जोडिनुहोस

Banner

चितवन, फागुन ६

कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) न फुटेकाले आधिकारिकताको प्रश्न नउठ्ने बताएकी छन् ।

भरतपुरमा सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको एक नम्बरको अध्यक्ष हुनुहुन्छ । उहाँ भएको पार्टी नै आधिकारिक हो, उनले भनिन्, ‘हामीले भनेका छौं यो पार्टी नफुटोस् । सबैलाई मिलेर काम गर्न आग्रह गरेका छौं । तर, सँगै जान मन नभए उहाँहरु अर्काे पार्टी बनार जानु हुन्छ । यो पार्टी फुट्दैन ।’

केपी ओली दूरगामी नेता भएको बताउँदै अर्यालले ओलीले अगाडि सारेका प्रक्रियाहरु आजका दिनसम्म असफल नभएको बताउँदै अब पनि नहुने दाबी गरिन् । सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी काम गरिरहेको उनले बताइन् । चुनावको माहोल बनेपछि नेकपा पार्टी विवादको निरुपण हुनेमा आफू विश्वस्त रहेको अर्यालले बताइन् । ‘निर्वाचनको माहोल बनेपछि आयोगले पार्टी दर्ता र चुनाव चिन्ह हस्तान्तरणको प्रक्रिया अघि बढाउँछ । त्यही बेला नेकपाका बारेमा निर्णय हुन्छ’ उनले भनिन् ।

नेकपा गतिशिल पार्टी भएकाले आफूहरुले पार्टीका कामलाई अगाडि बढाइरहेको उनले बताइन् । पार्टीका काम छाडेर सडकमा जानेहरुको जिम्मेवारी हेरफेर मात्र गरिएको बताउँदै उनले अध्यक्ष ओलीले पार्टीबाट कसैलाई ननिकालेको बताइन् । फरक प्रसंगमा बोल्दै उनले विगतका समस्याबाट शिक्षा लिँदै किसानलाई मलको अभाव नहोस् भनेर सरकारले सचेतनापूर्वक सोचेर काम अगाडि बढाइरहेको बताइन् । ‘यो समय गहुँ छर्ने बेलामा मल अभाव भएन । अब असारको लागि चाँजो गरिसकेका छौं । अब धानको लागि मलको अभाव हुँदैन । हामीसँग केही स्टक छ । केही आउँछ’ उनले भनिन् । सरकारले मल कारखाना खोल्ने योजना अघि सारेका बताउँदै उनले आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने गरी काम भइरहेको बताइन् ।

यस्तै अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि  सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दा बढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने पत्रकारको प्रश्नमा मन्त्री अर्यालले आफू्को यसमा संलग्नता नरहेको बताएकी छन् । अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.