



चितवन, फागुन ४–
सुरेन्सु कोइराला भर्खर १३ वर्षका भए । यो कलिलो उमेरमै उनले एउटा सपना देखेका छन्, नेपाली क्रिकेटको कप्तान बन्दै नेपाललाई एकदिवसीय विश्वकप खेलाउने र नेपाललाई टेस्ट राष्ट्र पनि बनाउने । पछिल्लो समय नेपालमा देखिएको क्रिकेट क्रेजले सुरेन्सुलाई क्रिकेटको यात्रामा डोर्याएको छ । ठूलो लक्ष्य लिएका उनी अहिले भारतमा क्रिकेट सिक्दै छन् ।
सुरेन्सु भारको हरियाणामा रहेको वीरेन्द्र सहवागको विद्यालयमा क्रिकेटसंगै पढाइलाई अघि बढाई रहेका छन् । हाल कक्षा ८ मा अध्ययरत उनी एक वर्षअघि सो विद्यालयमा अध्ययन सुरु गरेका हुन् । एक वर्ष सोही ठाउँ बसेर पढेका उनी कोरोना भाइरसका कारण नेपाल फर्किएर अहिले अनलाइन कक्षाबाट आफ्नो पढाइ अगाडि बढाइ रहेका छन् । यही मौकामा उनले भर्खरै सम्पन्न १७औं संस्करणको चितवन च्याम्पियनसिप ट्रफी–२०७७ मा खेल्ने अवसर पाए ।

चितवन च्याम्पियनसिप ट्रफीमा व्याटिङ गर्दै सुरेन्सु
ग्लोबल इन्टरफेस इस्र्टन क्रिकेट एकेडेमीबाट खेलेका सुरेन्सुले आफ्नो छुट्टै प्रभाव छोड्न सफल भए । पहिलो खेलमै ३४ रन बनाएपछि अन्य खेलाडीहरु पनि उनको प्रतिभा देखेर चकित भए । भारतमा छोटो समयमा सिकेको प्रशिक्षणको प्रभाव उनको खेलमा प्रष्ट देखिन्थ्यो । ‘मैले सकेको खेले, अझै राम्रो गर्नेछु’–सुरेन्सुले सुनाए । १० वर्षको हुँदा देखिनै सुरेन्सुले नेपालमा क्रिकेट खेल्न थालेका थिए । काठमाडौंमा ओएसिस एकेडेमीबाट क्रिकेट सिक्न थालेपछि उनलाई थप क्रिकेट प्रति झुकाव भयो । भारतीय चर्चित क्रिकेटर राहुल द्रविडबाट प्रभावित उनी नेपालको उत्कृष्ट व्याट्सम्यान बन्न चाहन्छन् । उनको लक्ष्य यति मात्रै छैन । नेपाली क्रिकेटको कप्तान बनेर नेपाललाई एकदिवसीय विश्वकप खेलाउने उनको सपना छ । ‘नेपालको क्याप्टेन बनेर विश्वकप खेल्ने चाहना छ, मैले त्यसको लागि सक्दो प्रयास गर्नेछु’–सुरेन्सुले भने ।
छोरोको चाहना अनुरुप क्रिकेटर बनाउन पठाएः कोइराला
प्रहरी उपरीक्षक शान्तिराज कोइराला बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख हुन् । यीनै प्रहरी उपरीक्षक कोइरालाका सुपुत्र हुन् सुरेन्सु । हरेक अभिभावकको चाहना हुन्छ आफ्ना छोराछोरीले राम्रो पढुन्, डाक्टर, इन्जिनियर बनुन्, सरकारी जागिर खाउन् । तर कोइरालालाई आफ्नो छोरा एक सफल क्रिकेटर बनेको हेर्ने चाहना छ । छोराको इच्छा चाहना अनुसार नै आफूले क्रिकेटर बनाउन भारतमा पढ्ने व्यवस्था मिलाएको बताउँछन् । ‘बुवा आमालाई छोरो डाक्टर, इन्जिनियर बनोस् भन्ने चाहना हुन्छ नै, मेरो छोराको चाहना, झुकाव क्रिकेटप्रति नै भएकाले त्यतैतर्फ सहयोग गरिरहेको छु’–कोइरालाले भने ।
छोरोको पढाइ पनि राम्रो भएकाले पढाईसंगसंगै क्रिकेटलाई अघि बढाउन भारत पठाएको कोइराला बताउँछन् । भारतमा दिउँसोको समयमा सुरेन्सु विद्यालयमा अध्ययन गर्छन्, विहान र बेलुका क्रिकेट सिक्छन् । भारतीय चर्चित क्रिकेटर वीरेन्द्र सहवागको विद्यालय भएकाले त्यहाँ धेरै विद्यार्थी अध्ययन गर्छन् । धेरै विद्यार्थी भएको ठाउँमा चाहेजतिको समय सुरेन्सुले पाउन सकिरहेका छैनन् । जसका कारण उनलाई भारतकै अर्को उत्कृष्ट विद्यालयमा पढाउने चाहना उनको अभिभावकको छ ।
‘बच्चाको झुकाब अनुसार प्लेटफर्म दिने काम अभिभावकको हो, क्रिकेटतिरै झुकाव राखेकाले कस्तो खेल्छ हेरौं न भनेर भारत पढ्न पठाएको हुँ’–कोइरालाले सुनाए ।