aroma
जोडिनुहोस
  • होमपेज
  • व्यक्तिगत र गुटगत विवादले चितवनमा नेविसंघ विवाद टुंगिएन : नेविसंघ नेता भुसाल

व्यक्तिगत र गुटगत विवादले चितवनमा नेविसंघ विवाद टुंगिएन : नेविसंघ नेता भुसाल

राजेश भुसाल चितवनको विद्यार्थी राजनीतिमा चिरपरिचित नाम हो । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर इकाइबाट राजनीति सुरु गरेका भुसाल सोही क्याम्पसको पूर्वअध्यक्ष हुन् । झण्डै १३ वर्ष अघिबाट राजनीति सुरु गरेका भुसालसँग चितवनको विद्यार्थी राजनीति र शैक्षिक एजेण्डाबारे नारायणी अनलाइन र सञ्चारपत्र दैनिकले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

प्रश्न : आजभोलि तपाइँको दिनचर्या कसरी बितिरहेको छ ?

 मेरो दिनचर्या त विद्यार्थी नेता विद्यार्थी आन्दोलनमा, पार्टीको गतिविधि र आफ्नो दैनिकीहरुमा बितिरहेको छ ।

प्रश्न : चितवनमा नेविसंघको राजनीतिक कसरी अगाडि बढिरहेको छ ? शैक्षिक मुद्दाहरुलाई कसरी उठाइरहेको छ ?

यो कोभिडको समय हामी विद्यार्थी, हामी नेपाली, विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा विद्यार्थी आन्दोलनसँगसँगै नेपाल विद्यार्थी संघ चितवनले विभिन्न सरकारका गतिविधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दाहरुमा , मानवअधिकार र शैक्षिक मुद्दाहरुमा आवाज उठाइरहेको छ । आन्दोलन गरिराखेको छ ।

प्रश्न:  अहिले कोरोनाको समयमा शुल्क छुटको विषय विभिन्न क्याम्पसहरुमा उठिरहेका छन् । यसबारेमा तपाइँहरुको एजेण्डा के छ ?

हामी मुलरुपमै विद्यार्थीसँगै सहभागी भएर हामीले यो एजेण्डा उठाउने भन्दा पनि हामी आफै कार्यक्षेत्रमा खटिएर आन्दोलन गरिराखेका छौं । केही समय अघि भरतपुर महानगर शिक्षा प्रमुखको अध्यक्षतामा प्याब्सन, हिसान, अभिभावक संघ, विद्यार्थी संघसंगठनबीचमा एक किसिमको सामुदायिक सरकारी तथा निजी क्षेत्रका शिक्षण संस्था सञ्चालकबीचमा शिक्षालाई कसरी अगाडि लान सकिन्छ । कोरोना समयको शुल्क निर्धारणलाई टुग्याउने कुरामा हाम्रो छलफल, बहस चलिराखेको थियो ।

कसरी टुङ्ग्याउने भन्दा पनि अब कोरोनाको समयमा धेरै कोर्सहरु पढाइएको छैन । कोर्स नपढाएर सबै शुल्क अभिभावकले तिर्दै गर्दा धेरै विद्यार्थीले यो तिर्न सक्ने अवस्था छैन । त्यसकारणले कतिसम्म त्यसको मापदण्ड राखेर लागू किन नगर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । तर, टुंगिसकेको छैन ।

प्रश्न : विद्यार्थी संगठनले विभिन्न शुल्क छुट तथा छात्रवृत्तिहरु आफ्नै समर्थक विद्यार्थीहरुलाई पार्छन् । आफ्नै कार्यकर्ताहरुलाई पार्छन् भनेर कतिपयले आरोप लगाउँछन् । यसमा तपाइँलाई के लाग्छ ?

यो केही कुरा सत्य पनि हुन सक्छ । अब विद्यार्थी आन्दोलन सबै ठाउँमा सफल हुँदै गर्दा सफलता सँगसँगै केही नकारात्मक पक्षहरु पनि अगालिराखेको देखिन्छ । त्यसमा आफन्त वा केही नजिकका विद्यार्थीहरुले पाउँदै गर्दा यसको दुरुपयोग पनि हुन सक्छ । यसलाई सबैमा नकार्न सकिँदैन । विद्यार्थी आन्दोलनमा विभिन्न दलित छात्रवृत्ति, जनजाति छात्रवृत्ति, अल्पसंख्यक छात्रवृत्ति, महिला र दुर्गम छात्रवृत्ति सँगै उत्कृष्ट विद्यार्थीले पाउने छात्रवृत्ति रहेका छन् । यी सबै भागबन्डामै टुंगिन्छ जस्तो मलाई लाग्दैन ।

प्रश्न : तपाइँले लामो समय सप्तगण्डकी बहुमुखी क्याम्पसमा सामुदायिक क्याम्पसको नेविसंघ नेतृत्व सम्हाल्नुभयो । सामुदायिक क्याम्पसलाई दीर्घकालिनरुपमा चलाउन के कस्ता समस्याहरु पाउनु भएको छ ?

