



चितवन,माघ १७-
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण थालिएका सिटी हल र गोन्द्राङ पुल्चोक ६ लेन सडक विस्तारको शनिवार शिलान्यास गरे । प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रमको भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड माधव समूहले बहिष्कारको घोषणा गरेका थिए । तर, शिलान्यास कार्यक्रममा नेकपा कै ७ जना वडाध्यक्ष सहभागी भए ।
भरतपुर वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नं. ४ का हरि आचार्य, वडा नं. ११ का बाबुराम अधिकारी, वडा नं. २३ का नरीनारायण पौडेल, वडा नं. २४ का कान्छा मल्ल, वडा नं. २८ का आशबहादुर कुमाल र वडा नं. २९ का मानबहादुर थापामगर सिटी हल शिलान्यास कार्यक्रममा सहभागी बनेका हुन् । महानगर मेयर रेनु दाहालले शुक्रवार महानगरमा पत्रकार सम्मेलन गरी कार्यक्रम बहिष्कार गर्ने सहभागी हुन नसकिने जनाएकी थिइन् ।
भरतपुर ४ का वडाध्यक्ष हरि आचार्यले मूलुकको प्रधानमन्त्री आफ्नो महानगरमा विकासको काममा आउँदा नजाने वा बहिष्कार गर्ने भन्ने प्रश्नै नहुने बताए । ‘कसैलाई चित्त बुझ्ला नबुझ्ला, केही गुनासा होलान् ति अलग विषय हुन् तर विकासका विषयमा राजनीति गर्नु हुँदैन’ वडाध्यक्ष आचार्यले भने, ‘वहिष्कार गर्नुपर्ने वा सहभागी हुनुनपर्ने कुनै कुरा छैन ।’