



– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ २५-
नेपालका विभिन्न गाउँघर छाडेर धेरै रहर र सपना बोकी राजधानी काठमाडौंमा किशोरकिशोरीहरु पुग्छन् । आर्थिक समस्या, अन्य विभिन्न पारिवारिक समस्याले शहर पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । शहरमा किशोरहरुको तुलनामा किशोरीहरुले धेरै नै चुनौतीहरुको सामना गर्नुपर्छ भने समाजले हेर्ने दृष्टिकोण पनि फरक रहन्छ । कोही किशोरी शोषणमा पर्छन्, कोही सडकमा पुग्छन्, कोही लागुऔषधमा फस्छन्, कोही यौन दुव्र्यसनीमा फस्छन्, कोही दलालमार्फत विदेशमा बेचिन्छन् भने कोही उदाहरणीय बनेर निस्कन्छन् ।
त्यसै मध्येकी एक उदाहरणीय महिला हुन्, झापाको दमक नगरपालिका–१ निवासी ४३ वर्षीया लीला शर्मा । लीला नेपालकी एकमात्र महिला एम्बुलेन्स चालक हुन् । विगत तीन वर्षदेखि उनले दमक नगरपालिका र दमक अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स चलाउँदै आएकी छन् । उनी एकल महिला हुन् ।
लीलाले भनिन्, ‘सात कक्षामा पढ्दै गर्दा १४ वर्षको उमेरमा विवाहको प्रस्ताव आयो । घर परिवारले पनि विवाह गर्न दबाब दिए । तर, मैले विवाह गर्न मानिन । मलाई पढ्ने रहर थियो ।’ एकपटक लीलाले परिवारको विवाहको प्रस्ताव अस्वीकार गर्दा फेरि उनलाई त्यस्तो प्रस्ताव आएन । विविध कारणले पारिवारभित्र फाटो सृजना भएपछि उनलाई घरमा बस्न मन लागेन ।
२०५२ सालमा एसएलसी दिएपछि उनको जीवनयात्रा झापाबाट काठमाडौं तर्फ मोडियो । काठमाडौंमा तीन वर्ष ज्याला मजदुरी गरेर केही पैसा जम्मा गरी उनी घर फर्किइन् । घर फर्किंदा उनलाई समाजले हेर्ने दृष्टिकोण फेरिएको थियो भने परिवारबाट अवहेलना पाएकी थिइन् । तर, जसोतसो उनले दुई वर्षसम्म घरमा बसेर प्रमाणपत्र तह पढिन् । पढ्दै गर्दा उनले प्रौढ शिक्षा पढाएकी थिइन् । त्यहीबाट आफूले पढाइ खर्च जुटाएको लीला सुनाउँछिन् । प्रमाणपत्र तह पास गरेपछि उनी प्रहरीमा जागिर खानका लागि भनेर विराटनगर पुगिन् । तर, आफू सक्षम हुँदाहुँदै पनि प्रहरीका लागि छनोट हुन नसकेको लीलाले दुखेसो पोखिन् । त्यसपछि उनी विराटनगरबाट घर फर्किन् । घरकै समस्याका कारण उनी पुनः घर छाडेर काठकाडौं पुगिन् ।
१२ वर्षपछि घर
२०५८ सालमा पुनः काठमाडौं पुगेकी लीलाले केही समय मजदुरी गरेर बिताइन् । त्यसपछि आईओएम भन्ने संस्थाले महिलालाई दिएको निःशुल्क तालिम लिइन्, र पब्लिक ट्रान्सपोर्ट (भाडाको गाडी) चलाउन थालिन् । १० वर्षसम्म त्यही काम गरिन् । त्यसपछि दुई वर्ष जति उनले काठमाडौंमै अरुको निजी गाडी चलाइन् । यतिबेलासम्म उनी नत घर पुगिन् नत घरका कसैसँग सम्पर्कमै थिइन् ।
त्यसपश्चात उनले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को गाडी चलाउन सुरु गरिन् । यस समयमा उनलाई घर जान मन लाग्यो । । अन्ततः १२ वर्षमा घर पुगिन् । त्यसपछि उनी घर आउने जाने गर्न थालिन् । नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सिरहामा उनले यूएनडीपीको गाडी चलाएकी थिइन् । तीन वर्षपछि यूएनडीपीको प्रोजेक्ट सकियो र लीलाको जागिर पनि गुम्यो । त्यसपछि लीला काठमाडौं फर्किन् । एक वर्ष केही काम नगरी काठमाडौंमा बसेको लीला सुनाउँछिन् । उनको जीवन यात्रा पुनः महेन्द्रनगरतर्फ मोडियो । त्यहाँ उनले एक वर्ष ट्राभल एजेन्सीमा गाडी चलाइन् । त्यसपछि उक्त काम छाडेर उनी घर फर्किन् ।
घरमा आएर चार महिना निजी एम्बुलेन्स चलाएपछि दमक नगरपालिकामा एम्बुलेन्स चलाउनका लागि लीलाले आवेदन दिइन् । आवदेन दिनेमा ८ पुरुष थिए भने उनी एक महिला थिइन् । अन्ततः नगरपालिकाले उनलाई एम्बुलेन्स चालक नियुक्त ग¥यो ।
कोरोनाको त्रासमा लिलाको आँट
लामो समयसम्म सवारी चलाएको अनुभव भएकी लीलालाई दमकमा एम्बुलेन्स चलाउन केही गाह्रो थिएन । तर, कोरोना भाइरस (कोभिड–१९) माहामारीले उग्र रुप लिइरहेका बेला भने उनलाई समस्या हुन थाल्यो । कोरोना सर्ने डर एकातिर थियो भने अर्काे तिर दिनभर पीपीईमा बस्दा बिरामी परेको उनी सुनाउँछिन् । झापामा पहिलोपटक संक्रमित बनेका व्यक्तिलाई बोक्ने आँट कुनै एम्बुलेन्स चालकले गरेनन् । पेसागत धर्मलाई इमान्दारिताका साथ पूरा गर्नुपर्छ भन्ने सोच भएकी लीलाले नै उक्त बिरामीलाई बोकेर अस्पतालसम्म पु¥याइन् । त्यो क्षण नै चालक हुँदा डर लागेको क्षण भएको लीला सुनाउँछिन् ।
लीलाले कहिल्यै कोभिडको बिरामी बोक्न पछि परिनन् । अरु एम्बुलेन्सले नचढाए पनि उनले चढाइन् । आजसम्म उनले कोरोनाको कति बिरामी बोकिन् उनीसँग कुनै तथ्यांक छैन । तर, आफ्नो एम्बुलेन्समै ज्यान गुमाएका पाँच कोरानो संक्रमितलाई भने उनले कहिल्यै भुल्न सक्दिनन् । अस्पताल लैजानका लागि ढिला भएका कारण उनीहरुको एम्बुलेन्स मै मृत्यु हुँदा आफूलाई निकै दुःख लागेको लीला बताउँछिन् । धेरैजसो एम्बुलेन्स चालकले कोरानाको बिरामी भनेर बोक्न डराएका कारण छिटो अस्पताल पु¥याउन सकिएको थिएन । ‘नजिकका एम्बुलेन्सले लान मानेका रहेनछन् । म टाढाबाट पुगुन्जेल ढिला भएछ । छिटो अस्पताल पु¥याउन सकिएको भए तीन जनाको ज्यान बचाउन सकिन्थ्यो’ लीलाले भनिन् ।
… र अहिले
हाल उनी भाइको घरमा बस्दै आएकी छन् । सानै उमेरमा घर छाडेर लामो समयपछि घर फर्किएकी लीलाले आफ्नो समाजमा स्थायित्व जमाउँदै एम्बुलेन्स चलाएर बिरामीको सेवा गरिरहेकी छन् । एम्बुलेन्स चलाएर बिरामीको सेवा गर्न पाउँदा निकै सन्तुष्ट रहेको लीला बताउँछिन् । एम्बुलेन्स चालकलाई अरु गाडीका चालकलाई जस्तै नियम र कानुन बनाउनु गलत भएको भन्दै उनले एम्बुलेन्स चालकलाई अस्पतालको कर्मचारीलाई जस्तै नियम बनाउनुपर्ने बताइन् ।
उनी हाल एम्बुलेन्स चालक संघ झापामा आवद्ध छन् । झापामा १६५ जना एम्बुलेन्स चालकहरु रहेका एम्बुलेन्स चालक संघ झापाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।
माघ २० गते चितवनमा भएको एम्बुलेन्स चालक संघको स्थापना दिवस तथा तेस्रो साधारण सभामा उपस्थित थिइन् लीला । उनलाई नेपालकी एकमात्र महिला एम्बुलेन्स चालक भनेर सम्मान गरिनुका साथै स्टेजमा बसाइएको थियो ।
नेपाल एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछानेले देशभर ६ हजार एम्बुलेन्स चालक रहेको जानकारी दिँदै लीला शर्मा नेपालकी एकमात्र महिला एम्बुलेन्स चालक भएको पुष्टि गरे । यसअघि दुई महिलाले एम्बुलेन्स चलाएको भए पनि हाल उनीहरुले यो पेसालाई छाडेको लामिछानेले जानकारी दिए । लीला नेपालकी दोस्रो महिला एम्बुलेन्स चालक भएको लामिछानेले बताए । लामिछानेका अनुसार पहिलो महिला एम्बुलेन्स चालक काठमाडौंकी मन्सिला राई भए पनि उनले हाल एम्बुलेन्स चलाउँदिनन् ।


कुनै पनि बेला साथ सहयाेग दिनु पर्नेछ लिला लाई नेपाल तथा नेपाली हरुले