जोडिनुहोस
  • होमपेज
  • खैरहनीका २१० परिवार र छिमेकीलाई कुष्ठरोगको औषधी खुवाईने

खैरहनीका २१० परिवार र छिमेकीलाई कुष्ठरोगको औषधी खुवाईने

चितवन, चैत १०–

चितवनको खैरहनी नगरपालिकाभित्र विगत १० वर्षको तथ्यांक हेर्दा करिव दुई सय भन्दा बढी कुष्ठरोगी लागेको पाईएको छ । खैरहनी नगरपालिका अन्र्तगतका स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय चितवनमा रहेको तथ्यांक अनुसार यहाँ २ सय १० जनामा कुष्ठरोग लागेको पहिचान भएको हो ।

विगत १० वर्षदेखी हालसम्म सो संख्यामा कुष्ठरोगी यस नगरपालिकाभित्र रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिए । कुष्ठरोग निवारण गर्ने लक्ष्यका साथ सो संख्याका बिरामी, बिरामीका परिवार र सम्वन्धित परिवारका नजिकका छिमेकीहरुलाई औषधी खुवाउन लागिएको अधिकारीले बताए । ‘उनीहरुको लिस्ट तयार भईसकेको छ’ जनस्वास्थ्य अधिकृत अधिकारीले भने–‘यसै आर्थिक वर्षभित्र बिरामी, तिनका परिवार र बिरामीको छिमेकका ६/६ घर परिवारलाई औषधी खुवाईनेछ ।’

त्यस्तै कुष्ठरोगको शंका लागेमा परीक्षण पनि गरिने छ । कुष्ठरोगलाई कम सर्ने छालाको सरुवा रोग मानिन्छ । औषधी खुवाउने विषयमा मंगलबार खैरहनी नगरपालिका स्वास्थ्य शाखाले नगरस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा जनस्वास्थ्य अधिकृत अधिकारीले कुष्ठरोगको अवस्था, निवारणका लागि गरिएको प्रयास, औषधी खुवाउने लगायत विषयमा जानकारी गराएका थिए । सो अवसरमा जनस्वास्थ्य अधिकृत अधिकारीले एक डोज औषधी खुवाए ९९ प्रतिशत रोग निको हुने र अरुलाई सार्न नसक्ने बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले कुष्ठरोगीलाई हेयको भावनाले हेर्न नहुनेमा जोड दिए । सोही अवसरमा नगर प्रमुख लालमणि चौधरीको संयोजकत्वमा नगरस्तरीय समन्वय समिति गठन गरिएको छ । नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधीहरु, स्वास्थ्य संस्था प्रमुखहरु, विद्यालयका प्रतिनिधी,प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

कुष्ठरोगको औषधी खुवाउने विषयमा स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाका लागि समेत अभिमुखीकरण कार्यक्रम राखिएको नर्सिङ अधिकृत पुजा गिरीले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका