होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • आमाले अर्कैसँग बिहे र बुबाले सौतेनी आमा ल्याएपछि बालकको नारायणी किनारमा बास

आमाले अर्कैसँग बिहे र बुबाले सौतेनी आमा ल्याएपछि बालकको नारायणी किनारमा बास

मनिका विश्वकर्मा ,

चितवन,माघ १४-

माघ महिनाको चिसो बिहान । नारायणी नदीकिनार सुनसान छ । दुईचार जना मानिसहरु आफ्नै सुरमा आगो तापेर जाडो भगाउने प्रयासमा छन् । जाडो भगाउन कोही आगो ताप्दै छन् त कोही शरीरलाई न्यानो बनाउन मानिसहरु विभिन्न विकल्प खोजिरहेका छन् । जाडो छल्न बाक्लो न्यानो लुगा लगाइ नारायणी पुलमाथि आफ्नै ध्याउन्नमा मानिसहरु ओहोरदोहोर गरिरहेका छन् ।

यही पुलमुनि नारायणी नदी आफ्नै तालमा बगिरहेको छ । नदीको किनारको पूर्वपट्टि कुनै ठाँउमा फोहोरका थुप्रो छ । होटेलबाट निस्केका फोहोर पानी फुटेका पाइपमार्फत नदीमा बगिरहेको छ । यसैकै अलि परतिर ढुङ्गा थुप्रारिएको छ । त्यसकै माथि आगो बलेर सकिएपछिको खरानी छन् । नजिकै एउटा कालोे र सेतो रङ्ग मिसिएको सर्ट र पाइन्ट लगाएर एक जना बालक सुतिरहेको छ ।

घडीले बिहानको ६ बजेको समय सूचना गर्दै थियो । न ओड्ने कपडा छ न त ओछ्याउने थाङ्गा नै छ । चिसो मौसम छ । त्यहीमाथि नदीको छेउमा झन् कति धेरै जाडो हुन्छ । उनी उठ्छन् । थरथर कापीरहेका हातले आँखा मिच्दै पाइन्टको खोल्तीबाट प्लाष्टिक निकाल्दै उनी पुलमुनिबाट निस्किन्छन् । प्लाष्टिक मुखमा लैजादै फु फु गरी फुक्दै हिँड्छन् । यतिबेला नै म उनको अगाडि आएँ । उनले हत्तनपत्त प्लाष्ट्रिक गोजीमा लुकाए ।

१७ वर्षीय किशोर यसरी सडकमा सुत्न थालेको लगभग तीनचार वर्ष नै भइसकेको रहेछ । आमाले अर्कैसँग बिहे गरेपछि बाबाले सौतेनी आमा भित्र्याउँदा उनले घर छोडेका हुन् । तीन जना दाइहरुपछि कान्छो भाइ हुन् ती किशोर । जाडो मौसममा कहिल्यै रात नपरे हुन्थ्यो लाग्छ उनलाई । उनी भन्छन्, “ओढ्ने ओछ्याउने कपडा नभएर राती धेरै गाह्रो हुन्छ । बरु दिउँसो त घाम लाग्छ ।”

उनले यसरी रात बिताउन थालेको लामो समय नै भइसक्यो । राम्रो खान, लाउन र पढाइदिने भए उनी घर फर्केर जाने मनसायमा छन । तर, परिवारले नै वास्ता नगरेपछि सडकमा आउन बाध्य भएको उनी बताउँछन् । चिन्ता कम गर्नका लागि उनी प्लाष्टिक सुँघ्ने(डेन्ट्रोन) गर्ने बताउँछन् । किशोर भन्छन्, “भोक धेरै लाग्ने भएर भोकलाई कम गराउने भएर प्लाष्टिक सुँघ्ने गर्छु । यसले टेन्सन पनि हराउँछ । निन्द्रा पनि चाँडै लाग्ने गर्छ ।”

दिनभरी नारायणीकिनारमा घुम्न आउने आन्तरिक पर्यटनहरुसँग केही पैसा मागेर साँझको लागि खानाको जुगाड गर्छन् । कहिले त उनी यताउती काम पनि गर्छन् । उनको घर भरतपुरकै गणेशस्थानमा रहेको छ । किशोर जस्तै यहाँ थुप्रै बालकहरु सडकमा नै गुजारा गरिरहेका छन् । कोही बाध्यताले त कोही साथीभाइको सङ्गतमा घरबाट भागेर आउने गरेको उनीहरु बताउँछन् ।  यस्ता विभिन्न कारणले बालबालिकाहरु जोखिममा पर्ने गरेका छन् । शिक्षादीक्षा पाउने बेला उनीहरु बालश्रममा लागिरहेका छन् भने कति सडकको जिन्दगी भोगिरहेका छन् ।

यस्तै रौतहटका १५ वर्षीय बालक काममा लागेको तीन महिना भयो । उनी साहुको काम गर्छन् । नारायणी किनारामा बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म मिठाई (चिनीबाट बनेको कपास जस्तो खानेकुरा)बेच्ने गर्छन् । परिवारको अनुमतिमा नै उनलाई साहुले रौतहट गएर चितवन ल्याएका हुन् । मिठाई बेचेबापत महिनाको ८ हजार रुपैयाँ आउने उनले बताए । उनी बिहान उठेर आफै मिठाई बेच्ने गर्छन् ।

एक दिनमा उनको २५ प्याकेट मिठाई बिक्री हुने गर्छ । उनी जस्तै यसरी मिठाई बेच्ने धेरै बालकहरु छन् । उनीहरु दैनिक रुपमा बालश्रममा लाग्दै गर्दा उनीहरु सामन्य बालअधिकारबाट समेत बञ्चित छन् । यसैगरी, १२ वर्षीय बालक उनलाई परिवारले नै नारायणी किनारामा माग्न पठाउँछन् । सरकारी स्कुलमा ५ कक्षामा पढ्दै गरेका बालक स्कुल छुट्टी हुने बित्तिकै नारायणी किनार आइपुग्छन् । कहिले त स्कुलकै पोशाकमा पनि आउने गर्छन् ।

यी बालक राति ८/९ बजेसम्म विभिन्न मान्छेहरुसँग पैसा माग्ने गर्छन् । उनी भन्छन् “कहिले त मेरै पैसाले घरमा चामल, तरकारी किनिदिने गर्छु ।” आर्थिक अवस्था कमजोर भएका परिवारबाट हुर्केका ती बालक यसरी पैसा माग्न थालेको धेरै वर्ष भयो । चितवनमा यस्ता बालबालिकाहरु धेरै मात्रामा भेटिन्छन् । भरतपुर महानगरपालिकामा झन् धेरै रहेका छन् ।

महानगरमा बालबालिका हेर्ने संघसंस्थाहरु मात्रै २१ वटा रहेको महानगरपालिकाकी महिला तथा बालबालिका शाखाकी शान्ता पौडेलले जानकारी दिनुभयो । जसअन्र्तगत महानगरमा सडक बालबालिका मात्रै हेर्ने ३ वटा संस्थाहरु रहेको पौडेलको भनाइ छ । दियालो परिवार, युथ क्लब र प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु)ले सडक बालबालिकाहरु संरक्षण गर्ने काम गर्छ ।

महानगरले गत वर्ष सडक बालबालिकाहरुको प्रवद्र्धन तथा व्यवस्थापनका लागि मात्रै १४ लाख रुपैयाँ खर्च गरेका पौडेलले बताउनुभयो । सडक बालबालिकाहरुका लागि भनेर यो वर्ष महानगरले ३ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले १३ वटा वडालाई बालमैत्री वडा घोषण गर्ने अभियानमा जुटिरहेको महानगरको महिला तथा बालबालिका समाज कल्याण शाखा अधिकृत सुशीला वाग्लेले जानकारी दिनुभयो । सडक बालबालिकाको उद्धारका लागि नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद्र युथ क्लब नारायणगढबीच सम्झौतापत्रमा हस्ताक्षर भएको वाग्लेले बताउनुभयो ।

एक वर्ष पहिले राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खानबस्न नपाई कोही पनि सडकमा हिड्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको थियो । अझै पनि परिवारको संरक्षण पाउनुपर्ने र पढ्ने उमेरमा हजारौँ बालबालिका सडकमै छन् । सरकारले सडक बालबालिकाहरुको उद्धारका लागि पुनःस्थापना केन्द्र राख्ने, उनीहरुको संरक्षण गर्ने नीति ल्याएको ६ वर्ष भयो ।

बालहित तथा संरक्षणका लागि नेपालमा संवैधानिक व्यवस्थादेखि नीति नियम समेत नभएका होइनन् । तर, भएका नीति तथा योजना कार्यान्वयनमा सरकारी निकाय नै गम्भीर हुन सकेको छैन । असुरक्षा र खतरा यी बालबालिकाको लागि गम्भीर समस्या हुन् । जुन परिवार, समाज र राष्ट्रका लागि दीर्घकालीन बन्दै आएको छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घले बाल अधिकार महासन्धि अनुमोदन गरेको थियो । यसमा ऐक्यवद्धता जनाउँदै नेपालले पनि १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धिमा हस्ताक्षर गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका