जोडिनुहोस
  • होमपेज
  • चितवनको झुपडीमा गरिबीको पीडा: न अस्पताल जाने पैसा छ, न पेट भरिने खाना

चितवनको झुपडीमा गरिबीको पीडा: न अस्पताल जाने पैसा छ, न पेट भरिने खाना

मनिका विश्वकर्मा

चितवन, चैत १४-

सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरुको अभाव भएको अवस्था नै गरिबी हो । गरिबीले ब्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक अवसर तथा पहुँचहरुको वञ्चितिकरणको अवस्था, क्षमताविहिनता तथा असक्षमतालाई समेट्ने काम गर्छ ।

त्यस्तै शहरीकरण र आधुनिकतातिर अगाडि बढेको चितवनमा पनि गरिबी कै कारण स्वास्थ्य उपचारबाट धेरै नागरिक बञ्चित हुनुपरेको छ । ठूला ठूला कलकारखाना, उद्योगहरु चितवनमा देख्न सकिन्छ । यहाँका स्थानीय सरकारहरुले पनि आफ्ना क्षेत्रहरुलाई विकास गर्नको लागि भौतिक निर्माणलाई मात्रै बढी प्राथमिकतामा राखिएको देखिन्छ । आर्थिक आम्दानी राम्रो नहुँदा यहाँका गाम्रीण क्षेत्रका मानिसहरु धेरै कुराबाट बञ्चित हुनुपरेको छ । गरिबी र अशिक्षाले सानै उमेरमा विवाह, भेदभाव, स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको छ ।

दृश्य नं १

यो दृश्य चितवनको कालिका नगरपालिका २ नम्बरको प्रगतिटोलको हो । यो ठाउँलाई पदमपुर पनि भन्ने गरिन्छ । पदमपुरको भित्री गाउँमा खाली जग्गामा केरा, मकै बाली लगाएको देख्न सकिन्छ । यस्तै त्यहाँ जस्ताका पाता र खरले छाएका साना पुराना घरहरु पनि छन् । साना बालबालिकाहरु विद्यालयबाट छुट्टी लिएर घर फिर्दै थिए । दिउँसोको ४ बजेको थियो । महिलाहरु विद्यालयबाट आफ्ना छोराछोरीलाई साइकल पछाडि राखेर घरतिर फर्किदै थिए । केही महिलाहरु बारीमा मकै गोड्दै थिए । स्थानीय सुनिता गुरौंको चार सन्तान छन् । जसमध्ये सुनिताको कान्छी छोरी पाँच वर्षदेखि बिरामी छन् ।

विद्यालय छुट्टी भएपछि सुनिताको जेठो छोरा घरमा आएर छिरबिरे झोला ढोकाको कुनामा राख्छन् । उनको मुहार भोकले पिरोलिएको जस्तो देखिन्छ । विद्यालय पोशाकमा उनी बाहिर त्रिपालले छाएको पालीमूनि अगेनाको छेउमा बिहानको बासी भात खोज्दै पुग्छन् । स्टिलको थालले ढाकेर राखेको कालो कसौडी भित्र भात निकाल्दै उनको आँखा सेता पहेला प्लास्टिकका डब्बा नजिक जान्छ । उनी थालमा भात खनाएर सेता डब्बाको बिर्को खोल्छन् । अनि नुन भातमा छर्केर नाकको सिगान सुसु तान्दै कपाकप भात खान्छन् । नुन हालेको भात खादै गर्दा उनलाई गला लाग्छ उनकी आमा पानी खाउ भन्दै स्टिलकै अम्खरामा पानी दिन्छिन् । उनी बिहान आमासँगै उठ्छन् । सात वर्षीय उनी अली अली आमाको काममा पनि सघाउँछन् । उनी घरनजिकैको सरकारी विद्यालयमा पढ्छन् । यो त भयो सुनिता गुरौंकी जेठो छोराको दैनिकी ।

त्यस्तै घुडामा च्यातिएको पाइन्ट र निलो सर्ट । पिठ्यु पछाडि रातो रङको झोला भिरेका । गोलो मोडाका अनुहार भएका उनी सुनिताको कान्छो छोरा हुन् । फागुन पूर्णिमाको लागि राखिएका पहेला, राता र गुलाबी रंगहरु आगनमा विभिन्न आकारका चित्रहरु बनाउँदै हुन्छन् । रातो माटोले लिपिएका आगनमा सुनिताका कान्छो छोरा खेल्दै हुन्छन् । विद्यालयमा ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको लागि खाजाको व्यवस्था गरिएको हुन्छ । यो दिन भने घरबाटै कचौरा बोकेर हिडेका हुन्छन् । सुनिताले दिएको १५ रुपैयाँ विद्यालयमा बुझाएपछि उनले त्यो दिनको दिएको खाजा खान्छन् । सुनिताको चार छोराछोरी छन् । दुई छोरी र दुई छोरा रहेका छन् सुनिताको । सुनिताको कान्छो छोरा चञ्चले र अलि धेरै बोल्छन् ।

यसैगरी सुनिताकी जेठी छोरी भने सबैभन्दा ठूली र समझदारी छन् । उनी विद्यालयबाट आउनेबित्तिकै कुचो समातेर बढार्ने गर्छिन् । उनले बिस्तारा मिलाएर जुठा भाडाहरु पनि सफा गर्छिन् । उनी सधैं घरको काम सक्काएर विद्यालयमा पुग्छिन् । सुनिता भन्छिन्र्, ‘म घरमा नभएको बेला भाइबहिनीलाई खाना पकाएर स्याहार सुसार गर्ने नै जेठी छोरी हो ।’ यसरी नै सुनिताको छोराछोरीको दिनचर्या बित्ने गर्छ ।
सुनिताको कान्छी छोरी भने बिरामी छिन् । पाँच वर्ष उमेरकी कान्छी छोरीको दाहिने हर चल्दैन । छोरीले मम्मी मम्मी भन्ने शब्दहरु मात्रै उच्चारण गर्ने सुनिताले बताइन् । छोरीको उपचारको लागि उनीहरुले चितवनको सरकारी अस्पतालमा पनि लगे । छोरीको उपचार हुन नसकेको उनले बताइन् । ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने सुनिताको परिवारसँग छोरीको उपचार गर्ने पैसा छैन ।

सुनिताको १७ वर्षको उमेरमा कृृष्ण गुरौंसँग प्रेम विवाह भएको थियो । उनीहरु दुवै जनाले पढाइको बीचमा नै बिहे गरे । पढाइ नभएको कारणले पनि अहिले उनीहरुलाई घर व्यवहार धान्न मुस्किल रहेको छ । सुनितालाई बीचमा नै पढाइ छोडेर पछुतो लागेको बताउँछिन् । उनी भन्छिन्र्, ‘पहिले पढेको भए अहिले यस्तो दुःख पाउने थिइन होला ।’

हामी सुनिताको घर पुग्दा उनका श्रीमान् कृष्ण काममा गएका थिए । सुनिता पनि बिहानै साइकलमा एक घण्टा लगाएर एक होटेलमा पुग्छिन् । चार कक्षा पढेर छाडेकी सुनिताले होटेलमा सरसफाइ र खाना बनाउने काम गर्छिन् । बिहानदेखि बेलुकासम्म १३ घण्टा काम गर्दा पनि सु्नितालाई होटेलले ६ हजार मात्रै तलब दिने गर्छ । उक्त तलबले खाना खर्चको लागि मात्रै पुग्ने सुनिताले भनिन्र्, ‘समय धेरै दिनुपर्ने, काम पनि धेरै गर्नुपर्ने हुन्छ होटेलमा ।’

१८ वर्षकै उमेरमा नै सुनिताले जेठी छोरीलाई जन्म दिएकी थिइन् । उनले जेठीछोरी जन्माएपछि तीन सन्तानलाई जन्म दिइन् । सानै उमेरमा धेरै सन्तान जन्माएकोले उनलाई अहिले पाठेघरसम्बन्धी रोग लागेको छ । उनले भनिन्र्, ‘भारीवाला काम ग¥यो भने तल्लो पेट दुख्छ । डाक्टरलाई पनि देखाएको हो । खै पैसा धेरै लाग्छ रे पैसा नै छैन ।’ दिनभरी कमाएको पैसाले छोराछोरी र घर खर्चलाई नै नपुग्ने उनले भनिन्र्, ‘थोरै पैसाले कसरी पुग्ने मलाई उपचार गर्न ।’ उनलाई झण्डै १५ किलोमिटर टाढा रहेको भरतपुरको सरकारी अस्पतालमा गरिब तथा असहायहरुको निःशुल्क उपचार हुन्छ भन्ने जानकारीसम्म छैन ।

दृश्य नं २

त्यसैगरी हामी सुनिताको घर नजिकैको अर्काे जस्ताको पाताले छाएको घरमा पुग्छौ । त्यहाँ पनि अवस्था उस्तै रहेको हुन्छ । एक बालक पैसा नभएकै कारण उपचारबाट बञ्चित हुनुपरेको छ ।

पेट ढुम्म भरिएको । आँखाका लोतीहरु मोटा र हातका पाखुराहरु मोटा । हेर्दा उनलाई यस्तो देखिन्छ । सानै उमेरमा आमाको निधन भएपछि उनले धेरै दुःख भोग्नुप¥यो । ११ वर्षीय भए आयुष तामाङ । उनी तीन कक्षामा सुनिताका छोराछोरी पढ्ने स्कुलमा नै पढ्छन् । उनी अरु बालबालिका जस्तो सबल रहेका छैनन् । एकछिन बोलेका कुरा एकैछिनमा बिर्सन्छन् । शारीरिक रुपमा अब्बल भए पनि उनी मानसिक तवरले बिरामी छन् । दुई वर्षको उमेरमा घरको छतबाट खसेको कारण उनी यस्ता भएका हुन् । आयुसको घरमा हामी पुग्दा उनी सागको तरकारीसँग भात खादैँ थिए । उनका बुबाले उनलाई धेरै नै माया गर्छन् । आयुषको आमा बितेपछि बुबाले कान्छी श्रीमती बिहे गरे । आयुषका बुबाले गलैँचा बुन्ने काम गर्छन् । आयुष पनि त्यही बुबा र कान्छी आमासँगै बस्छन् । आयुषका बुबा भन्छन्र्, उसलाई(आयुष) लाई जे भन्यो त्यही चाहिन्छ । गाली ग¥यो भने उनी धेरै रुन्छ । धेरै चकचके पनि छ । नगर भनेको काम नै गर्न खोज्छ । सम्झाएको कुरा एकैछिनमा भुल्छ उसले ।’

राष्ट्रिय आधारभूत विद्यालय नजिकै उनको घर छ । विद्यालयमा उनका शिक्षक भन्छन्र्, ‘अन्य विद्यार्थीहरु भन्दा आयुष फरक खालका रहेका छन् । जे होस् आयुषलाई दिएको होमवर्क भने गर्ने कोसिस गर्छन् । प्रयास चाहीँ गर्न खोज्छ आयुषले ।’

कालिका नगरपालिकामा बनेका चिल्ला सडक छाडेर भित्रि झु्पडीतिर पुग्दा यस्तै दृश्यहरु जोकोहीको आँखा अगाडि घुम्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका