



चितवन, माघ १६–
चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालले नर्समाथि श्रम शोषण गरिरहेको पाइएको छ । कतिपय नर्सलाई चाहिँदा काममा पेलाउने र अरु बेला निकाल्ने काम गरिरहेको पीडित नर्सहरु बताउँछन् । विहीबार मनकामनाको श्रमशोषणमा परेका नर्सहरु सडकमै निश्किएका थिए ।
मनकामना अस्पतालकै श्रम शोषणमा परेकी नर्स शर्मिला श्रेष्ठले कोरोनाका बेला चितवनका प्राय अस्पतालहरुले बिरामीको चाप घटेको भन्दै ५० प्रतिशत नर्सलाई कामबाट निकालेको गुनासो गरिन् । ‘अस्पतालले बिरामीको चाप बढ्दा नर्सलाई काममा राख्ने बिरामीको चाप घट्दा कामबाट निकाल्ने के यो जायज हो ?’ श्रेष्ठले प्रश्न गरिन् । मनकामना अस्पतालमा अप्रेसन थिएटरमा इन्चार्जको काम गरेकी उनी कोरोनाको बाहानामा कामबाट निकालिनु परेको दुःखद अनुभव सुनाउँछिन् ।
कोरोनाको कारण देखाउँदै पाल्न नसक्ने भन्दै अस्पतालले बिदामा बस्न भने पनि झण्डै एक वर्ष हुँदा पनि काममा नबोलाएको श्रेष्ठले गुनासो गरिन् । ‘मैले राजीनामा पनि दिएको छैन । काममा पनि बोलाउँदैन भने यसलाई निकालेको भनेर नबुझे के बुझ्ने ? त्यो पनि बिना गल्ती बिना कारण’ उनले दुखोसो पोखिन् ।
कामबाट बिनाकारण निकालिनुपर्दा उनले भोगेको मानसिक पीडाको कुनै गणना छैन । ‘मानसिक, सामाजिक र आर्थिक रुपमा जुन पीडा भोग्दैछु त्यो मलाई मात्र थाहा छ’ उनी भन्छिन् ।
श्रेष्ठ एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता थुप्रै नर्स मनकामना अस्पताल र अन्य अस्पतालहरुमा श्रम शोषण भोग्न बाध्य छन् । सोही अस्पतालमा कार्यरत एक नर्सले नाम उल्लेख नगर्ने शर्तमा भनिन्–‘यहाँ दिनरात नभनी काम गर्छौ, उचित पारिश्रमकि पनि पाउँदैनौं ।’ उनले गुनासो गरिन्–‘कुन दिन कामबाट निकालिनु पर्ने हो थाहा छैन ।’
यस विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पतालका आधिकारिक व्यक्तिहरु बोल्न चोहनन् ।
मनकामना अस्पताल पटक–पटक विवादमा पर्दै आइरहेको छ । केही समय पहिला सो अस्पतालका चिकित्सकका लापरवाहीका कारण नवजात शिशुहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका थिए ।