जोडिनुहोस
  • होमपेज
  • चनौली शीत भण्डार निर्माण अन्तिम चरणमा, असोजमा सञ्चालन गर्ने लक्ष्य

चनौली शीत भण्डार निर्माण अन्तिम चरणमा, असोजमा सञ्चालन गर्ने लक्ष्य

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ २८–

चितवनको भरतपुर महानगरपालिका–१८ मा चनौली शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७१ साल वैशाख २७ मा निर्माण सुरु भएको शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको हो । मेशिनरी समानहरु जडान गरी २०७५ भित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम हुन सकेन । अहिले भवन निर्माणको काम सकिएर मेशिनरीको काम अन्तिम चरणमा पुगेको छ ।

चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए ।

भवन निर्माणसम्बन्धी काम एक वर्षअघि नै सकिएको उनले जनाए । उनले भने, ‘शीत भण्डारमा हाल मेशिनरी समानहरु जडानको काम भइरहेको छ ।’ २०७७ चैतमा मेशिनरी जडानको काम सक्ने गरी २०७६ असार २३ मा ठेक्का सम्झौता गरिएको थियो । मेशिनरीको काम ठेकेदारले समयमा सक्ने संकेत देखिएको पौडेलले बताए ।

तर, ट्रान्सफर्मरका कारण सञ्चालनमा ढिला हुन सक्ने उनको भनाइ छ । उर्जा मन्त्रालयमा ट्रान्सफर्मर अनुदानमा उपलब्ध गराउन माग गरिएको जनाउँदै पौडेलले चैतसम्ममा ट्रान्सफर्मर आएमा आगामी असोजमा सञ्चालन गर्न सकिने बताए । ‘चैत सम्ममा मेशिनरीको काम सकियो र ट्रान्सफर्मर पनि आयो भने वैशाखमा सबै सेटिङ मिलाएर जेठमा हामीले परीक्षण गर्छाै’ उनले भने, ‘परीक्षण सफल भएमा असारबाटै सञ्चालनमा ल्याइन्छ । नत्र असोजमा पक्का सञ्चालन गर्छाैं ।’

शीत भण्डारको क्षमता दुई हजार ५०० टनको छ । अत्याधुनिक लिफ्टसहित शीत भण्डार पाँच तले हुनेछ । पाँच वटै तलामा सबै प्रकारका तरकारी तथा फलफूललाई भण्डारण गर्न सकिन्छ । शीत भण्डार रहने भवन अघिको प्रशासनिक काम हुने भवनको अण्डरग्राउण्डमा मासुजन्य पदार्थहरु भण्डार गर्ने सोच भए पनि त्यसबारे ठोस निर्णय भइनसकेको पौडेलले जनाए । उक्त स्थानको क्षमता करिब तीन सय टन रहेको उनले बताए ।

चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं. २०६९ असार २४ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । सार्वजनिक निजी सझेदारी अन्तर्गत निर्माण गर्ने गरी सरकार र सहकारी तथा किसानहरुले संयुक्त लगानी गरेका हुन् ।

पुँजीको अभाव

सेयर, पुँजी समयमा जुटाउन नसक्नु नै निर्माण कार्यमा ढिलाइ हुनुको प्रमुख कारण भएको अध्यक्ष पौडेलले बताए । ‘समयमा पुँजी जुटाएर सिभिलको काम सकि मेशिनरीको काम थाल्न पाएको भए छिटो हुन्थ्यो । तर, न सरकारी तवरबाट छिटो बजेट आयो न सहकारीबाट छिटो पुँजी संकलन गर्न सकियो ।’

मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना सुरु गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत रहेको छ । सार्वजनिक निजी सझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीत भण्डारको सिभिल सम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवम् किसानको लगानी छ । मेशिनरीमा भने सरकारको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत हुनेछ । १५ करोडको लागत अनुमान गरिएकोमा हालसम्म १४ करोड खर्च भइसकेको पौडेलले बताए । सहकारीले ऋण लिएर लगानी गरेको हुँदा उक्त ऋणको व्याजले गर्दा लगानी अझै बढ्न सक्ने संकेत देखिएको पौडेल बताउँछन् । शीत भण्डारमा चितवनका ४४ वटा सहकारीहरुको लगानी रहेको छ ।

पुँजी संकलनका लागि कम्तीमा एक लाख रुपैयाँ लगानी गर्नुपर्ने गरी सेयर खुलाइएको उनले जनाए । वागमती प्रदेशका सबै र गण्डकी प्रदेशका चितवनसँग जोडिएका जिल्लाका सहकारी तथा जोकोही किसान (सहकारीमा नभएको भए पनि) ले सेयर लगानी गर्न पाउने पौडेलले जनाए । असार मसान्तसम्ममा सेयरका लागि आवेदन दिन सकिनेछ ।

कृषि प्रधान देश नेपालमा चितवन जिल्ला पनि कृषि क्षेत्रमा अग्रणी जिल्ला हो । यस जिल्लामा पनि कृषकहरु नै धेरै छन् । यहाँ किसानले सिजनल तरकारीहरु सस्तोमा बेच्नु परेको छ भने कतिपयले नबिकेर खेतमै जोत्नुपर्ने बाध्यता छ । बेसिजनल तरकारीहरु पाउनै गाह्रो, पाए पनि महंगोमा उपभोक्ताले किन्न बाध्य छन् । सिजनमा उमारिएका तरकारी भण्डारण गरी बेसिजनमा बेच्न सके किसानले राम्रो मूल्य पाउन सक्छन्, भने विदेशबाट तरकारी आयातलाई पनि घटाउन वा बन्द गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका