होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • तनहुँको व्यास नगरमा वडा थप्ने निर्णय, ३ वडाको सिमाना हेरफेर

तनहुँको व्यास नगरमा वडा थप्ने निर्णय, ३ वडाको सिमाना हेरफेर

कृष्ण न्यौपाने

दमौली, माघ ३०

तनहुँको व्यास नगरपालिकाले एउटा वडा विभाजन र केही वडाको सिमाना हेरफेर गर्ने निर्णय गर्ने गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४ औँ नगरसभाले एउटा वडालाई विभाजन गर्दै केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय गरेको हो ।

व्यास नगरपालिका–६ लाई दुई वडा बनाउने प्रस्ताव नगरसभाले सर्वसम्मत पास गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार साविक स्याम्घाको वडा नं १, २, ३ र ४ लाई एउटा वडा बनाउने र त्यसको केन्द्र सिसाघाटमा र वडा नं ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाएर त्यसको केन्द्र स्याम्घा हटिया निर्धारणका लागि प्रदेश सरकार हुँदै सङ्घीय सरकारसमक्ष पठाउने निर्णय भएको छ ।

व्यास नगरपालिका–८ को कोटथोक गाउँलाई वडा नं ७ मा र व्यास नगरपालिका–९ को छापलाई व्यास नगरपालिका–११ मा गाभ्ने निर्णय नगरसभाले गरेको छ । त्यस्तै व्यास नगरपालिका–११ को पातलगाउँलाई व्यास नगरपालिका–९ मा गाभ्ने निर्णय भएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सिमाना हेरफेरका लागि समिति गठन गरेको थियो । समितिको प्रतिवेदन साथै सर्वदलीय बैठकको निर्णयबमोजिम नगरपालिकाको आन्तरिक सिमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिका वा नगरपालिकाको सङ्ख्या वा सिमाना हेरफेर गर्नुपरेमा त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ । ऐनमा गाउँपालिका वा नगरपालिकाको सङ्ख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका वा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा एक वर्षअगावै गरिसक्नुपर्ने उल्लेख छ ।

नगरसभाले छिमेकी पालिकाका वडाका केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णयसमेत गरेको छ । यसअनुसार भानु नगरपालिका–१३ को टुटेपानीलाई व्यास नगरपालिका–८ मा समावेश गर्ने प्रस्ताव नगरसभाले गरेको छ । बन्दीपुर गाउँपालिका–३ को तानुङभन्दा परको दुई गाउँलाई व्यास नगरपालिका–१४ मा र भानु नगरपालिका–६ मूलपानीका दुई टोललाई व्यास नगरपालिका–१२ मा समावेश गर्ने प्रस्ताव गरिएको छ ।

नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संशोधित बजेट तथा कार्यक्रम रु एक अर्ब ५७ करोड २७ लाख १२ हजारलाई यथावत राखी संशोधित आयमा सङ्घ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु दुई करोड २८ लाख १९ हजार थप गरी आन्तरिक आयमा सोही बराबर घटाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरसभाबाट चालु आवको संशोधित आर्थिक विधेयक २०७७ र संशोधित विनियोजन विधेयक २०७७ पारित भएको छ । नगरसभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयिक विषयमा विभिन्न वडाबाट २७ जनाले छलफलमा भाग लिनुभएको थियो । लेखासमितिबाट पेश हुन आएको आव २०७५÷७६ सम्मको बेरुजु तथा पेश्कीसम्बन्धी रु १० करोड ५० लाख ४७ हजार ७६० को सम्परीक्षण गर्नुपर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।

घरबहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क सङ्कलन एवं दर निर्धारण गर्ने उद्देश्यका साथ आवश्यक प्रक्रिया अगाडि बढाउन वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा घरबहाल कर व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीयस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अद्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकाका अधिकार प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।

घिरिङ गाउँपालिका पूर्णरुपमा उज्यालो

घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको हो । घिरिङ गाउँपालिका–१ को बन्टार, जगौलीटार र खुम्लिङटारमा बिहीबार बत्ती बलेसँगै गाउँपालिका अँध्यारोमुक्त भएको छ । उक्त गाउँका १०६ घरधुरीमा बिहीबार बत्ती बलेको छ ।

घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिनुभयो । “बत्ती नपुगेका घरहरुमा बत्ती पु¥याउन निरन्तर काम ग¥याँै, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँमा बत्ती बाल्न सफल भयौँ”, थापाले भन्नुभयो, “हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौँ ।”

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । सोही अभियानअन्तर्गत गत साता मात्र घिरिङ गाउँपालिका–४ को गड्यौलीटार र नयाँटारको २२० घरधुरीमा बत्ती बलेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताउनुभयो ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उहाँले जानकारी दिनुभयो । “गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता पूरा भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पु¥यायो ।”

अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । “हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौं भनेर प्रतिबद्धता जनाएका थियाँै, सो प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

