




चितवन, फागुन १२–
चितवनको भरतपुरमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलमा आज (बुधबार) तीन खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा कैलाली भेटेरानले नवलपुर भेटेरानलाई टाइ ब्रेकरमा ५–३ ले पराजित गर्यो । कैलालीले टाइब्रेकरमा ५ गोल नै गर्दा नवलपुरले जम्मा ३ गोल गर्यो । त्यस अघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नवलपुरले लिएको थियो । पहिलो हाफको चौथो मिनेटमा नवराज बस्नेतले गोल गर्दै नवलपुरलाई अग्रता दिलाएका थिए ।
तर कैलालीले नवलपुरको अग्रता धेरै बेर टिक्न दिएन । नवौं मिनेटमा किशोर नेपालीले गोल गर्दै कैलालीलाई खेलमा फर्काए । पहिलो हाफमै कैलालीले अग्रता बनायो । १८ औं मिनेटमा मनु गौतमले गोल गरेपछि कैलाली २–१ को अग्रता लिन सफल भयो ।
पहिलो हाफमा पछि परेको नवलपुर दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफको १७ औं मिनेटमा हरि महतोले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जितसँगै कैलाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि कैलालीले अब घरेलु टोली चितवन भेटेरान रातोको सामना गर्नेछ । यसअघि उद्घाटन खेलमा जनकपुरमाथि १०–० को फराकिलो जित निकाल्दै चितवन रातोले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
यस्तै आजको दोस्रो खेलमा चितवन भेटेरान निलो बिजयी भएको छ । दोस्रो खेलको निर्णय पनि टाइब्रेकरबाट नै लिइेको हो । टाइब्रेकरमा चितवन निलोले सिमरा भेटेरानलाई ५–४ ले पराजित गर्यो । चितवनका गोलरक्षक बिष्णु दराईले सिमराको अन्तिम प्रहार रोकेपछि चितवन बिजयी भएको हो ।
त्यसअघि निर्धारित समयको गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फालेका थिए । चितवन निलोले अब सेमिफाइनल प्रवेशका लागि बुटवल भेटेरानको सामना गर्नेछ । आजको तेस्रो खेलमा कालभैरव हेटौंडाको प्राविधिक कारण सहभागी नभएपछि बुटवल वाकओभर पाउदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
उता भारतको देहरादुन भेटेरान र भनिमण्डल भेटेरान ललितपुरबीचको आजको चौथो तथा अन्तिम खेल टाइब्रेकरमा पुगेको अवस्थामा अध्याँरोका कारण भिजन कम भएपछि भोलिका लागि सारिएको छ । आयोजक, व्यवस्थापना कमिटी, रेफ्री र खेलाडीहरुको छलफलले टाइब्रेकर भोलिका लागि सार्ने निर्णय गरेको थियो ।
दुबै टिमले ३–३ पेनाल्टी प्रहार गरिसकेको अवस्थामा खेल स्थगित गरिएको प्रतियोगिता संयोजक वरुण बस्नेतले जानकारी दिए । भोलिको पहिलो खेल अघि टाइब्रेकर पुनः गराइने उनले बताए ।
प्रतियोगिता १४ गतेसम्म चल्नेछ । १४ टोलीको सहभागीता रहेको प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो नेपालको ईतिहासमा भेटेरान कपको सर्वाधिक धनराशी हो । पहिलो संस्करणमा बिजेतालाई १ लाख ११ हजार १११ तथा उपबिजेतालाई ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशी थियो । यस वर्ष पुरस्कार राशी बढाइएको छ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।