्वभाविक प्रक्रिया हो । सबै काम एकैपटक परेकोले पनि चितवनको वायुमण्डल प्रदुषित बनेको विज्ञहरु बताउँछन् । आचार्यले पानी र हावा नचल्दा वायुमण्डलमा फैलिएको प्रदुषण हट्न नसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘काठमाडौँ उपत्यका त झनै कचौरा जस्तो भएकोले पनि प्रदुषण हट्न सकेको छैन ।’

मानव स्वास्थ्यमा नकारात्मक असर

चितवनको वायुमण्डलमा फैलिएको प्रदुषणले विभिन्न एलर्जी र दम रोगका समस्याहरु देखिएको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डाक्टर कालीदास अधिकारीले अस्पतालमा रुघा, खोकी र दमका बिरामी बढिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ यससम्बन्धी प्रदुषणका कुरा त हामीलाई भन्दा वातावरण विज्ञलाई नै बढी थाहा हुन्छ । तर, पनि स्वास्थ्यको कुरा गर्दा टाउको दुख्ने, एलर्जी, रुघाखोकीका समस्या बढी देखिन सक्छ ।’ उनले घर बाहिर सकभर ननिस्कन र निस्कनै परे पनि मास्कको प्रयोग गर्न सुझाव दिए ।

त्यसैगरी बढ्दो वायु प्रदुषणले पाँच वर्षसम्मका बालबालिका बढी प्रभावित भएको विज्ञहरुले बताएका छन् । भरतपुर अस्पताललगायत चितवनका अन्य अस्पतालमा यस्ता बिरामीहरुको संख्या निरन्तर बढिरहेको छ । भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले अहिलेको प्रदुषणले गर्दा बालबालिकामा रुखा, खोकी र दमको समस्या धेरै नै देखिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले पाँच वर्ष मूनिको बालबालिका सकभर घरबाहिर ननिकाल्न र निकाल्नै परे पनि मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । उनले दुई वर्ष मुनिको बालबालिकालाई भने मास्क लगाउन नहुने सुझाव दिए । चितवनलगायत देशभर फैलिएको वायुप्रदुषणको कारणले सरकारले आगामी चार दिनसम्म सम्पूर्ण विद्यालय तथा विश्वविद्यालयहरु बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका