जोडिनुहोस
  • होमपेज
  • भरतपुरको पटिहानीमा नेपाली सेनाद्वारा बहुउद्देश्यीय भवन हस्तान्तरण

भरतपुरको पटिहानीमा नेपाली सेनाद्वारा बहुउद्देश्यीय भवन हस्तान्तरण

चितवन, माघ १२-

नेपाली सेना बटुक दल गण कसराले निर्माण गरेको विपत् व्यवस्थापन बहुउद्देश्यीय भवन सेनाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बटुक दल गणका पृतनापति ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई सो भवन हस्तान्तरण गरेका हुन् ।

नागरिक सैनिक सहकार्य र सम्बन्धलाई सुमधुर बनाउन १८ लाख रूपैयाँको लागतमा सो बहुउद्देश्यीय हल निर्माण गरिएको थियो । हल निर्माण भएसँगै बाढीपीडित, दैविक प्रकोप तथा सामाजिक कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग पुग्नेमा विश्वास लिइएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छन् । भरतपुर महानगरपालिका–२२ को गर्बेटाँडीमा निर्माण गरिएको यस बहुउद्देश्यीय भवनमा बाढी पहिरो पीडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागी उपयोग गरिने दाहालले बताइन् ।

‘जंगली जनावरको प्रभाव र राप्ती नदीमा डुबानको बढी जोखिम छ’,उनले भनिन् ‘ त्यसको न्यूनीकरणमा भरतपुर महानगरपालिकाले योजनाबद्ध ढंगले काम अगाडि बढाएको छ ।’ प्रमुख दाहालले समुदायको हितका लागि बहुउद्देश्यीय हल निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको प्रति बटुकदल गण कसराका पृतनापति ताराध्वज पाण्डेलाई धन्यवाद व्यक्त गरिन् । सो अवसरमा पृतनापति पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखि उल्लेख्य काम गर्दै आएको बताउँदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा, प्राकृतिक संरक्षण, विपत् व्यावस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए । उनले बहुउद्देश्यीय भवन समुदायको हितमा उपयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष विष्णुराज महतोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् ब्यवस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए । कार्यक्रममा बटुकदल गणका गणपति अरूण श्रेष्ठले बहुउद्देश्यीय हल निर्माण र यसको उपयोगिताबारे जानकारी दिँदै नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधि वृद्धिमा लागिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका