



चितवन, फागुन १४–
बुटवल उपमहानगरपालिका भेटेरान बुटवल र कालभैरव भेटेरान हेटौंडा चितवनको भरतपुरमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको उपाधीका लागि भिड्ने भएका छन् । आज (शुक्रबार) सम्पन्न सेमिफाइनलमा जित हात पार्दै बुटवल र हेटौंडाले उपाधी भिडन्त पक्का गरेका हुन् ।
भरतपुर–७ स्थित कृष्णपुर खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा बुटवलले कैलाली भेटेरानलाई २–० ले पराजित गर्यो । खेलको ३६ औं मिनेटमा बुटवलले उपहार गोलबाट अग्रता लियो । कैलालीका बिजय श्रेष्ठ बल क्लियर गर्न खोज्दा आत्माघाती गोल गर्न पुगे । लगत्तै खेलको ३७ औं मिनेटमा बुटवलले अग्रता दोब्बर बनायो । भरत कुँवरले गोल गर्दै बुटवललाई २–० को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र बुटवल २–० ले बिजयी भयो ।
आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चावहिल भेटेरान काठमाडौंलाई पराजित गर्दै कालभैरव भेटेरान हेटौंडा फाइनलमा प्रवेश गरेको छ । चावहिललाई २–० ले पराजित गर्दै हेटौंडाले बुटवलसँगको उपाधी भिडन्त पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा हेटौंडालाई जिताउन नरेश थापाले खेलको १० औं तथा कप्तान कृष्ण मलाकारले खेलको ३० औं मिनेटमा गोल गरे । चावहिलले खेलमा फर्कन केही सुन्दर अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
प्रतियोगिता फाइनल खेल भोलि (शनिबार) दिउँसो २ बजे हुनेछ । चितवन भेटेरान क्लबले आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको प्राप्त गर्नेछन् ।