वर्षौंदेखि टुकी र मैनबत्तीको भरमा बस्दै आएका घिरिङका स्थानीयवासी बत्ती बलेसँगै खुशी भएका छन् । स्थानीयवासी तारा खनालले धेरै वर्षको प्रतीक्षापछि गाउँमा बत्ती बाल्न पाउँदा खुशीको सीमा नै नरहेको बताउनुभयो । स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आशमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताउनुभयो । “बत्ती कहिले बल्ला भनेर लामो समय कु¥यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो”, उहाँले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ । वितरण केन्द्रले गत आवमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । सो सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइनेछ ।

सिम्ले–किमलडाँडा जोड्ने पक्की पुल निर्माण शुरु

भीमाद नगरपालिका–८ सिम्ले र शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा जोड्ने क्याङ्दी खोलामा पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्याङ्दीखोलामा पक्की पुल निर्माण शुरु भएको हो ।

सो पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नाम लेखाउने रहरले नभई जानकारी र सार्वजनिकीकरणका लागि शिलान्यास कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई लाग्न सक्छ, पुल शिलान्यास गर्ने त्यो नाम लेखाउनका निम्ति हो । नाम लेखाउनका निम्ति होइन । शिलान्यास कार्यक्रम गरेपछि सबैलाई थाहा हुन्छ । बरु उद्घाटन नगर्दा पनि हुन्छ ।” कुनै पनि आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारको समन्वय हुनुपर्ने बताउँदै उहाँले आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अबको दुई वर्षमा यहाँको स्थानीयवासीले भोग्नुपरेको समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीय बासिन्दाले अनेकौं बखेडा झिक्दा समयमै काम नहुने भएकाले सकारात्मक सहयोग गर्न सुझाव दिनुभयो ।

रु आठ करोड ३२ लाख ४८ हजार १७४ को लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणको ठेक्का एमएस रसुवा वाइएसएस जेभी सुर्खेतले पाएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७९ मङ्सिर १७ गतेभित्र पुल सम्पन्न गर्नुपर्ने म्याद छ । पायल फाउण्डेसनमा बन्ने पुल ७० मिटर लामो र ८।४ मिटर चौडाइको हुनेछ ।

पुल बनेपछि वर्षाको समयमा वारपार गर्न सजिलो हुने भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो । पृथ्वी राजमार्गबाट नजिकै रहेको भिमाद र शुक्लागण्डकीका क्याङ्दी पारीका बस्ती वर्षामा यातायात सञ्जालबाट सम्पर्क टुट्छ । हिउँदमा क्याङ्दी सुकेपछि बल्ल सवारी वारपार हुन्छन् । दुईपाङ्ग्रे सवारी दोभानको झोलुङ्गे पुल हुँदै वारपार गर्छन् ।

शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागरलाई जोड्ने गरी छ वर्ष पहिले सेती नदीमाथि निर्माण थालिएको पुल अलपत्र छ । अझै केही वर्ष बन्ने छाँटकाट देखिँदैन । क्याङ्दीमा पुले बनेपछि वर्षाको बेला घुमाउरो बाटो भए पनि सवारी आउजाउ हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।

कभर्डहल बन्दै

देवघाट गाउँपालिका–५ मा कभर्डहल बन्ने भएको छ । देवघाट गाउँपालिकाको रु १० लाख आर्थिक सहयोगमा युवा तथा खेलकुद विकास समितिले निर्माण गर्न लागेको कभर्डहल कूल रु ५० लाखको लागतमा निर्माण गरिने युवा तथा खेलकूद विकास समितिका अध्यक्ष सुकु गुरुङले जानकारी दिनुभयो । कभर्डहल निर्माणका लागि स्थानीयवासी चन्द्रप्रकाश दुवाडीले एक रोपनी जग्गा दान गर्नुभएको छ ।

कभर्डहल हटाइने

व्यास नगरपालिका–३ बिपी वनबाटिकामा रहेको कभर्डहल हटाइने भएको छ । नगरपालिकाको ३४ औँ नगरसभाले कभर्डहल स्थानान्तरण गर्ने निर्णय गरेको हो । कभर्डहल हटाउने विषयमा यस अगाडि नै सर्वपक्षीय सहमति भइसके पनि नगरसभाबाट निर्णय गरेर अगाडि बढ्न खोजिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

“कभर्डहलले खेलमैदान साँघुरो भएको र खेलप्रेमी युवाले खेलमैदान विस्तार गर्न पटकपटक माग गरिरहेका छन्”, न्यौपानेले भन्नुभयो, “कभर्डहल हटाएर ११ ए साइड फुटबल खेल्न मिल्ने मैदान बनाउन लागेका छौँ ।” व्यास नगरपालिकाले यस अगाडि पनि बजेट विनियोजन गरेर खेलमैदान सम्याउनेलगायतको काम गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका