जोडिनुहोस
  • होमपेज
  • प्रचण्डका राजनीतिक गुरुः खम्बसिं कुँवर ‘काजी बा’

प्रचण्डका राजनीतिक गुरुः खम्बसिं कुँवर ‘काजी बा’

-कृष्ण गिरी

०३४ सालको कुनै दिन गोरखा जिल्लाको आरुघाटमा तत्कालिन नेकपा (चौम) को प्रशिक्षण कार्यक्रम थियो । प्रगतिशिल शिक्षक लगायत विभिन्न क्षेत्रका मानिसहरु प्रशिक्षणमा सहभागी थिए । भूमिगत रुपमा माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद, पार्टीको रणनीति, कार्यनीतिलगायत विषयमा तीनदिनसम्म प्रशिक्षण दिइयो । त्यस प्रशिक्षणका मुख्य प्रशिक्षक थिए नेकपा (चौम) का पोलिटब्यूरो सदस्य खम्बसिं कुँवर । अनि प्रशिक्षार्थी मध्येका एक थिए– गोर्खाको एउटा विद्यालयमा पढाउँदै गरेका पुष्पकमल दाहाल । दाहालले प्रशिक्षण कार्यक्रममा साथीहरुसँगै पार्टीको सदस्यताका लागि निवेदन दिए ।

पार्टीको सदस्यता पाउन त्यतिबेला अहिलेजस्तो सजिलो थिएन भन्छन् भुक्तभोगीहरु । छ महिनाको परीक्षणकालपछि गोर्खा जिल्ला कमिटिले सदस्यता दिने प्रस्ताव ग¥यो । गण्डकी अञ्चल इन्चार्जको हैसियतले खम्बसिंले अन्तिम निर्णय दिए । पुष्पकमलले पार्टीको सदस्यता पाए । नेकपा (चौम) को सदस्यबाट राजनीतिक जीवन शुरु गरेर प्रचण्ड उपनामबाट चर्चित पुष्पकमल दाहाल अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईमध्ये एक अध्यक्ष छन् (झण्डै एघार वर्षअघि यो स्टोरी लेख्दाका बखत दाहाल एकीकृत नेकपा माओवादीका अध्यक्ष थिए) । प्रचण्डको राजनीतिक जीवनका गुरु जसले कुनै दिन उनलाई माक्सवादको पाठ पढाए खम्बसिं कुँवर लामो समय प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीको सल्लाहकार हुँदै नेकपाकासमेत सम्मानित सल्लाहकार रहे । कुनै बखत नेपालको कम्युनिष्ट राजनीतिको एउटा खम्बा सबैले आदरपूर्वक ‘काजी बा’ भनेर सम्बोधन गर्ने उनै खम्बसिं कुँवरको ९३ वर्षको उमेरमा आज विहान (०७७ माघ १३ गते मंगलबार) निधन भएको छ ।

(झण्डै एघार वर्षअघि खम्बसिंसँगको भलाकुसारीपछि चितवनबाट प्रकाशित हुँदै आएको नारायणी टुडे मासिकका लागि लेखिएको स्टोरी)ः

ओहो ! तपाईं त प्रचण्डका राजनीति गुरु पो हुनुहुँदो रहेछ ! आकर्षक हाँसो फिस्स हाँस्दै खम्बसिंले भने– ‘होइन, त्यो त पार्टीको एउटा प्रक्रिया हो ।’ लौ, यी त साँच्चिकै महान रहेछन् ।

आफ्नो चेलाप्रति यति धेरै प्रभावित गुरु सायदै कम भेटिएलान् । आखिर किन ? उनी भन्छन्– ‘सवैलाई भोगेरै आएँ । प्रचण्ड आफ्नो बचनमा कटिवद्ध हुनुहुन्छ । क्रान्ति गरेरै दःखी, गरिब, शोषित, पीडितको पक्षमा लाग्ने भएकोले उहाँको माक्सबादी व्यवहारले प्रभावित भएको हुँ ।’

खम्बसिं ०१५ सालमा नै जन्मघर लमजुङको बाङ्ग्रेबाट चितवन झरेका थिए । ०१८ सालमा परिवार पनि यतै ल्याए । पार्टी पोलिटब्युरो सदस्य भएको हुँदा जिम्मेवारी हेरफेर भइरहन्थ्यो । ०३५ सालमा प्रचण्ड पनि शिक्षण पेशा छोडेर पूर्णकालिन कार्यकर्ता भए । गुरु चेलाको राजनीतिक गति अघि बढ्दै थियो । चितवनको भरतपुर नगरपालिका वडा नम्वर– १० मा भाडाको दुईवटा कोठमा बस्दै आएका नेपाली कम्युनिष्ट आन्दोलनका एक अग्रणी खम्बसिंले भरतपुर एयरपोर्ट अगाडि (केही समय अघिसम्म हाटबजार लाग्ने ठाउँनेर) देखाउँदै भने– “ऊ त्यहींनेर रोडमा हो, हामी हिंड्दै थियौं, मैले भनें– सवै आउँछन् अनि फर्किन्छन् ।” प्रचण्डले फ्याट्ट भनेछन्– यो देश मुक्त नगराएसम्म म कुनैपनि हालतमा घर फर्किन्न ।

खम्बसिं नेपाली कम्युनिष्ट आन्दोलनका एक इतिहास हुन् । आफ्नो राजनीतिक जीवनमा यिनी संगठन विस्तारका लागि तराई, पहाड, हिमाल डुले । प्रवास पनि पुगे । १९८४ साल बैशाख १० गते लमजुङको बाङ्ग्रेमा जन्मिएका खम्बसिंले पण्डित लोकनाथ भण्डारीबाट घरमै दुर्गाकवज, चण्डी, बाह्रखरी सिके । उनी स्वअध्ययनले खारिएका छन् । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास खम्बसिंलाई कण्ठै छ ।

सामान्य किसान परिवारमा जन्मिएका खम्बसिंको मनमा समाजमा विद्यमान वर्गिय विभेद, शोषण, उत्पीडनको ज्वाला दन्किरहेको थियो । गाउँमा हलो, कोदालो गर्दापनि हातमुख जोर्न धौ धौ हुन्थ्यो । यत्तिकैमा उनका सत्ताइस वर्ष बिते ।

२०११ सालमा खम्बसिंको भेट तनहुँका गुणबहादुर गुरुङसँग भयो । गुरुङ भूमिगत रुपमा कम्युनिष्ट विचारको प्रचार र संगठन विस्तारमा लमजुङ पुगेका रहेछन् । ‘प्रगतिशिल सोचविचार भएको, हक्की कुरा बोल्ने मान्छे खोज्दा रैछन्’ खम्बसिंले गुणबहादुरसँगको पहिलो भेट सम्झिंदै भने– उहाँले कम्युनिष्टको कुरा, समताको कुरा गर्नुभयो, खुब राम्रो लाग्यो ।

खम्बसिंलाई गुणबहादुरले ‘पत्रपत्रिका पढ्नुस् धेरै बुझ्नुहुन्छ’ भने । उनी भन्छन्– ‘अग्निदीक्षा, माओका विचारहरु पढेपछि आस्था जागेर आयो ।’ जुन आस्थाले उनलाई जीवनभर एउटा बिद्रोही स्वभावको जुझारु कम्युनिष्ट कार्यकर्ताको रुपमा उभ्याइरह्यो ।  खम्बसिं ०७ सालतिरै भारतमा जाँदा भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीसँग भेट भएको थियो । डाँगीसँगको भेटमा पनि उनले कम्युनिष्ट विचारबारे जान्ने मौका पाएका थिए ।

खम्बसिं चितवन झर्दा गुणबहादुर पनि चितवन आइसकेका थिए । ०१६ सालमा गुणबहादुर गुरुङको नेतृत्वमा सेल कमिटि गठन भयो । त्यसपछि त झन् उनीहरु संगठन विस्तारको काममा घनिभूत ढंगले लाग्न थाले । त्यसबेला कम्युनिष्ट पार्टीको जिल्ला, इलाका र सेल कमिटि हुन्थ्यो । ०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेर शासनसत्ता आफ्नो हातमा लिए । खम्बसिं भन्छन्– त्यसपछि सवै भागाभाग भयौं । हामीपनि अर्धभूमिगत भयौं । प्रशासनसँग जोगिने, जनतासँग गएर कुरा राख्ने गर्न थाल्यौं ।

खम्बसिं ०१८ सालदेखि नै पार्टीमा पूर्णकालिन कार्यकर्ता बनेर लागिसकेका थिए । जसका लागि उनकी जीवनसंगिनी धिरा कुँवरको साथ, सहयोग रह्यो । श्रीमतीले ‘तपाईं शोषित पीडितको पक्षमा काम गर्नेभए हिंड्नुस्, मैले घर सम्हाल्छु’ भनेर प्रेरणा दिएकीले नै आफु राजनीतिमा सक्रिय हुन पाएको उनले बताए ।

२०१९ सालमा भारतको बनारसमा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन भयो । पुष्पलालले हारे । तुलसीलाल अमात्य महामन्त्री चुनिए । पुष्पलाल विघटित संसदको पुनस्र्थापनाको पक्षधर थिए । तुलसीलाल सर्वशक्ति सम्पन्न संसदको पक्षधर । महाधिवेशनपछि विवाद चुलिंदै गयो । देशव्यापी रुपमा दुईवटा चिरा देखापर्न थाल्यो । चितवनमा पनि ०२४ सालमा जिल्ला कमिटि गठन भयो । जसको नेतृत्वमा खम्बसिं पनि थिए ।

मोहनबिक्रम, शम्भूराम, मनमोहन, निर्मल लामा लगायतले न्यूक्लस गठन गरे । खम्बसिंहरुले पनि न्यूक्लस मातहतमा जिल्ला कमिटि बनाए । न्यूक्लस गठन भएपछि ठाउँ ठाउँमा जिल्ला कमिटि गठन हुँदै गए ।

अन्तरद्वन्द्व र विवादले नेपाल कम्युनिष्ट पार्टीमा फुट ल्याउँदै थियो । ०३१ सालमा भारतको गोरखपुरमा चौथो महाधिवेशन आयोजना गरियो । महाधिवेशनमा यो धारको नाम नेकपा (चौम) राखियो । मोहनबिक्रम सिंह महामन्त्री बने । नौ जना पूर्ण र चारजना बैकल्पिक सदस्य रहेको केन्द्रिय कमिटि गठन भयो, पाँचजनाको पोलिटब्यूरो । खम्बसिं केन्द्रिय सदस्य तथा पोलिटब्यूरो सदस्यमा चयन भए । गोरखपुरबाट फर्केपछि खम्बसिंले कहिले नारायणी, कहिले गण्डकी त कहिले लुम्बिनी अञ्चलको जिम्मेवारी सम्हाले ।

यसैबीच, पार्टीले कार्यकर्तालाई हतियार (बन्दुक) चलाउने तालिम दिने सोच अघि सा¥यो । गण्डकी क्षेत्रिय ब्यूरो इन्चार्ज रहेका खम्बसिंकै नेतृत्वमा मनाङबाट मार्क थ्रि हतियार बागलुङको बागेओडार पु¥याइयो । मोहनबिक्रम सिंह, चित्रलाल के।सी। प्रशिक्षणका लागि त्यहाँ पुगे । भूतपूर्व सैनिकहरुले नेकपा (चौम) का कार्यकर्तालाई बन्दुक हान्ने तालिम दिए । सम्भवतः नेपालमा कम्युनिष्ट पार्टीले पहिलोपटक हतियार चलाउन दिएको तालिम हुनुपर्छ यो ।

पार्टीमा अन्तरबिरोध चर्किंदै थियो । महामन्त्री मोहनबिक्रमलाई पार्टीले अनुशासनको कारवाही ग¥यो । महामन्त्री बनाइएका भक्तबहादुर श्रेष्ठ जेल परे । केन्द्रिय कमिटिमा बहुमत गुमेपछि ०३९ सालमा नेकपा (चौम) विघटन भयो । त्यसपछि जिल्ला जिल्लामा बैठक बस्यो र ०४० सालमा भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन भयो । खम्बसिं भन्छन्– “मैले किरणजी (मोहन बैद्य)लाई महामन्त्री हुन प्रस्ताव गरें । किरणजीले चित्रबहादुर के.सी.लाई प्रस्ताव गर्नुभयो र के.सी.जी महामन्त्री हुनुभयो ।”

०४१ मा भारतको अयोध्यामा नेकपा (चौम) को पाँचौं महाधिवेशन भयो । महाधिवेशनमा किरण महामन्त्री भए । मोहनबिक्रमले पराजय व्यहोरे । यो महाधिवेशनले पार्टीको नाम नेकपा (मशाल) राख्यो । जसलाई मोटो मशाल भनेर चिन्न थालियो । त्यो त्यस्तो महाधिवेशन थियो जसले पार्टीमा स्पष्ट रुपमा क्रान्तिकारी धार स्थापित ग¥यो । जुन महाधिवेशनमा प्रचण्ड, रामबहादुर थापा, देव गुरुङ केन्द्रिय कमिटिमा चुनिए । प्रचण्डका गुरु खम्बसिं बने– पोलिटब्यूरो सदस्य । महाधिवेशनमा पराजय भएपछि मोहनबिक्रमको नेतृत्वमा ०४२ सालमा नेकपा (मसाल) अर्थात् पातलो मसाल गठन भयो ।

खम्बसिं भन्छन– पाँचौं महाधिवेशनपछि पार्टीको स्थिति धेरै मजबुद भयो । विश्व कम्युनिष्ट पार्टीको अध्ययन शुरु भयो । पार्टी सशक्त रुपमा अघि बढ्ने स्थिति आयो, क्रान्तिकारी लाइन स्थापित भयो । ०४३मा राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो । खम्बसिं र सीपी गजुरेलले काठमाण्डौ क्षेत्रिय ब्यूरोको बैठकमा कुनै न कुनै घटना गराउनुपर्छ भन्ने प्रस्ताव राखे । काठमाण्डौ ब्यूरोले घरेलु हतियार प्रयोग गरेर सेक्टर (प्रहरीको बीट) हान्यो । प्रहरी भागाभाग भए, बीट ध्वस्त भयो ।

त्यो घटनाले सञ्चार माध्यममा स्थान पायो । बिबिसिले पनि महत्वका साथ प्रशारण ग¥यो । तर, त्यस घटनापछि जिल्ला, अञ्चलका कार्यकर्ता पक्राउ पर्न थाले । कार्यकर्ता पंक्तिबाट नेतृत्वको बिरोध हुन थाल्यो । महामन्त्री किरणले घटना गराउनु ठीक हो भनेर वक्तव्य दिए । खम्बसिं भन्छन्– ‘कार्यकर्ताहरुबाट नेतालाई कारवाही गर्नुपर्छ भन्ने कुरा आयो । उपाय केही नदेखेपछि केन्द्रिय नेताहरुको एक पद घटुवा गर्ने भन्ने निधो ग¥यौं ।’

सवै नेताहरुको एक पद घटुवा गरेपछि महामन्त्री पद नै खालि भयो । ‘प्रचण्डजी निडर र सवै कुरामा सक्षम हुनुहुन्थ्यो’ खम्बसिं भन्छन्– ‘किरणजीले प्लेनम बोलाएर प्रचण्डलाई महामन्त्री बनाउनुपर्छ भनेर सल्लाह गर्नुहुन्थ्यो ।’ किरणको प्रस्तावमा प्रचण्डलाई ०४३ सालमा नेकपा (मशाल)को महामन्त्री बनाइयो ।

खम्बसिंका अनुसार प्रचण्ड महामन्त्री भएपछि जसरीपनि सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने छलफल गरिरहन्थे । ‘हामीले मात्र सम्भव हुँदैन भनेर सवै कम्युनिष्ट पार्टीहरुसँग कुरा ग¥यौं । माले, मसाल लगायतसँग कुरा ग¥यौं’ उनी सम्झन्छन्– पार्टी एकता गर्दा हामीसँग भएका दक्षिणपन्थी उता जान्छन्, क्रान्तिकारी आउँछन् भन्ने सोचले पार्टी एकता शुरु ग¥यौँ ।

०४८ सालमा चितवनको माडीमा आयोजित महाधिवेशनलाई ‘एकता महाधिवेशन’ नाम दिइयो । पार्टीको नाम नेकपा (एकताकेन्द्र) राखियो । महामन्त्री चुनिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ । खम्बसिं कुँवर, भक्तबहादुर श्रेष्ठलाई केन्द्रिय सल्लाहकार बनाइयो । खम्बसिं त्यही समयदेखि पार्टीमा सल्लाहकार छन् । त्यही महाधिवेशनमा नेकपा (मसाल)बाट डा.बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, सर्वहारा श्रमिक संगठनका रुपलाल विश्वकर्मा लगायत एकता केन्द्रमा आए ।

महाधिवेशनमा सहभागी सवैको एउटै मत बनेन । प्रचण्ड नेतृत्वको धार सशस्त्र संघर्षमा जानुपर्छ भन्नेपट्टि भयो । निर्मल लामा, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जनबिद्रोहमा जानुपर्छ भन्ने अडान राखे । अन्ततः सशस्त्र संघर्षमा जानुपर्छ भन्ने लाइन पास भयो । जसको कारण तीनवर्ष नपुग्दै फेरि पार्टी फुट्यो । निर्मल लामा महामन्त्री रहेको नेकपा (एकता केन्द्र चौम)गठन भयो ।

०४८ को आम चुनावमा नेकपा (एकताकेन्द्र) पनि चुनाव लड्यो । उसले एघार सीट जित्यो । ०५१ मा चितवनकै ज्यामिरेमा नेकपा (एकताकेन्द्र) को राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनले पार्टीको नाम नेकपा (माओवादी) राख्यो । उता निर्मल लामा, नारायणकाजी श्रेष्ठ लगायतले नेकपा (एकता केन्द्र चौम)को नाम परिवर्तन गरेर नेकपा (एकताकेन्द्र) राखे ।

खम्बसिंका अनुसार सशस्त्र संघर्षमा जानेभएपछि रणनीति तय गर्न थालियो । डा. बाबुराम भट्टराई मार्फत राष्ट्रिय जनमार्चाको नामबाट तत्कालिन शेरबहादुर देउवा प्रधानमन्त्री रहेको सरकार समक्ष चालिस बुँदे मागपत्र राखियो । खम्बसिं भन्छन्– ‘त्यो मागपत्र पार्टीकै (माओवादीकै) योजना अनुसार राखेको हो ।’ सरकारले माग पुरा गर्न नसक्ने देखाउन र सशस्त्र संघर्षको औचित्य पुष्टि गर्न त्यसो गरिएको थियो ।

०५२ फागुन १ गतेदेखि नेकपा (माओवादी) ले सशस्त्र संघर्ष शुरु ग¥यो । खम्बसिं पनि पार्टीको नीति अनुरुप श्रीमती सहित भूमिगत भए । त्यसबखत प्रहरी, प्रशासनबाट जोगिएर हिंड्न बडो मुस्किल थियो । पूर्वी चितवनमा उनी बसेको घर सेनाले घेरा हालेर खानतलासी गर्दा होस् या गीतानगरमा सेनाले पिछा गर्दा, उनी नाटकीय ढङ्गले उम्कन सफल भए । यस्ता घटना धेरै व्यहोरे ।

‘राजनीतिमा कला, विज्ञान आवश्यक हुन्छ । प्रचण्ड त्यो दुवै ज्ञान भएको, जस्तोसुकै परिस्थितिको सामना, समाधान गर्न सक्ने खुवी भएको हुनुहुन्छ’ प्रचण्डका प्रशंसक खम्बसिंले भने । कम्युनिष्ट आन्दोलनमा जीवन उत्सर्ग गरेका खम्बसिं अहिले ८१ बर्षिया श्रीमती र एक सहयोगीका साथ भरतपुरमा डेरामा बस्छन् । भन्छन्– जग्गा जमिन ऋण लागेर सकियो । हामी सर्वहारावादीको पनि कहाँ आफ्नो घर हुन्छ र !

खम्बसिं र उनकी श्रीमती मधुमेह, उच्च रक्तचाप लगायत रोगबाट पीडित छन् । दुवैले मासिक दुई/दुई हजार रुपैयाँ भन्दा बढीको औषधी नियमित खानुपर्छ । पार्टी र आफन्तको सहयोगले उनको दैनिकी चलेको छ ।  कम्युनिष्ट आन्दोलनमा करिब छ दशक बिताएका, एकीकृत नेकपा (माओवादी) का सम्मानित केन्द्रिय सल्लाहकार, प्रचण्डका राजनीतिक गुरु खम्बसिं कुँवरको विश्वास छ– हामी अडिग रह्यौं भने एकदिन न एकदिन अवश्यै लक्ष्य पुरा हुन्छ ।

चौरासी लागेको शरीर । देश र जनताका लागि ५६ बर्ष लामो राजनीतिक लडाईं । अनुभवले फुलेको कपाल । जब उनी मुस्कुराउँछन् अनुहारमा प्रवेश गरेको चाउरीपन टिक्न सक्दैन । गहिरो गरि छामछुम गर्दा यो गम्भीरताभित्र व्यक्तिगत पीडा मनग्यै भेटिए । तै ती सवै बिर्सिएर सधैं देश र जनताकै चिन्तन । बुढ्यौलीमा पनि गरिब, दुःखी, शोषित, पीडित, उत्पीडितको मुक्तिको मात्रै चिन्ता । भाडाको साँघुरो कोठाभित्र दुई खाटको बीचमा काठको सानो दराजभरी कम्युनिष्ट दर्शनका पुस्तक । जहाँ नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता प्रचण्डका ‘छानिएका रचनाहरु’, ‘सैन्य रचनाहरु’ लगायत पुस्तकको बाहुल्यता छ । लाग्छ यिनी प्रचण्डका पुस्तक भेटेजति बटुल्छन् । प्रचण्डका अनुयायी जस्ता लाग्छन् । तर, यथार्थ अर्कै छ, प्रचण्ड पो यिनका चेला त !

‘काजी बा’ प्रति हार्दिक श्रद्धासुमन ।

.(लेखक गिरी पत्रकार महासंघका केन्द्रिय सदस्य हुन् )

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका