जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा पहिलो पटक मल्चिङ प्रविधिद्वारा प्याज खेती, उत्पादन दोब्बरले बढ्ने संकेत

चितवनमा पहिलो पटक मल्चिङ प्रविधिद्वारा प्याज खेती, उत्पादन दोब्बरले बढ्ने संकेत

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, फागनु २५-
चितवनमा पहिलो पटक मल्चिङ प्रविधिद्वारा प्याज खेती गरिएको छ । भरतपुर महानगरपालिका–६ गितानगरमा अमर उन्नत कृषक समूहमा आवद्ध किसानहरुले मल्चिङ प्रविधिबाट प्याज खेती थालेका हुन् ।

कृषक समूहका अध्यक्ष एवम् प्याज खेती गर्नेमध्येका एक रमाकान्त रिमालले तीन जनाले ५/५ कठ्ठामा मल्चिङ प्रविधिबाट र एक जनाले ५ कठ्ठामा साधारण तरिकाले प्याज खेती गरेको जानकारी दिए । उत्पादन कस्तो दिन्छ भनेर तुलनात्मक रुपमा परीक्षण गर्नका लागि दुबै तरिकाबाट प्याज खेती गरिएको रिमाल बताउँछन् । मल्चिङ विधिबाट प्याज खेत गर्नेहरुमा रिमालसहित इन्दु न्यौपाने, रामचन्द्र जर्मकट्टेल रहेका छन् भने साधारण विधिबाट गर्नेमा रुद्र पौडेल रहेका छन् ।

मल्चिङ प्रविधिबाट रोपिएको प्याजका बिरुवा साधारण तरिकाले रोपिएको भन्दा राम्रो भएको उनले बताए । ‘बिरुवाको अवस्थालाई हेरेरभन्दा दोब्बरले नै उत्पादन होला जस्तो देखिन्छ । तर अब फल भने कस्तो लाग्छ हेर्न बाँकी छ’ रिमालले भने ।

मल्चिङ प्रविधिबाट प्याज खेती गर्दा हालसम्म साँढे दुई लाख रुपैयाँ खर्च भइसकेको रिमाल बताउँछन् । ‘प्याज फल्ने बेलासम्म १५ कठ्ठामा ३ लाख लागत भेट्छ होला’ उनले भने । कृषि ज्ञान केन्द्र, चितवनको प्राविधिक सहयोगमा प्याज खेती थालिएको बताउँदै रिमालले अनुदान पनि माग गरिएको बताए । ‘हामीले दुई वटा प्लटमा प्याज खेती गरेका छौं । एउटा प्लटमा १० कठ्ठा छ । ज्ञान केन्द्रले प्रति प्लट ४८ हजार जति अनुदान दिने भनेको छ’ रिमालले भने ।

साधारण तरिकाबाट प्याज खेती गर्दा पहिलेदेखि गर्दै आइएको चलनअनुसार नै सम्मो जग्गामा गरिन्छ । मल्चिङ्ग प्रविधिबाट गर्दा ड्याङ बनाइन्छ र डयाङ् माथि मल्चिङ प्लाष्टिक बिछ्याइन्छ । अनि त्यसमा प्वाल पारेर प्याजको बिरुवा लगाइन्छ । बिरुवा आफैले नर्सरी गरेर उत्पादन गरेको रिमालले जानकारी दिए ।

चितवनसहित समग्र देशलाई आत्मनिर्भर बनाउन सकिन्छ की भनेर आफूहरुले प्याज खेतीको विस्तारको योजनासहित काम गरिरहेको उनले बताए । ‘भारतबाट बर्सेनि अरबौंको प्याज भित्रिन्छ । प्रत्येक किसानले आफ्नो करेसाबारीमा कम्तिमा ७३० वटा बिरुवा लगाए पनि भारतबाट प्याज आउन रोकिन्छ’ उनले भने, ‘लसुनप्याज जस्तो चिज पनि विदेशबाट ल्याउन परेछ । यो दुखःद छ । धाराको पानी जाने ठाउँमा लगाए पनि हुने चिज हुन् यी ।’ ७ महिना अघि गठित अमर कृषक समूहमा आवद्ध ७० सदस्यहरुले ९६ विघा जग्गालाई कृषि पकेट क्षेत्र बनाएका छन् । सो पकेट क्षेत्रमा जो कोही पनि आएर खेत गर्न पाउने अध्यक्ष रिमालले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले चितवनमा मल्चिङ प्रविधिबाट व्यावसायिक प्याज खेती गर्नेमा अमर कृषक समूहमा आवद्ध किसानहरु नै भएको पुष्टि गरिन् । किसानहरुलाई प्रोत्साहित गर्दै चितवनको कृषि विकासमा लागिरहेको बताउँदै त्रिपाठीले नियमानुसार सबैलाई अनुदान दिने बताइन् । प्याज खेतीको ज्ञान केन्द्रले अवलोकन गरिसकेको बताउँदै उनले अनुदान प्रक्रिया अगाडि बढाइएको जनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका