जोडिनुहोस
  • होमपेज
  • ‘जेलभित्र जन्मिएको छोरी मेरो सपना,मेरो भविष्य’

‘जेलभित्र जन्मिएको छोरी मेरो सपना,मेरो भविष्य’

मनिका विश्वकर्मा,

चितवन, चैत ९ –

बिहानको साढे चार बज्दै थियो । सरु (नाम परिवर्तित) र उनकी बहिनी कोठामा सुतिरहेका थिए । बाहिरबाट ढोका खोल्नु, ढोका खोल्नु, भन्दै पुरुषको आवाज आउँछ । सरु आँखा मिच्दै बाहिर ढोकाको चुकुल खोल्दै, ‘को होला यति बिहानै’ भन्दै ढोका खोल्छिन् । चार जना प्रहरी आएका हुन्छन् । लागुऔषध खाएर बस्ने भनेर सरु र उनको बहिनीलाई प्रहरीले हतकडी लगाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा लैजान्छन् ।

१९ वर्षीय सरुको चितवनको एक युवकसँग प्रेम सम्बन्ध रहेको हुन्छ । युवकलाई पनि प्रहरीले लागुऔषध सेवन गरेको भनेर पक्राउ गरी त्यही कार्यालयमा नै ल्याउँछन् । सरुको बहिनीको चाहीँ केही गल्ती नभएकोले उनलाई प्रहरीले हिरासतबाटै छोडिदिन्छन् । सरु र युवकको मुद्दा अदालतमा नै पुग्छ । अदालतबाट सरुलाई लागुऔषध सेवन गरेकोमा तीन वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला सुनाइन्छ ।

घरकी सबैभन्दा जेठी छोरी हुन् सरु । सरुभन्दामुनि १५ वर्षीय भाइ छन् । सरुले चितवनको भरतपुरमा जागिर गर्थिन् । जागिर गर्ने क्रममा नै उनको युवकसँग प्रेम हुन्छ । लागुऔषध प्रयोगकर्ताको आरोपमा उनलाई नवलपरासीको कारागारमा राखिन्छ ।

उनी सम्झिँदै भन्छिन्, ‘मेरो सपना मेरो भविष्य जेलभित्रै मसँगै प्रवेश गर्दै आएको रहेछ ।

चितवन कारागार नजिक पर्ने भएकोले उनीहरुलाई चितवनको कारागरमा ल्याइन्छ । सरु केही महिनादेखि महिनावारी नभएपछि उनले कारागारमा स्वास्थ्य अवस्था हेर्ने चिकित्सकसँग जँचाउँछिन् । उनको पेटमा तीन महिने बच्चा छ भन्ने कुरा उनलाई थाहा हुन्छ । पेटमा तीन महिनाको बच्चा छ भन्ने कुरा थाहा पाए पछि उनी पहिले त निराश हुन्छिन् । उनी सम्झिँदै भन्छिन्, ‘मेरो सपना मेरो भविष्य जेलभित्रै मसँगै प्रवेश गर्दै आएको रहेछ । एकछिन त आत्तिएँ । रातोपिरो भएँ । कसरी भएँ म गर्भवती भनेर प्रश्न पनि खडा भयो ।’

गर्भवती भएको कुरा उनलाई आफ्नो प्रेमीलाई पनि सुनाउनु थियो । उनीहरुको शारीरिक सम्बन्ध नशाको अवस्थामा भएको सरुले बताइन् । ‘मेरो पेटमा भएको बच्चा उनकै हो भन्ने थाहा भएपछि म हतारमा थिएँ, कहिले उनलाई सुनाउने ?’ सरुले भनिन्, ‘जेलभित्र मोबाइल पनि प्रयोग गर्न पाइन्थेन । उनीसँग सम्पर्कमा नभएकोले धेरै दिनपछि उनी पनि उक्त कारागारमा नै छन् भन्ने थाहा पाएँ र उनलाई बच्चाको कुरा सुनाएँ । उनी एकछिन त अचम्मित भए । मैले उनलाई त्यो दिनको कुरा सम्झाएँ । उनी खुसी भए र मलाई राम्रोसँग ख्याल राख्नु भनेर उनले सम्झाए ।’

प्रेमीको कुराले पनि सरुको हिम्मत बढ्यो । बच्चालाई जन्म दिने कुरामा उनी पुगिन् । उनले गर्भावस्थामा गर्नुपर्ने सबै जिम्मेवारी र सावधानी पूरा गरिन् तर जेलभित्र भएकोले जति अन्य महिलाले गर्भावस्थामा पाउनुपर्ने सबै हेरचाह उनले पाउन सकिनन् । उनलाई गर्भवस्थामा फलफूल, दूध, अमिलो लगायतका खानेकुरा खान मन लाग्थ्यो । उनले भनिन्, ‘जेलभित्र भएका दिदीहरुलाई परिवारले भेट्न आउँदा ल्याइदिएका खानेकुराहरु कहिलेकाहीँ दिनुहुन्थ्यो । त्यसैले मन बुझाउँथे । मेरो ध्यान धेरै बच्चाको लागि हुन्थ्यो । कसरी जन्मिन्छ होला ? मैले जन्माउन सक्छु कि सक्दिन भन्ने चिन्ता लाग्थ्यो । कहिले त रातभर निन्द्रा नै लाग्थेन ।’

उनी जेलभित्रको साना प्वालहरुबाट कारागरको गेटतिर आँखा डुलाउँथिन् । कैदीबन्दीहरुलाई परिवारका सदस्यहरुले बिहान ११ बजेदेखि बेलुका चार बजेसम्म भेट्ने समय थियो । उनी ती समयमा बाटोमा हेरिरहन्थिन् । घरबाट कोही आउन्छन भनेर सरु अपेक्षा गर्थिन् । उनले जति बाटो हेरे पनि न उनका परिवारका कुनै सदस्य आए न त साथीभाइ नै । कोही पनि नआएपछि उनको आशा पनि मरेर गए । उनले गेटमा हेरेसँगै टेलिफोनमा पनि आफ्नो लागि कसैको फोन कल आउँछ कि भनेर आश गर्थिन् । तर, उनको लागि भनेर कसैको पनि फोन कल आउँदैनथ्यो ।

बच्चा पाउन सहज हुनको लागि गर्भवस्थामा व्यायाम गर्थिन् । उनी भन्छिन्, ‘पहिला स्कुलमा पढ्दा गर्भवस्थामा आमाले सधैँ सकारात्मक कुराहरु सोच्नुपर्छ भन्थे । मैले पनि त्यस्तै गर्थेँ । बच्चा नै अब मेरो भविष्य हो भनेर सोच्थेँ । जेलभित्रबाट निस्किएपछि बच्चालाई राम्रो स्कुलमा पढाउने जस्ता कुरा मनमा खेल्थे ।’ जेलभित्र बस्ने कैदीहरुको लागि राज्यले दैनिक ६० रुपैयाँ र ७०० ग्राम चामलको व्यवस्था गरेको छ । तर, गर्भवतीको लागि भने सुत्केरी हुनु भन्दा एक महिना र सुत्केरी भएको दुई महिना गरी तीन महिना मात्रै विशेष सुविधा रहेको चितवन कारागरका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सरुलाई माघ ५ गते बिहान बेथा लाग्यो । सुरुमा उनको पेट दुख्ने त्यस लगत्तै उनको कम्मरदेखि सबै दुख्दै गएको उनले बताइन् । सरुसँगै जेल सजाय भोग्दै गरेकी एक महिलाकोअनुसार सरुलाई बेथा लागेपछि उनीहरुले जेलर काफ्लेलाई खबर गरे । सरुलाई बेथा लागेको कुरा उनका प्रेमीले पनि थाहा पाइन् ।

उनी पनि सरुलाई कसो के होला भनेर आत्तिए । सरुलाई बेथा लागेको केही घन्टापछि उनले भरतपुरको सरकारी अस्पतालमा छोरी जन्माइन् । सरु एकछिन रातो शिशुको अनुहार हेर्दै मुर्छा परेर रुन्छिन् । ‘उनको जन्म न मेरो जन्मथलोमा भयो न त मेरो कर्मथलोमा नै भयो उनको जन्म भयो म जेलभित्र रहेको अवस्थामा’ त्यो पललाई सम्झिँदै उनले भनिन् ।

सरुले व्यायाम गरेको भएकोले पनि उनको सामान्य अवस्थामा बच्चा जन्मियो । उनलाई एकदिनभन्दा बढी अस्पतालमा राख्न नपरेको जेलर काफ्लेले बताउनुभयो । सरुलाई जेलभित्रै सजाय भोगिरहेका महिलाहरुले तेल लगाइदिन्थे ।

उनका प्रेमी भने पुनरावेदन गरेर जेलबाट छुटिसकेका छन् । उनी भन्छिन्, ‘मेरो पनि मुद्दा पुनरावेदन गर्ने भनेको पैसा नभएर गरेको छैन । उहाँले त पुनरावेदन गरेर बाहिर निस्कनुभयो ।’ विवाह बन्धनमा नबाँधिकन प्रेम सम्बन्धमा नै उनीहरुको बच्चा भएकोले परिवारले स्वीकार्न नसकेको सरुले बताइन् ।

‘मैले त गल्ती गरेर सजाए पाएँ तर यो निर्दोष बच्चाको के गल्ती छ ? परिवारले उनलाई त माया गर्न हुन्थ्यो नि त्यो पनि छैन’ उनले भनिन् । कारागारमा महिला कैदीबन्दीहरुमध्ये सबैभन्दा कान्छी हुन् सरु । कारागारभित्र उनी चौथो सुत्केरी हुन् ।

कानुनअनुसार जेलभित्र जन्मेको बच्चालाई तीन वर्ष आमासँगै राखिने र त्यसपछि परिवारको सदस्यलाई जिम्मा लगाइने र परिवार नै नभए कुनै संघसंस्थामा राखिने प्रावधान रहेको छ । सरुको पनि सजाय तीन वर्ष रहेको छ भने एक लाख रुपैयाँ जरिवाना रहेको छ । सरु भन्छिन्, ‘मसँग जरिवाना तिर्ने पैसा छैन । त्यसैले एक वर्ष थप हुन्छ कि जस्तो लागेको छ, अब के हुन्छ हेरम् ।’ अहिले चितवन कारागरमा तीन बालिका आश्रित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका