होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • ‘आँखा देख्नै बित्तिकै आमालाई हेर्ने मन छ’

‘आँखा देख्नै बित्तिकै आमालाई हेर्ने मन छ’

मनिका विश्वकर्मा

चितवन, फागुन १३ –

एकछिन हामी आँखा बन्द गरेर बस्नुपर्दा हामी आत्तिन्छौँ । एक ठाउँबाट अर्को ठाँउमा पनि जान सक्दैनौँ । बाहिरी संसारको रमझम हेर्ने माध्यम नै आँखा हो । तर, दुर्भाग्य भनौँ कोहीले भने बाहिरी संसार कस्तो छ भनेर हेर्ने अवसर पनि पाएका हुँदैनन् । जन्मेदेखि आँखा देख्न नसकेर संसारलाई अनुभव गरेर, सुँघेर, छोएर अन्तरदृष्टि मार्फत् बुझ्न बाध्य व्यक्तिको नाम हो जित बहादुर तिरुवा ।

जित भन्छन्, ‘आँखा देख्ने बित्तिकै मेरो जन्मदिने आमाको मुहार हेर्छु । आमालाई नै पहिले हेर्छु ।’ उनी अहिले चितवनको भरतपुरमा आफू जस्तै साथीसँग कोठाभाडामा बस्छन् । चितवनमा आउनु उनको छुट्टै वेदना लुकेको छ । धनगढीको फूलबारी भन्ने ठाउँमा जन्म भएको हो जितबहादुरको । उनी सम्झिँदै भन्छन्, ‘आमाले भन्नुहुन्थ्यो म माइलो सन्तान हो रे । छोरा भएकोमा सबै खुसी हुनुहुन्थ्यो । तर, मैले आँखा नदेख्ने भन्ने थाहा भएपछि सबै निराश भएका थिए रे ।’

उनका तीन भाई र एक बहिनी रहेका छन् उनी भन्छन्, ‘आमाले नै मेरो हेरचाह गर्नुहुन्थ्यो । मलाई खाना खुवाउनेदेखि लिएर सबै स्याहारसुसार आमाले गरिदिनु हुन्थ्यो ।’ सानोमा उनलाई सबैले माया गर्थे । जब उनको उमेर पनि बढ्दै गयो यी माया, साथ, सहयोग पनि घट्दै गयो । परिवारमा उनकै कारणले कहिलेकाहीँ मनमुटाब हुन थाल्यो । उनी सुनाउँछन्, ‘परिवारमा धेरै सन्तानहरु भएकोले पनि आर्थिक भार उठाउन आमाबाबुलाई गाह्रो हुन थाल्यो । यसैको कारण मैले पनि पढ्न पाइनँ । मलाई पनि केही गर्नुपर्छ जस्तो लाग्यो ।’

त्यसपछि उनका भाइबहिनीहरुको पनि बिहे भयो । उनका परिवारको आम्दानीको स्रोत भनेको कृषि नै थियो । घरको मुली भनेकै उनको बुबा थिए । तर, बुबाको पनि विसं २०५७ सालमा निधन भएपछि उनलाई झन् धेरै सकस भयो । बुबाको निधन भएपछि उनको आमा शोकमा परिन् । उनलाई आफ्नो लागि पैसा जुटाउन पनि समस्या हुन थाल्यो । कहिले त उनी भोकै हुन्थे ।

उनी भन्छन्, ‘पढाई पनि नभएको कारण काम पाउन पनि मुस्किल भयो । काम नपाएपछि मैले गीत गाएर अलि अलि खर्च जुटाउन थालेँ ।’ सानैदेखि उनी लोकगीतहरु गुनगुनाउथे । पहिलो पटक उनी एउटा लठ्ठीको साहारामा काँधमा झोला बोकेर गाँउघरमा गीत सुनाउन पुग्थे । उनी भन्छन्, ‘मलाई गाउँले ओहो ! यसले पनि गीत गाउन थालेछ भनेर खिसी गर्थे । तर पनि मलाई पैसा चाहिएकोले त्यो कुराको मतलब गर्थिनँ । आफ्नै सुरमा गीत सुनाइदिन्थेँ । पहिले पहिले त गीत गाएर जम्मा ३० रुपैयाँ आम्दानी हुने गर्दथ्यो ।’

पानी, धुलो, हावाहुरी, चट्टानको बीचमा पनि गाउँका घरमा उनी गीत सुनाउन पुग्थे । तर, कहिलै त दस रुपैयाँ लिएर उनी घर फर्किन्थे । उनले चितवनमा दृष्टिविहीनहरुको छुट्टै गीत गाउने ठाउँ रहेको भन्ने थाहा पाए । त्यसपछि उनी साथीसँग चितवन झरे । चितवनको भरतपुर अस्पताल अगाडि उनले अहिले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म गीत गाउँछन् । चितवन आएपछि उनको दैनिकी फेरिएको छ । उनी जस्तै तीन जना साथीहरुसँग भरतपुरको कटहर चोकमा मासिक चार हजार रुपैयाँ भाडा तिरेर कोठामा बसेका छन् जीतबहादुर ।

उमेरले ४४ वर्ष टेकेका तिरुवालाई पनि बिस्तारै बुढेसकालले पनि छुन थालिसक्यो । उनीहरु आफै खाना बनाउन सक्दैनन् । बिहान बेलुका होटलमा नै खाना खान्छन् उनीहरु । उनले गीत गाएर दिनमा हजारदेखि बाह्र सय रुपैयाँ कमाउँछन् । २०० रुपैयाँ अटो भाडा तिरेर उनी कोठासम्म पुग्छन् । कहिले त दिनभरी कमाएको रकम नै चोरी हुन्छ । उनी भन्छन्, ‘कहिलेकाँही गँजेडी केटाहरुले बाटोमा लुटपाट गर्छन् । हामीलाई बाँच्नै गाह्रो छ यो समाजमा ।’

उनी सुनाउँछन्, ‘अपाङ्गमैत्री वातावरण नहुँदा धेरै पटक बाटोमा लडिन्छ ।’ भरतपुर अस्पतालमा उपचार गर्न आउनेहरुले उनीहरुलाई गीत गाएवापत पैसा दिन्छन् । यसरी नै उनीहरुको दैनिकी चलिरहेको छ । उनी भन्छन्, ‘हामी यस्तो दृष्टिविहीनलाई सरकारले हेरिदिए हुन्थ्यो ।’ सरकारले अहिले उनलाई महिनाको १२ सय रुपैयाँ भत्ता दिने गरेको छ । उनलाई अपाङ्गता भएको भनेर निलो कार्ड दिइएको छ । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको मासिक भत्ता बढाइदिए राम्रो हुने उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका