जोडिनुहोस
  • होमपेज
  • चितवनमा माछापालनमा आकर्षण बढ्यो, भुराका लागि भारतसँग परनिर्भर

चितवनमा माछापालनमा आकर्षण बढ्यो, भुराका लागि भारतसँग परनिर्भर

चितवन,माघ १३-

कुखुरा र दूधमा आत्मनिर्भर चितवनमा पछिल्लो समयमा माछापालन व्यवसायमा पनि आर्कषण बढेको छ । जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार चितवनमा करिब ८०० देखि एकहजार हेक्टर क्षेत्रफलमा माछापालन गरिएको छ ।

जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईले चितवनमा बर्सेनि १३ हजारदेखि १५ हजार मेट्रिक टनमा माछा उत्पादन हुने जानकारी दिनुभयो । चितवनमा पछिल्लो समयमा नयाँ पोखरी विस्तार गरिरहेकाले पनि उत्पादन थप बढ्ने विश्वास चापागाईको छ । मत्स्य व्यवसायी संघ चितवनकाअनुसार चितवनमा एक हजार ३०० जना व्यवसायिक माछापालनमा संलग्न छन् भने दुई हजार ४०० साना ठूला पोखरीमा माछापालन गरिएको छ ।

डा चापागाईकाअनुसार चितवनमा माछापालन व्यवसायमा किसान आकर्षित हुनुमा अन्य अन्नबाली तथा खेतीभन्दा यसबाट नाफा बढी हुने तथा सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायमा आकर्षण बढेको हो । यस्तै माछाको बजार पनि राम्रो रहेको चापागाईले बताउनुभयो । माछापालन गर्ने किसानको लागि पोखरी विस्तार कार्यक्रममार्फत् किसानलाई गत वर्ष साढे तीन करोड रुपैयाँ अनुदान दिइएको डा चापागाईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ का लागि पनि १५ लाख रुपैयाँ माछा ह्याचरी (भुरा उत्पादन) का लागि अनुदान छुट्याइएको छ भने तीन करोड रुपैयाँ पोखरी विस्तारका लागि छुट्याइएको छ । चितवन पूर्णरुपमा माछामा आत्मनिर्भर नभइसकेको चापागाईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माछा उत्पादनको हिसाबले चितवनलाई पुग्ने माछा पर्याप्त भए पनि बाहिरी जिल्लामा निर्यात गर्ने भएकाले आत्मनिर्भर भइसकेका छैनौँ ।’

मत्स्य व्यवसाय संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङकाअनुसार चितवनको माछा उत्पादनले जिल्लामा ६० प्रतिशत माग मात्रै धानेको छ । ४० प्रतिशत माछा भारत लगायत नेपालकै अन्य जिल्लाबाट आयत गरिने उहाँले बताउनुभयो । तामाङले माछाको भुराको लागि भने भारतसँगै परनिर्भर हुनु परेको गुनासो गर्नुभयो । उहाँकाअनुसार चितवनमा व्यवसायिक रुपमा पालन गरिने कार्प र पाङ्गासियस जातका माछाका भुरा पर्याप्त मात्रामा छैनन् । चितवनमा कार्प प्रजातिका माछाका भुरा उत्पादन गरिने भए पनि पाङ्गासियसको भुराको लागि भने पूर्णरुपमा भारतसँगै निर्भर हुनुपर्ने अवस्था रहेको तामाङ बताउनुहुन्छ ।

‘उत्पादनका हिसाबले कार्प एक कठ्ठामा चार क्विन्टल उत्पादन हुन्छ भने पाङ्गासियस १४ क्विन्टल उत्पादन हुन्छ’ तामाङले भन्नुभयो, ‘तर, पाङ्गासियस जातको माछाका भुरा पाइदैन ।’ स्थानीय सरकारले पोखरी निर्माण तथा विस्तारको लागि पर्याप्त मात्रामा अनुदानका कार्यक्रम ल्याए पनि भुरा उत्पादनदेखि वितरणमा सामान्य सहयोग पनि नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले भुरा उत्पादन र वितरणमा सामान्य सहयोग गरेको खण्डमा चितवन एक वर्षमै माछामा आत्मनिर्भर हुन्छ ।’

भुराको माग पु¥याउन हम्मेहम्मे

माछाका भुरा उत्पादनदेखि बिक्री वितरण गर्दै आएको चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रले जिल्लामा मागअनुसारको भुरा पु¥याउन नसकेको बताएको छ । केन्द्रका प्रमुख कल्याण केसीले जिल्लामा मागअनुसारको भुरा पु¥याउने अवस्था नरहेको. बताउनुभयो । पछिल्लो समयमा माछा पोखरी बढ्दै जाँदा पनि सो समस्या आइपरेको केन्द्रले जनाएको छ ।

वाग्मती प्रदेशअन्र्तगत रहेको मत्स्य विकास केन्द्र प्रदेशमै भुरा उत्पादन गर्ने एउटा मात्रै केन्द्र हो । तीन अवस्थाका भुरा उत्पादन गर्दै आएको केन्द्रले चालु आर्थिक वर्ष २०७७/७८ मा ह्याचलिङ अवस्थाका तीन करोड १९ लाख, फ्राइ अवस्थाका २६ लाख ५० हजार, फिङ्गरलिङ अवस्थाका चार लाख ६९ हजार ४८० माछाका भुरा उत्पादन भएको प्रमुख केसीले जानकारी दिनुभयो ।

जसमार्फत् २० लाख १८ हजार ६७० रुपैयाँ राजस्व सङ्कलन भएको समेत उहाँले बताउनुभयो । केन्द्रले अहिले सात प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ । चितवनमा मत्स्य विकास केन्द्र भण्डाराबाहेका भुरा उत्पादनका लागि निजीतर्फ पाँच वटा केन्द्र रहेका छन् । चितवनको माडी, खैरहनी, रत्ननगर, कुमरोज तथा भरतपुरको शारदानगर र गुञ्जानगरमा व्यवसायिक रुपमा माछा पालन हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका