होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा पहिलोदिन २७९ जनाले लगाए कोरोनाविरुद्धको खोप (फोटोफिचर)

चितवनमा पहिलोदिन २७९ जनाले लगाए कोरोनाविरुद्धको खोप (फोटोफिचर)

चितवन, माघ १४–

चितवनमा आज (बुधबार)देखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

भरतपुर अस्पताल, पूर्वी चितवनको रत्ननगर–बकुलहर अस्पताल र माडी नगरपालिकाको बघौडा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन बुधबार २७९ जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । ‘पहिलोदिन ढुक्कका साथ २७९ जनाले खोप लगाएका छन्, यो केहीदिन निरन्तर रहन्छ’–तिवारीले भने ।

बुधबार भरतपुर अस्पतालमा १२० जना, रत्ननगर बकुलहर अस्पतालमा ११९ जना र बघौडा अस्पतालमा ४० जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको तिवारीले जानकारी दिए । चितवनमा पहिलो चरणमा ६ हजार २ सय जना स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिलो स्वंमसेविका र एम्बुलेन्स चालकमा खोप लगाउने तयारी छ ।

भरतपुरमा ४ हजार पाँच सय, माडीमा एक सय ५० र रत्ननगरमा एक हजार ५ सय ५० जनामा यो खोप लगाइने तिवारीले जानकारी दिए । हाल चितवनमा ४ हजार २ सय जनालाई पुग्ने मात्रै खोप प्राप्त भएको छ भने बाँकीको लागि माग भइसकेको तिवारीले जानकारी दिए । बुधबार भरतपुर अस्पतालमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा खोप अभियानको सुरुवात गरिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले पहिलो खोप लगाएका थिए ।

भरतपुर अस्पताल केन्द्रमा सोही अस्पतालका साथै भरतपुर महानगरपालिकाका स्वास्थ्यकर्मी, इच्छाकामना गाउँपालिकाका स्वास्थ्यकर्मी, निजी मेडिकल कलेज र कोरोनाका बिरामी उपचार गर्ने अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । ‘जुन निजी अस्पतालले बेड राखेर कोरोनाको उपचार गर्न त्यहाँका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई प्राथमिकतामा राखेका छौं, अन्य क्लिनिक र अस्पतालका स्वास्थयकर्मीलाई अर्को प्राथमिकतामा राखेका छौं’–प्रमुख तिवारीले भने । भरतपुरमा खोप लगाउन ९ दिन लाग्ने भएको छ । बुधबार र बिहीबार भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र सरसफाईकर्मीको खोप लगाइने छ भने अन्य दिन अन्य अस्पतालका स्वास्थ्यकर्मीलाई लगाइने छ ।

यस्तै रत्ननगर–बकुलहर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । यहाँका एक हजार पाँच सय ५० जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । बकुलहर अस्पतालमा खोप लगाउन ५ दिन लाग्ने छ ।

यस्तै माडी नगरपालिकामा खोप लगाउन तीनदिन लाग्ने छ । यहाँका १५० जनालाई खोप लगाइदैछ । स्वास्थ्य कार्यालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वाथ्य स्वंमसेविका, एम्बुलेन्स चालक, शव बाहन चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका