होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कौसी खेतीमा रमाएकी भरतपुरकी तुलसी

कौसी खेतीमा रमाएकी भरतपुरकी तुलसी

चितवन फागुन ११-

शहरबजारमा धेरैको गुनासो हुन्छ, बजारमा दैनिक तरकारी किनेर खान पनि महँगो हुने गरेको छ । कतिको त तरकारी बाली लगाउन आफ्नो करेसाबारी हुँदैन, करेसाबारी भएपनि मल कहाँबाट ल्याउनु । भरतपुर १० की तुलसी ज्ञवालीलाई पनि सुरुसुरुमा यस्तै लाग्ने गर्दथ्यो । १० धुर जमिनमा बनेको एकतले घरमात्रै थियो उनको ।  तरकारी लगाउने जग्गा थिएन । घर भान्छाबाट निस्कने फोहोर फाल्ने ठाउँ थिएन । महानगरपालिकाले फोहोर उठाउँदैनथ्यो ।

तुलसीले फोहोर व्यवस्थापन गर्दै आफैले तरकारी उत्पादन गर्ने उपाय लगाइन् कौसी खेतीको । भरतपुर–१० स्याउलीबजारमा छ तुलसीको घर । बाटोबाटै हरियाली देखिने उनको घरवरिपरी तथा कौसीमा तरकारी लटरम्म फलेका छन् । ब्रोकाउली, फूल गोभी, भेण्टा, साग, प्याज, लसुन, धनियालगायतका सबै मौसमअनुसारका तरकारीहरुले तुलसीको घरको छत नै भरिएको छ ।

——

कुरा आजभन्दा १८ वर्ष अगाडिको हो । तुलसीलाई आफ्नो नयाँ घरमा प्रवेशको पहिलो दिननै फोहोर व्यवस्थापनमा समस्या भएको रहेछ । उनी भन्छिन्, ‘एकदिन घरको फोहोर प्लाष्टिकमा पोको पारेर नगरपालिकाबाट फोहोर बोक्न आउने गाडीको लागि बाटोमा लगेर राखिदिएँ । भोलिपल्ट त फोहोर बोकेर कुकुर आफ्नै घरको आगनमा आयो त्यो बेला आफ्नै विवेकप्रति लाज लाग्यो । अनि घरको फोहोर आफै व्यवस्थापनमा लागेँ ।’ सुरुमा घर बनाउँदा ल्याएको ड्रममा फोहोर संकलन गरिछन् तुलसीले । बिना तालिम फोहोर संकलन सुरु गरेकी उनले केही समयमै फोहोर गन्हाउन थाल्यो । पछि उनका श्रीमान्ले काठमाडौँबाट गड्यौला मगाएर राम्रोसँग मल बनाउन सिकिन् ।

त्यहि मलको प्रयोग गर्दै कौसीमा बाल्टिन, गमला लगायतमा तरकारी फूलहरु लगाइन् । लगाएको तीन महिनामा ढकमक्क फूल फलेको तथा तरकारी फलेको देख्दा दङ्ग परेको कुरा अहिले उनी खुशी हुँदै सुनाउँछिन् । पछि नगरपालिकाबाट तालिम लिइन् र रिङ कम्पोष्टिङबारे सिकिन् । अहिले उनी देश विदेशमा तरकारी खेतीको तालिम दिन र आफ्नो अनुभव साट्न पुग्ने गरेकी छिन् । यतिमात्रै होइन उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सम्मानित भइसकेकी छिन् । अहिलेपनि उनी कौसीमा तरकारी लगाउनमा आफुलाई रमाइलो लाग्ने बताउँछिन् ।

‘कौसीमा तरकारी, फूल देख्दा यस्सै मन रमाउँछ । आफ्नै कौसीको तरकारी दैनिक भान्छामा पाक्दा नै सबैभन्दा सन्तुष्ट महसुस हुन्छ ’ उनी आफ्नो अनुभव सुनाउँछिन् ।

मौसमअनुसारका तरकारी घरमै उत्पादन भएपछि तुलसीले बजारबाट तरकारी किन्दिनन् । फोहोरको गाडी कतिबेला आउला भन्ने चिन्ता पनि छैन उनलाई । कुहिने र नकुहिने फोहोर छुट्याएर जैविक फोहोरलाई मल बनाउँछिन् उनी । नकुहिने फोहोरलाई सजावटका सामान बनाउनुको साथै कवाडीमा पनि बेच्ने गरेको तुलसी सुनाउँछिन् । पछिल्लो समय धेरै हप्तासम्म लकडाउनमा बजार ठप्प हुँदा उनलाई कौसी खेतीले सबैभन्दा सजिलो भएको सुनाउँदै अहिले छुट्टै करेसाबारी नहुनेले पनि कौसी खेतीमा आर्कषित भएको उनी बताउँछिन् । कौसीखेतीकै लागि भनेर धेरै लगानी र परिश्रम नचाहिने तुलसीको तर्क छ ।

उनी भन्छिन्, ‘राम्रो बीउ र बिरुवा भयो भने मल आफ्नै घरको फोहोर भइहाल्छ बिहान बेलुका १० /१५ मिनेट समय दिँदा पनि हुन्छ ।’

 

सहरमा फोहोर व्यवस्थापनमा चुनौती थपिरहेको बेला उनी भने घरको फोहोर घरमै व्यवस्थापन गर्न सकेमा धेरै मात्रामा समाधान हुने बताउँछिन् । तुलसी भन्छिन्, ‘स्रोतको फोहोर स्रोतमा नै परिचालन गरेमा मात्र सहर सफा हुन्छ ।’ शहरमा धेरैले घरको फोहोर नगरपालिकाको गाडीमा पठाउँदैमा घर सफा भयो भन्ने मान्यता उनलाई चित्त पर्दैन । उनी भन्छिन्, ‘फोहोर फ्याँकेर अस्वस्थ शहर बनाउनुभन्दा मल बनाएर स्वस्थ तरकारी खानु बेस ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका