जोडिनुहोस
  • होमपेज
  • नेपालमा कन्डमको प्रयोग न्यून,वर्सेनि करिब ६१ लाख कन्डम वितरण

नेपालमा कन्डमको प्रयोग न्यून,वर्सेनि करिब ६१ लाख कन्डम वितरण

काठमाडौं,फागुन ३-

चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् ।अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् । उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स संक्रमण तथा यौन रोग हुनबाट समेत जोगाउने उनीहरुको जोड रहेको छ ।

एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सूधा देवकोटाले कन्डमको प्रयोग बढाउन देशव्यापी जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच समन्वय र सहकार्यमा कन्डमको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् ।

‘कन्डम प्रयोगका बहुफाइदा छन्’, निर्देशक डा. देवकोटाले भनिन्, ‘तर नेपालमा यसको प्रयोग न्यून छ । त्यसैले सबै पक्षबीच सहकार्य र समन्वय गरेर कन्डमको प्रयोग बढाउनेबारे देशव्यापी जनचेतना फैलाउनुपर्छ ।’ त्यस्तै केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले जनचेतनाको अभावले नेपालमा अझै कन्डमको सही प्रयोग हुन नसकिरहेको बताए ।

केन्द्रले गरेको सर्भेअनुसार नेपालमा करिब ६५ प्रतिशतले मात्रैले कन्डमको प्रयोग गर्ने गरेका छन् । यो स्वास्थ्यका दृष्टिले कम रहेको उनको भनाइ थियो । ‘कन्डमको प्रयोग बढाउन सकिए, एचआईभी एड्सको संक्रमण र यौनरोग हुनबाट रोक्न सकिन्छ’, वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले भने । उनका अनुसार केन्द्रले वर्सेनि करिब ६१ लाख कन्डम वितरण गर्दै आएको छ । जसअनुसार गत वर्ष ६० लाख ९८ हजार कन्डम वितरण गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका