होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • चितवनका सडकमा सीसीटीभीको अभाव, अनुसन्धान कार्यमा प्रहरीलाई कठिनाइ

चितवनका सडकमा सीसीटीभीको अभाव, अनुसन्धान कार्यमा प्रहरीलाई कठिनाइ

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ १२

अपराधिक घटना र सडक दुर्घटनाको अनुसन्धानको लागि चितवनका सडकमा सीसीटीभीको अभाव भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सीसीटीभीको अभावले काममा कठिनाइ भएको जनाएको हो । जिल्लामा हाल ४० वटा सीसीटीभी सडकमा जडान गरिएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालित छन् । त्यही पनि सामान्य खालका मात्र छन् । जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अति आवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको २९ स्थान, रत्ननगरपालिकाको सात स्थान र खैरहनीको छ स्थानमा सीसीटीभीको थप अति आवश्यकता पहिचान गरिएको हो । हाल जिल्लाका ४० स्थानमा रहेका सीसीटीभीमध्ये भरतपुर महानगरपालिकाको ३७ स्थान, इच्छाकामना गाउँपालिकाको मुग्लिन र कालिका नगरपालिकको जुटपानीमा रहेको छ ।

डीएसपी थापाका अनुसार सीसीटीभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेको सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए ।

‘जिल्ला प्रवेश गर्ने कुनै नाकामा सीसीटीभी छ भने कुनैमा छैन । भएका पनि आधुनिक छैनन्’ उनले भने । पुलचोक र मुग्लिनमा सीसीटीभी छन् भने फिसलिङ र लोथरमा छैनन् । अर्काे जिल्ला प्रवेश नाका माडी भए पनि उक्त स्थानलाई हाल अति आवश्यकमा नसमेटिएको थापाले जनाए । ‘थप पहिचान गरिएका स्थानमा सीसीटीभी नभइ हुँदैन भनिएको हो । त्यति भए यथेष्ट हुन्छ भन्ने होइन’ डीएसपी थापाले भने ।

सडकमा जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुम प्रहरी कार्यालयमा राखिन्छ । तर, सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ । विशेष गरी सीसीटीभी जडान तथा मर्मत गर्ने काम स्थानीय सरकारको हुन्छ । स्थानीय सरकार तथा संघीयता आउनु अघि विभिन्न संघसंस्था तथा सडक डिभिजनको समन्वयनमा सीसीटीभी जडान गरिने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन । चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम थाल्न पनि सकेका छैनन् ।

सरकारले सबै आवश्यक स्थानमा सीसीटीभी जडान गरिदिएमा प्रहरीलाई काम गर्न सजिलो हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्ले बताए । ‘सीसीटीभी जडान नगरिएको स्थानमा १० जना प्रहरी खटिए पनि काम गर्न भ्याइँदैन भने गरिएको स्थानमा दुई जना भए पुग्छ’ उनले भने ।

जिल्लामा प्रहरीको दरबन्दी संख्यासँगै प्रविधिको पनि अभाव रहेको गुरुङ्को भनाइ छ । हाल जिल्ला ट्राफिक प्रहरीसहित ७५० जना प्रहरी रहेका छन् । प्रहरी संख्या र प्रविधि दुबैको अभाव भए पनि चितवन प्रहरीले सक्रियताका साथ काम गरिहेको गुरुङ बताउँछन् ।

के भन्छन् स्थानीय तह ?

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले सीसीटीभी राख्ने हाम्रो जिम्मेवारी नभएको भन्दै सडक विभागको काम हो भनेर जिम्मेवारीबाट पन्छिने काम गरे । यदि बिग्रेको कुरा जानकारी गराएमा अन्य निकायसँग मिलेर मर्मत सम्भारमा समन्वय गर्न सकिने उनले बताए । तर, सडक डिभिजन कार्यालयका प्रमुख कृष्णराज अधिकारीले स्थानीय सरकार आएपछि यो काम स्थानीय निकायको भएको बताए । उनले भने, ‘अरु जिल्लामा पनि स्थानीय निकायले नै त्यो काम गरिरहेको छ ।’

त्यस्तै रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले यो वर्ष सीसीटीभी राख्नेबारे कुनै कार्यक्रम नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका