होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • ‘जसलाई पशुपतिमा भाकेर जन्माए उसैले घरबाट निकालिदियो’

‘जसलाई पशुपतिमा भाकेर जन्माए उसैले घरबाट निकालिदियो’

मनिका विश्वकर्मा,

चितवन, फागुन १४ –

छोरा जन्मियोस् भनेर पार्वतीले पशुपतिमा भाकल गरेकी थिइन् । छोरा त जन्मियो तर छोराबुहारीले पार्वतीलाई घरबाट निकालिदिए । उनै पार्वती अहिले पशुपतिमा भाकल बुझाउन चितवनको नारायणगढमा भिक्षा माग्दै हिँडेकी छिन् ।

भारतको बनारस भन्ने ठाँउमा पार्वती र उनका परिवार खुशीका साथ बस्थे । पार्वतीको पहिलो सन्तान छोरी भइन् । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी पार्वतीले लगातार पाँच जना छोरीको जन्म दिइन् ।

छोराको लागि भनेर उनीहरुले काठमाडौँको पशुपतिनाथमा भाकल राखेका थिए । त्यसपछि उनको दुई छोरा जन्मिए । छोराछोरी दुवैलाई उनीहरुले दुखसुखले हुर्काए । त्यसपछि सबै छोराछोरीको बिहेदान गरिदिएको भन्दै पार्वतीले भनिन्, ‘श्रीमान्को पनि छोराहरुको बिहे भएपछि निधन भयो । त्यसपछि छोराबुहारीहरुले मलाई घरबाट निकालिदिए ।’

पार्वतीको श्रीमान्को क्यान्सर रोग लागेर उपचारको क्रममा निधन भएको थियो । श्रीमान्को निधन भएपछि उनको जीवन दुखमा मोडियो । समाजले पनि मेरो पक्षमा केही बोलेनन् पार्वती सम्झिदै भन्छिन्, ‘श्रीमान्को निधनले यसै त शोकमा परेको थिएँ । छोराहरुले पनि मलाई निकालिदिए । मागेर खा भनेर मलाई निकाले ।’ त्यसपछि उनले नेपाल जाने रेल समातेर नेपाल आइन् । उनी भन्छिन्, ‘मर्नुभन्दा अगाडि छोरा जन्मिएकोमा पशुपतिनाथलाई धन्यवाद दिनुछ । छोराको आयुको लागि भगवानलाई पुकार गर्नुछ ।’

कपाल फुलेर सेता भइसकेका छन् पार्वतीको । निधारमा सेतो र पहेँलो धर्साको चन्दन सिधा तानेकी र आँखीभौका रौँहरु पनि फुलेर सेतै भइसकेकी पार्वती नेपाल झरेको पाँच दिन भयो । आँखामा सेतो चस्मा लगाएकी पार्वती अहिले नवलपुरको कावासोती स्थित चौराहा भन्ने ठाँउमा बस्छिन् ।

नारायणगढको गल्ली–गल्लीका घर, होटेलहरुमा एउटा कमण्डलुमा पैसा, फलफूल, चामल, के के दिन्छन् त्यही भिक्षा लिएर उनी बेलुका चार बजे कावासोतीको बस समातेर फर्किन्छिन् । टाउकोमा राधे राधे लेखिएका पिताम्बर ओडेर उनी बिहान कावासोतीबाट चितवन आउने बसमा आउँन्छिन् । उमेरले ६५ वर्ष भएकी पार्वतीलाई अब पैसा जम्मा गरेर पशुपतिनाथ दर्शन गर्ने बडो इच्छा छ ।

कुनै पनि हालतमा पशुपतिनाथ दर्शन गर्ने उनले बताईन् । ‘छोराहरुले जे गरे पनि उनीहरुको खराब बानीले गरे तर उनीहरुको म भलो नै चिताउँछु’ उनले भनिन् । घरपरिवार त्यागेर नै हिँडेको उनले बताइन् । उनको दिनभरीको कमाईले बसभाडा र खाजा खर्च गरेर एक डेढ सय रुपैयाँ बचत हुन्छ ।

केही महिनापछि पैसा सबै जुटाएर काठमाडौँको पशुपतिनाथ दर्शन गर्न जाने उनले बताइन् । आफू अब सन्यासी जीवनतिर फर्किएको उनले बताइन् । उनी जस्तै कावासोतीबाट ६ जना महिलाहरु भिक्षा माग्न नारायणगढ आउँछन् ।

भिक्षा माग्न आफ्नो रहर नभई बाध्यता रहेको उनले सुनाइन् । सबैको फरक फरक दुख समस्या हुने उनको भनाइ छ । आफ्नो पाखुरा चलुञ्जेल यसरी नै जीवनयापन गर्ने उनले बताइन् । छोराहरु भएको ठाँउमा अब कहिल्यै फर्किएर नजाने उनको निधो रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका