



चितवन, माघ ११-
चितवनको पर्यटन र पार्यावरण प्रवद्र्धनका लागि ‘राइड टु सोमेश्वरगढी’ हुने भएको छ ।
चितवनको माडीमा रहेको ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढीलगायत माडीका अन्य पर्यटकीय स्थलमा ‘एक सपना साइकल’ र वाह बाइकको आयोजनामा यही पुस १६ र १७ गते साइकल यात्रा हुन लागेको हो ।
शनिबार आयोजक संस्थाले भरतपुरमा पत्रकार सम्मेलन गर्दै ‘राइड टु सोमेश्वरगढी’ बारे जानकारी गराएका हुन् । आयोजकमध्ये एक वाह बाइक चितवनका सञ्चालक एवम् साइकल अभियन्ता डा.जीवन क्षेत्रीले कोरोनाका कारण अस्तव्यस्त पर्यटन क्षेत्रलाई उजागार गर्दै बढ्दो प्रदूषणलाई न्यूनीकरणका लागि साइकल यात्रा अभियान सुरु गरेको बताए ।
उनले भने ‘शहरमा बढ्दो सवारी जाम तथा धुलाम्य सडकले सिर्जना गरेको वायु प्रदूषणले स्वास्थ्य र वातवरणमा पारेको प्रतिकुलतालाई मध्यनजर गर्दै साइकल र पर्यटनलाई प्रवद्र्धन गर्न साइकल यात्रा गर्ने सोचेका हौ।’ यस्तै एक सपना साइकल र सफा नेपालकी साइकल अभियन्ता रुक्मिणी सापकोटाले ‘राइड टु सोमेश्वरगढी’मा चितवनलगायत १० जिल्लाबाट साइकल यात्रीहरु सहभागी हुने जानकारी दिइन् । ‘कम्तीमा १०० जना साइकल यात्रीहरुको सहभागिता हुनेछ । जसमा विशेष अतिथिको रुपमा विस्व साइकल यात्री पुष्कर शाह र भारतका १० फुट ६ इन्चसम्म अग्लो साइकल बनाएर चलाएका साइकल यात्री राजीव कुमार ‘जोनी’ को सहभागिता रहनेछ’ साइकल अभियन्ता सापकोटाले भनिन् ।
माडी नगरपालिकाको मुख्य सहयोग तथा आतिथ्यतामा हुन लागेको साइकल यात्रामा भरतपुर महानगर, जिल्ला समन्वय समिति चितवन, क्षेत्रीय होटल संघ, उधोग वाणिज्य संघलगायतको सहकार्य र निजी क्षेत्रका विभिन्न व्यवसायहरु प्रायोजक रहेका छन् ।