जोडिनुहोस
  • होमपेज
  • चितवनमा गलैँचा उद्योग चलाउने भक्तमाया भन्छिन,’पहिले श्रीमानसँग पैसा माग्नुपर्थ्यो,अहिले दिने भएको छु’

चितवनमा गलैँचा उद्योग चलाउने भक्तमाया भन्छिन,’पहिले श्रीमानसँग पैसा माग्नुपर्थ्यो,अहिले दिने भएको छु’

मनिका विश्वकर्मा

पदमपुर, चैत १२ –

सानो टिनको छानो । तानमा औँलाहरु धागोसँग खेल्दै छन् । गर्मीको महिना भए पनि केही पुरुष र महिला एकोहोरो काममा व्यस्त छन् । भक्तमाया तामाङले शुरु गरेको गलैँचा उद्योगको दृश्य हो यो ।

भक्तमाया दिउँसोको खाजा बनाउन लाग्दा हातमा सेतो पिठो लतपतिएको हुन्छ । उहाँ रोटी बनाएर सकिएपछि टिनको टहरो जस्तो सानो उद्योगमा पस्नुहुन्छ । उद्योगभित्र पाँचवटा गलैँचा बुन्ने तान छन् । गलैँचा बुन्नको लागि भक्तमायाले नौ जना कामदार राख्नुभएको छ । जसमा चितवनका मात्रै नभएर हेटौँडासम्मका मानिसहरुले गलैँचा बुन्न रोजगारी पाएका छन् ।

भक्तमायाले घर नजिक आफ्नै जग्गामा उद्योग सञ्चालन गर्नुभएको छ । ‘घरमा सधैँ केही गर्नको लागि श्रीमान्सँग पैसा माग्नुपर्ने त्यस्तो देखेर मलाई राम्रो लागेन’ उहाँले भन्नुभयो, ‘अब केही गर्नुपर्छ, मैले पनि पैसा कमाउने बाटो गर्नुपर्छ भनेर म गलैँचा बुन्नेतिर लागेँ ।’ भक्तमाया सधैँ यस्तै सोच लिएर अघि बढ्नुहुन्छ ।

उहाँले चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थामा तीन महिने आधारभूत गलैँचा बुन्ने तालिम लिनुभयो । तालिम लिएपछि उहाँले आफ्नै लगानीमा गलैँचा उद्योग खोल्नुभयो । भक्तमायालाई उहाँको श्रीमान्ले पनि साथ सहयोग गरेको भएर नै यहाँसम्म आइपुगेको बताउनुभयो ।

शुरुमा त उहाँ कसलाई भन्ने नभन्ने भनेर अलमलमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘शुरुमा त मैले आफै तान ल्याएर गलैँचा बुन्ने भनेकी थिए । रकम धेरै लाग्ने भनेपछि श्रीमान्लाई कुरा राखेँ । उहाँले हुन्छ तिमी यस्तो गर्छौ भने म साथ दिन्छु भन्नुभयो । जसले गर्दा मलाई हिम्मत बढ्यो ।’

उहाँले सहकारीबाट नै १९ वटा बिनहरु ल्याउनुभयो । उहाँले काठमाडौँबाट धागो ल्याउनुभयो । धागो ल्याएको ठाउँमा नै उहाँले बुनेको गलैँचा बिक्री गर्नुहुन्छ । गलैँचा बुन्नको लागि उहाँको उद्योगमा ६ जना महिला र तीन पुरुष रहेका छन् ।

गलैँचा बुनेर नै मासिक १७ हजार रुपैयाँ आरामले कमाउन सकिने उहाँले बताउनुभयो । एक जना व्यक्तिले मासिक दुई वटा गलैँचा सजिलै बुन्न सक्ने उहाँले बताउनुभयो । उद्योग खोल्नको लागि रकमको व्यवस्था श्रीमान्ले नै मिलाइ दिएको उहाँले बताउनुभयो । ‘हामी महिला श्रीमान्सँग नुन छैन, तेल छैन, लिपिस्टिक छैन भनेर भन्छौँ’ उहाँले भन्नुभयो, ‘जे पनि श्रीमान्सँग माग्न नपरोस् दुई चार पैसा कमाउन सकियोस् । अरु महिलालाई पनि रोजगार दिन सकुम् भन्ने विश्वासले उद्योग शुरु गरेको हो ।’

कालिका नगरपालिका–२ मा पर्ने प्रगति टोलमा उहाँको घर छ । उहाँ बिहानबेलुका घरको काम सकेर गलैँचा बुन्नतिर लाग्नुहुन्छ । घरेलु उद्योगमा गलैँचा बुन्ने काम परिवारसँगै रहेर आरामसँग गर्न सकिने काम भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घरको काम सिध्याएर गलैँचा बुन्न सकिन्छ । थोरै समयमा पनि धेरै पैसा कमाउन सकिने काम हो गलैँचा बुन्ने काम ।’ उमेरले ३८ वर्र्ष कट्नुभएकी भक्तमायासँग श्रीमान्ले उल्टै पैसा माग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिला मैले पैसा माग्थेँ, अहिले उहाँले बुढी पैसा देऊ न भनेर माग्नुहुन्छ । यस्तो सुनेर मलाई आनन्द लाग्छ । म पनि आत्मनिर्भर भएछु भनेर ।’भक्तमायाले गलैँचा उद्योग सञ्चालन गर्नुभएको चार महिना भयो ।

गलैँचाको कामहरु पनि राम्रो नै भइरहेको भक्तमायाले बताउनुभयो । गलैँचा बुन्नको लागि थप २० जना कामदारहरु आवश्यक रहेको जानकारी दिँदै उनले भनिन्, ‘काम नजानेकोलाई पनि हामी नै सिकाइ दिन्छौ । हामीलाई अहिले २० जना भन्दा धेरै नै व्यक्तिहरु आए पनि गलैँचा बुन्ने काम टन्नै रहेको छ । काम गर्ने मान्छे जति भए पनि कम हुँदैन ।’

भक्तमायाका श्रीमान् पुर्णबहादुर तामाङ भन्नुहुन्छ, ‘बुढीले काम गर्न थालेपछि मलाई पनि घर चलाउन सहयोगका साथै उर्जा थपिएको छ । उनले गर्छु भनेपछि म सधैँ सहयोग गर्छु ।’

भक्तमायाको उद्योगमा नै सानुमाया घलेले पनि गलैँचा बुन्ने काम गर्नुहुन्छ । ‘यो काम सिक्न पनि धेरै समय नलाग्ने सजिलै सिक्न सकिने रहेछ’ उहाँले भन्नुभयो, ‘मैले विदेशबाट आएर गलैँचा बुन्न थालेँ सहज नै लागेको छ ।’ घलेका श्रीमान्ले पनि गलैँचा बुन्ने काम गर्नुहुन्छ । उहाँहरु उद्योगमा नै बस्ने र गलैँचा बुन्ने गर्नुहुन्छ भने छोराहरुलाई स्कुलसमेत पठाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका