



चितवन, फागुन ४–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबरजस्ती गरिने निर्वाचनले देश अराजकताको भूमरीमा फस्ने बताएका छन् ।
दाहाल–नेपाल समूह निकट प्रेस संगठन चितवनले आज (मंगलबार) विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले असंवैधानिक तवरले गरिने निर्वाचन पनि असंवैधानिक हुने भन्दै यसले देशलाई निकास दिनुको सट्टा झनै भड्खालोमा हाल्ने बताए । ‘बलजफ्ती निर्वाचन गर्न खोजे देश फेरि अराजकताको भूमरीमा फस्छ, त्यसकाविरुद्ध जनता आन्दोलनमा उत्रिन्छन्’–प्रचण्डले भने । निर्वाचनले देशमा थप अतिवाद फैलाउने भन्दै यसले द्धन्द्धको सिर्जना हुने बताए । उनले देशमा द्धन्द्धको अवस्था सिर्जना भए पनि आफूले भने शान्तिपूर्ण राजनीतिमै रहने बताए । ‘देशमा अतिवाद फैलिएर बर्बाद हुने अवस्था हुन्छ, तर म चाँही त्यसमा सामेल हुदिन, शान्तिपूर्ण आन्दोलनमै रहन्छु ।’
यस्तै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले ‘सूर्य’ चुनाव चिन्ह फ्रिज गर्न नपाउने बताए । निर्वाचन आयोग कसैको गोटी बन्न नहुने भन्दै उनले ४४१ केन्द्रीय सदस्यको बहुमतलाई आयोगले मान्यता दिनै पर्ने बताए । उनले संसद पुर्नस्थापना हुने दावी गर्दै त्यसपछि बन्ने सरकारमा आफ्नो दावी नरहने बताए । ‘मलाई प्रधानमन्त्रीको लोभ छैन, संसद पुर्नस्थापना हुन्छ’–प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध केही दिनमै नेपाली काँग्रेससंग मिलेर संयुक्त आन्दोल गर्ने बताउँदै त्यसका लागि अन्य राजनीतिक दलहरुसंग पनि छलफल भइरहेको बताए । उनले संसद विघटन कदमप्रति ओली निकट ९० प्रतिशत सांसद पनि असन्तुष्ट रहेको भन्दै अदालतले संविधानको मर्म र जनभावना अनुसार नै संसद पुर्नस्थापना गर्ने दावी समेत गरे ।