होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • तनहुँको म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय

तनहुँको म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय

तनहुँ,फागुन १८-

तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गर्नुभयो ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताउनुभयो । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । “अब वडावडामा लगत सङ्कलनका लागि सङ्कलनकर्ता खटाउँछौँ”, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।

साथै आयोगका तर्फबाट आज नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क सङ्कलनकर्ता गरी ८० जनाको सहभागिता छ । तालीममा भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि फारम भर्ने तरिका सिकाइने आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जानकारी दिनुभयो ।

आयोगका अनुसार जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत सङ्कलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा कार्यक्रम हुन बाँकी छ ।

सचेतना जगाउन मोबाइलमा ‘अलर्ट म्यासेज’

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको स्थानीय तह हो तनहुँको भानु नगरपालिका । पछिल्लो साढे दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट तनहुँमा दशजना बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ६ जना भानु नगरपालिकाका छन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण जिल्लामा चितुवाको आतङ्क बढ्दो छ । चितुवाको बढ्दो आक्रमण न्यूनीकरण गर्न डिभिजन वन कार्यालय तनहुँले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा कार्यालयले भानुका सर्वसाधारणको मोबाइलमा सन्देशमूलक सन्देश पठाउने व्यवस्था शुरु गर्ने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा त्यस क्षेत्रका सर्वसाधारणका मोबाइलमा चितुवाको आक्रमणबाट बच्ने उपाय जानकारी दिन उक्त व्यवस्था गर्न लागिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । “सामुदायिक वनमा पोखरी बनाउन अनुदान पनि दिएका छाँै, आर्थिक स्रोत सबल भएका वनले आफैँ पनि पोखरी बनाएका छन्”, उहाँले भन्नुभयो, “घर वरपर झाडी, रातको समयमा अन्धकार हुँदा चितुवाको आक्रमण बढेकाले त्यसतर्फ पनि सचेतना जगाइएको छ ।”

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायत विषयमा उपभोक्तालाई जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”जङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।

कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्नेलगायत विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराएको छ । “पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजीकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ”, उहाँले भन्नुभयो ।

काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसेमैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बूढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।

पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा दशजना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दिपुरलगायत ठाउँमा दश वर्षभन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । डिभिजन वन कार्यालय तनहुँले खोरमा नियन्त्रणमा लिएर ११ वटा चितुवालाई अन्यत्र स्थानान्तरण पनि गरिसकेको छ ।

भानु नगरपालिकामा मात्रै १५ भन्दा बढी चितुवा रहेको अनुमान छ । भानुका जङ्गलमा चितुवा गणनाका लागि क्यामरा जडान गरिएको थियो । यद्यपि उक्त अध्ययनको आधिकारिक नतिजा सार्वजनिक नभए पनि १५ भन्दा बढी चितुवा भानुमा रहेको अनुमान छ । २२ सामुदायिक वनको चार हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो ।

कार्यालयले वन्यजन्तु संरक्षणमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । पृथ्वीमा रहेका हरेक वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेकाले वन्यजन्तुको संरक्षण गर्नुपर्ने डिभिजन वन प्रमुख काफ्लेले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका