



काठमाडौं, माघ १२–
समूह ‘ए’ मा अपराजित रहँदै एपिएफ क्लव काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा आज (सोमबार) भएको खेलमा त्रिभुवन आर्मी क्लवलाई ६ रनको झिनो अन्तरले पराजित गर्दै एपिएफ अपराजित यात्रा कायम गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ मा अपराजित रहँदै ४ खेलबाट एपिएफले ८ अंक जोड्यो । यस्तै समूहको उपविजेता बन्दै त्रिभुवन आर्मी क्लवले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज पहिले व्याटिङ गरेको एपिएफ क्लवले २४० रन जोडेको थियो । उसका लागि सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सुन्दिप जोराले २८, अमरसिंह रौटेलाले २६ र कप्तान शरद भेषवाकरले २४ रन बनाएका थिए । आर्मीका लागि हरिबहादुर चौहानले ९.४ ओभरमा एक मेडनसहित ६० रन खर्चिदै ५ विकेट लिए । सहाब आलमले २, आकाश चन्द, सुसन भारी र विक्रम शोबले समान एक विकेट लिए ।
जवाफमा आर्मी ८ विकेटको क्षतिमा २३४ रन मात्रै जोड्न सक्यो । आर्मीलाई इनिङको अन्तिमसम्म पु¥याउन आकाश चन्द र साहब आलमले ३८ रनको साझेदारी गरे । शाहब २० र आकाश १६ रनमा अविजित रहे । यस्तै अनिल मण्डल ४५, राजेश पुलामी मगरले ३३, रोहित पौडेलले ३० रनको योगदान दिए । कप्तान विनोद भण्डारी र हरि चौहान शून्यमै आउट भएपछि आर्मी दवाबमा परेको थियो ।
अब सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने आर्मीले समूह ‘बी’को विजेता बागमती प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ ।