



चितवन, माघ १३–
भरतपुरमा मूल्य सूची नराख्ने ९ वटा पसललाई कारबाही गरिएको छ ।
बजार अनुगमन टोलीले आज गरेको अनुगमनमा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरेको हो ।
मूल्य सूची नराख्ने ९ वटा पसललाई तीन लाख ९० हजार जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ । जरिबाना रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन दिइएको कार्यालयका सूचना अधिकारी दीलिप खंग खत्वेले जानकारी दिए ।
भरतपुर महानगरपालिका–५ स्थित श्रेष्ठ कन्सर्न, भरतपुर–२ स्थित नेशनल ट्रेड बिजनेस, एएस ट्रेडस चुरा कस्मेटिक पसल, विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज र भरतपुर–३ चितवन स्थित गुप्ता धागो स्टोर्सलाई मूल्य सूची नराखेकोले ५० र ५० हजार रुपैयाँ जरिबाना गरिएको खत्वेले बताए । उनका अनुसार भरतपुर– २ को एसएच ट्रेडर्स र भरतपुर–१० को ओमसाइराम प्लास्टिक सप्लायर्सलाई पनि मूल्य सूची नराखेकै कारण २० र २० हजार जरिबाना गरिएको हो । उपभोक्ता संरक्षण ऐन–२०७५ बमोजिम देहायका फर्मलाई तत्काल जरिबाना गरिएको उनले बताए ।
मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधिसहितको टोलीले बजार अनुगमन गरेको थियो ।


Yesto kam ratnanagar ma ni garnu parnex yaha manpari x