जोडिनुहोस
  • होमपेज
  • भरतपुर अस्पतालको ढिलासुस्तीले चितवनमा वर्डफ्लु फैलने खतरा

भरतपुर अस्पतालको ढिलासुस्तीले चितवनमा वर्डफ्लु फैलने खतरा

चितवन, फागुन १४–

काठमाडौंमा वर्डफ्लुको संक्रमण फैलंदै गएको छ । पोल्ट्री क्षेत्रको राजधानी मानिने चितवनमा पनि यसको संक्रमण नआउला भन्न सकिंदैन ।

तर रोग जाँच गर्ने चितवनको पन्छी रोग प्रयोगशालालाई कोभिड–१९ प्रयोगशाला बनाउँदा समस्या सिर्जना हुने देखिएको छ । वर्डफ्लु फैलन खतरा अझै बढ्दो छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न थालिएको १० महिना भइसक्यो । २०७६ साल चैत २३ गतेदेखि भरतपुर अस्पतालले सो प्रयोगशालामा कोभिड–१९ परीक्षण गर्दै आएको छ । तीन महिनाका लागिमात्र भनेर भरतपुर अस्पताललाई उक्त प्रयोगशाला दिइएको थियो । तीन महिनाको समाप्तिपछि असारमा मंसिर मसान्तसम्मका लागि भनेर म्याद थपिएको थियो । त्यसपछि यता म्याद थपिएको छैन । तर, कोभिड प्रयोगशाला सञ्चालित छ । भरतपुर अस्तापलले प्रयोगशाला अन्यत्र सार्न नसक्दा जसको प्रभाव पोल्ट्री क्षेत्र र जनस्वास्थ्यमा परेको छ ।

पन्छीरोग अन्वेषण प्रयोगशालाका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा चेतनारायण खरेलले कोभिड प्रयोगशाला नसर्दा पोल्ट्री क्षेत्र र जनस्वास्थ्यमा गम्भीर असर हुने बताए । कोभिड प्रयोगशालाले ५० प्रतिशत ठाउँ ओगटेको बताउँदै उनले ५० प्रतिशत पन्छी रोगको परीक्षण गर्न नपाइएको बताए । सबै पोल्ट्री किसानलाई सेवा दिन नसकिएको बताउँदै उनले परीक्षणका लागि काठमाडौं पठाउनु परेको बताए । पन्छीमा सबै किसिमका सम्भावित रोगको परीक्षण गर्न नसकिएको उनी बताउँछन् । कुखुरामा केही रोग लागेको छ वा छैन भनेर परीक्षण गर्न नपाउँदा यसले आर्थिक र जनस्वास्थ्य दुवै क्षेत्रमा असर पार्ने डा खरेलको भनाइ छ । उनले भने ‘हामी मासुको गुणस्तरीय र स्वस्थतामा ढुक्क हुन सकेका छैनौं । स्वस्थ मासु छ खानुस्, भनेर उपभोक्तालाई भन्न सक्ने अवस्थामा छैनौं ।’

‘रोगको समयमा पहिचान गरी समस्या सामाधान गर्न नसके एकै पटक कुखुरा, हाँसलगायतका पन्छी मरेर ठूलो क्षति हुनसक्छ’ उनले भने ‘यस्तै रोग मान्छेमा सर्न सक्छ । अण्डा मासु अस्वस्थ हुन सक्छ । त्यसैले उपभोक्ता हित र जनस्वास्थ्यमा पनि असर परेको छ ।’ रोगको पहिचान गरी समयमा पूर्वतयारी गर्ने अवस्था पनि नरहेको उनी बताउँछन् ।

अहिले वर्डफ्लु फैलन समयमा भएकाले यस्तो अवस्थामा पन्छीको ल्याबमा कोभिड ल्याब हुँदा वर्डफ्लु समस्या समाधनमा समस्या देखिने खरेलले बताए । ‘कोेभिडका बेला आपतकालिन अवस्थामा तत्कालै प्रयोगशाला आवश्यक परेकाले हामीले उपलब्ध गराएका हौं’ उनले भने ‘अहिले हामीलाई नै समस्या परेको छ । हामीलाई नै ठाउँ पर्याप्त छैन ।’

भरतपुर अस्पताललाई पटकपटक आग्रह गर्दा पनि सार्ने आश्वासन मात्र दिएर पठाउने गरेको खरेल बताउँछन् । ‘पछिल्लो पटक हिजोमात्र भरतपुर अस्पतालका मेसुलाई भेट्न गएको थिएँ । नयाँ हुनुहुँदो रहेछ । मलाई त केही थाहा छैन भन्दै हुनुहुन्थ्यो । मेशिन नआएर हो आएसी सार्ने हो भनेर पठाउनु भयो’ उनले भने ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वासुदेव पाण्डेले आफू मेसुमा एक हप्ता अगाडि नियुक्त भएको बताउँदै धेरै कुरा बुझ्न बाँकी रहेको प्रतिक्रिया दिए । भरतपुर अस्पतालमा मेसु धेरै समय नटिक्ने भएका कारण पनि विभिन्न समस्याहरु सिर्जना हुने गरेका छन् ।
भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भोजराज अधिकारीले भरतपुर अस्तापलभित्रै प्रयोगशाला बनिसकेको बताए । अब सेफ्टी क्याबिनेटको आवश्यकता रहेको उनले बताए । जसका लागि खरिद प्रक्रिया सुरु गरी टेण्डर भइसकेको उनले जनाए । ‘सरकारी खरिद प्रक्रिया नै ढिला हुने भएकाले काममा ढिला भएको हो, उनले दोष सरकारी प्रक्रियालाई देखाउँदै भने ‘अब को दुई हप्ताभित्र सेफ्टी क्याबिनेट तयार गर्ने भनेर टेण्डर भएको छ । भने अनुसार भएमा दुई हप्तामा सारिन्छ ।’ तर यसअघि (दुई महिना अघि) पनि भरतपुर अस्पतालले नारायणी अनलाइनसँग छिट्टै सारिने प्रतिक्रिया दिएको थियो ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट ‘श्वामी कृष्ण आनन्द भारती’ ले भरतपुर अस्पतालले अटेर गरिरहेको बताए । कोभिड प्रयोगशाला तुरुन्त सार्न पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरी भरतपुर अस्पतालले हेपाहा प्रवित्ति देखाइरहेको श्वामी बताउँछन् । ‘त्यतिबेला आपतकालिन अवस्थामा काम चलाउनका लागि भनेर तीन महिनाका लागि ठाउँ दियौं । अहिले पोल्ट्री क्षेत्रमा नै आपतकालिन अवस्था आउन लागि सक्यो । वर्डफ्लु फैलने डर भै सक्यो’ उनले भने ‘ठाउँठाउँबाट स्याम्पल ल्याएर परीक्षण गर्नुपर्ने हुन्छ । त्यो गर्न सकेका छैनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका