



चितवन, फागुन २–
भरतपुर क्रिकेट क्लवविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै ग्लोबल इनफरेन्स इस्र्टन क्रिकेट एकेडेमी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को फाइनलमा प्रवेश गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (आइतबार) भएको खेलमा भरतपुर क्रिकेट क्लवलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै लगातार दुई जितका साथ इस्र्टन फाइनल यात्रा तय गरेको हो ।
इस्र्टनले दिएको ३०० रनको लक्ष्य पछ्याएको भरतपुर निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९६ रन जोड्न सक्यो । विशाल योगफल पछ्याउने क्रममा भरतपुरका लागि सुवर्ण भट्टले ७२ बलमा ६८ रन, सोनु तामाङले विष्फोटक पारी खेल्दै २५ बलमा ४६, रित गौतमले ५८ बलमा ४६ र कृजन गुरुङले ३० रन जोडे पनि टिमलाई जित दिलाउन सकेन् । भरतपुर यसअघि पहिलो खेलमा पनि बेलचोकसंग झिनो अन्तरले पराजित भएको थियो ।
इस्र्टनका लागि दिवस आचार्यले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चिदै ३ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको इस्र्टनले सुमित महर्जनको शतकीय पारीमा निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९९ रन जोडेको थियो । सुमितले ९१ बलमा १४३ रनमा अविजित रहे । आकाश थापाले ८७ बलमा ६२, प्रतिक श्रेष्ठले १६ रन बनाए ।
भरतपुरका लागि सुर्वण भट्टले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चिएर २ विकेट लिए । आजको खेलमा शतकीय पारी खेलेका सुमित महर्जन म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि भोलि (सोमबार) इस्र्टनले मुनस्टोन क्रिकेट क्लवको सामना गर्ने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए ।
चितवन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।