मेरो सामुदायिक क्याम्पसमा पढाइ भयो । पढाइसँगसँगै त्यहाँ स्ववियुसँग सम्बन्धित भएर चुनाव लड्ने मौका पाए । पब्लिक क्याम्पस विश्वविद्यालयको रुपमा पनि बालकुमारी क्याम्पसलाई केन्द्रबिन्दु राखेर पब्लिक क्याम्पस संघबाट एउटा विश्वविद्यालयको प्रस्ताव पनि गरिएको थियो । हामी एउटा चपेटामा के छौं भने एकातिर सरकारी क्याम्पसहरु छन् अर्काेतिर हामीसँग निजी क्षेत्रका क्याम्पसहरु छन् । सामुदायिक भनेको नाफा बिना वा नाफा नभई चलाउने शिक्षण संस्था हुन् । सामुदायिक क्याम्पसहरुले सेवासुविधा सरकारी तहको दिनुप¥यो । तर, आम्दानी चाही कम हुँदै गर्दा जुध्नको लागि धेरै कुराहरु समालेर अगाडि बढ्न जरुरी छ । हामीले समग्ररुपमा पनि हेर्नुपर्ने हुन्छ । शिक्षालाई व्यापारीकरण होइन । शिक्षालाई एउटा जीविकोपार्जनको रुपमा अगाडि बढाउनको लागि सामुदायिक क्याम्पसहरुलाई पुर्नजागृत र चलाउनको लागि सरकारले पनि केही सहयोग दिन जरुरी छ ।

प्रश्न : सामुदायिक क्याम्पसका सञ्चालन र प्रशासकहरुले विद्यार्थी संगठनले धेरै नै दुःख दिए । काम गर्न गाहे भयो भन्नुहुन्छ । अनावश्यक तनाव दिए भन्नुहुन्छ । के नेविसंघले तनाव दिएकै हो त ?

तनाव दिए जस्तो त लाग्दैन । होला काम गर्दै गर्दा विद्यार्थी एउटा चेतनशिल पुलिस पनि हो । चेतनशिल आगो पनि हो । विद्यार्थी उर्जाशिल हुन्छ । उर्जाशिल व्यक्तिले कुनै आवेशमा केही गलत कुरा पनि गर्न सक्छ । यसै पनि कलेज पठ्ने विद्यार्थी भनेको युवा उमेरको हुन्छ । त्यो सँगै नेतृत्वले पनि केही कुरा गरिराखेको हुन्छ । कतिपय क्याम्पसका प्रशासकले आफ्नो कुराहरु राजनीतिक रुपबाट राखेका हुन्छन् । कतै केही समस्या आउँछ । तर, जहाँ समस्या आउँदैन त्यहाँ समाधान कहिले पनि हुँदैन । समस्यालाई समाधधानको रुपमा लिएर त्यसलाई व्यवस्थापन गर्न सकियो भने त्यो समस्या होइन । विद्यार्थी संगठनको बीचमा हुने कुराहरु, विद्यार्थी आन्दोलनबाट प्राप्त र सरकारसँग भएको सहकार्यलाई क्याम्पस प्रशासनले लत्याउन खोज्यो । त्यसलाई त्यागेर विद्यार्थीलाई पेलेर जान खोजेको भएर पनि त्यस्तो समस्या आएको हुन सक्छ ।

प्रश्न : चितवनमा नेविसंघको महाधिवेशन हुन सकेको छैन । नेविसंघको व्यवस्थापन र समितिको पुर्नगठन निकै कठिन भन्ने पनि आइरहेको छ । के हो नेविसंघको समस्या चितवनमा ?

हामी लामो समयदेखि नेविसंघसँगै त्यही कुरामा लड्दै आइरहेका छौं । विधि प्रक्रियामा नेपाल विद्यार्थी संघ चल्नुपर्ने थियो । यसलाई नेपाल विद्यार्थी संघले अगाडि लानुपर्ने थियो । यसलाई लान नसक्नुमा व्यक्तिको केही आचरणले गर्दा खेरी र उसको कार्यशैलीले गुटगत राजनीतिले गर्दा मलाई लाग्छ नेपाल विद्यार्थी संघ चितवन आजसम्म टुंगिन नसकेको हो । नेपालको विवादित जिल्ला मध्येको चितवन जिल्ला एउटा विवादित जिल्ला हो । यस मध्येमा केही क्याम्पसहरु पनि विवादित छन् । स्पष्ट हामीले बोल्नुपर्छ चितवन विवादित छ । यसलाई समयअनुकुल छिट्टै नै राजिव दाई अहिले राष्ट्रिय अध्यक्ष हुनु भएको छ । उहाँको भन्दा अगाडि नैनसिंह दाईको पालमा त केही भएन । मलाई लाग्छ राजिव दाईको पालामा समाधान भएर कुनै एउटा नयाँ नेतृत्व जसले विधि प्रक्रियालाई एकै ठाउँमा राखेर नेपाल विद्यार्थी संघलाई चलायमान बनाउन सक्छ । त्यसले पार्टीको नर्सरीलाई फेरि पुर्नउत्पादन र पुर्नवृद्धि गर्न तिर अहिलेको नेतृत्व लाग्छ भन्ने मलाई विश्वास छ ।

प्रश्न : अहिलेको नयाँ पुस्तामा राजनीतिक विकर्षण बढ्दै गएको छ । नेविसंघप्रति नयाँ युवा पुस्ताको आकर्षण कस्तो छ अहिले ?

यो सबै गलत कुरा हो । विद्यार्थीहरु युवा प्रतिनिधिहरु राजनीति प्रति वितृष्णा होइन । गलत क्रियाकलापको विपक्षमा हुन् । म आफै पनि एउटा युवा भएको कारणले विपक्षमा आफ्नो कुराहरु राख्नु स्वभाविक नै हो । युवाहरु राजनीतिमा आकर्षित छन् । कसले कस्तो अभियान निकाल्छ । युवा भनेको पढेलेखेको पुस्ता हुन् । एउटा विचारलाई आदर्श मानेर अगाडि जाने हो । नेताहरुले आफूले बोलेको कुरालाई दर्शन बनाउँदै हुनुहुन्छ । उहाँहरुले मान्दै आएको सिद्धान्तलाई व्यक्तिवादी बनाइदिनुभयो । सामाजिकरुपमा सबैले स्विकारेको सिद्धान्तलाई व्यक्तिवादी बनाइदिएको कारणले गर्दा तपाइँले भनेको समस्या युवाहरुमा आएको हो ।

प्रश्न : कांग्रेसमा युवाहरुले मौका पाएनन् भन्ने पनि सुनिन्छ । के छ तपाइँको विचार ?

पहिलो पुस्ता सबैमा त्यही समस्या हो । नेपाली कांग्रेस मात्र होइन । केही समयअघिको नेकपा अहिलेको एमाले, माओवादी, समाजवादीदेखि लिएर नेपाली कांग्रेसलगायत नेपालमा भएका धेरै दलहरुमा पहिलो पुस्ता कुनै पनि युवा पुस्ता हुनुहुन्न । उहाँहरुले नेतृत्व पनि युवा पुस्तामा हस्तान्तरण गर्न चाहनुहुन्न । युवा पुस्ताले पनि उहाँहरुको विरोधमा उत्रिएर सबै कुरा आफूसँग नै राखेर पार्टीको व्यवस्थापन गर्दै सबैको समायोजन गर्ने कुरामा चुक्नु भएको छ । हाम्रो दाइहरु ती कुराहरुमा चुकेको हो कि भन्ने मलाई अनुभूति हुन्छ ।

प्रश्न : तपाइँको भावी राजनीति वा अबको यात्रा कता हुन्छ ?

अब राजनीति त एउटा सिकाइ प्रक्रिया हो मैले बुझेको । जे सिक्दै छु क्रमैसँग योग्यता र क्षमता बन्दै जाने प्रक्रिया हो । विकास प्रक्रिया भन्ने कुरा जन्मदैदेखि मानिस एउटा मुठी बाँधेर जन्मेको हुन्छ । जाँदै गर्दा मृत्युमा मुठी खोलेर जान्छ । त्यो सँगसँगै मेरो पनि एउटा राजनीति प्रक्रियामा एउटा कलेजमा नेतृत्व सम्हाल्दै एउटा स्ववियु सभापतिको उम्मेदवार भएर छाडियो । त्यो स्वभाविक प्रक्रिया हो यो भन्दा माथिल्लो पदमा मेरो दाबी रहन्छ । चुनाव लडिन्छ विधि, प्रक्रियामा नै अगाडि बढिन्छ । यसलाई पनि अन्यथा लिनु हुँदैन ।

प्रश्न : अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामीले युवा पुस्तालाई खाली आन्दोलनको लागि परिचालन मात्र होइन । उसलाई सही बाटोमा ल्याएर उसको श्रमलाई सही सदुपयोग गर्ने कुरामा पनि अग्रसर हुनुपर्छ । त्यो सँगसँगै केही सिद्धान्त विचारहरुमा रहेर एउटा वैचारिक द्वन्द्व गर्ने कुरा स्वभाविक कुरा हो । अबको आन्दोलन भनेको चाही खाली सडकमा जाने युवा जनशक्तिलाई भिडाउने, भिडिसकेपछि प्रतिफल चाहीँ पहिलो पुस्ताले नै लाने । दोस्रो पुस्ता पछाडि हट्ने भन्दा पनि युवा श्रम, युवा चेतनालाई सदुपयोग गर्न सकियो भने पक्कै पनि केही परिवर्तन आउँछ । सकारात्मक पक्षहरुमा हाम्रो विकास हुन सक्छ । त्यसले समग्र हितको लागि अगाडि बढ्न सक्छ भन्ने सोचेर केही ज्ञान लिएर अगाडि बढ्यो भने सकारात्मक पक्षहरुलाई सधैभरी उर्जाशिल बनाउन सकिन्छ ।

धन्यवाद

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका