



चितवन, माघ ८–
नेपाली काँग्रेस चितवनका सह–सचिव राजन कार्कीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले देश बनाउने नभई देशलाई झनै बिगार्ने मात्रै काम गर्ने आरोप लगाएका छन् ।
काँग्रेस भरतपुर महानगरपालिका–११ वडा कमिटीले बिहीबार गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै युवा नेता कार्कीले नेकपाको गतिविधि सारा जनताले थाहा पाइसकेको भन्दै बेलैमा जनताले सबक सिकाउनुपर्ने बताए । ‘सारा जनताले बुझिसकेका छन्, नेकपा भनेको गुट हो, यस्ताले देश बनाउँदैन, देश खान्छ’–नेता कार्कीले भने । उनले दुई कम्युनिष्ट पार्टी मिल्दाखेरी नै काग र बकुल्ला एक हुन नसक्ने बारे जनताले थाहा पाइसकेको भन्दै पछिल्लो लडाईले पुष्टि गरेको बताए । स्वार्थका लागि मात्रै दुई कम्युनिष्ट एक भएको भन्दै नेता कार्कीले ‘विचारले होइन स्वार्थले मिलेका थिए, अहिले कुर्ची र पदका लागि फरक–फरक हुन थाले ।’
उनले नेपाली काँग्रेसले नेकपाका नेताहरुको बिरोध गर्नै नपर्ने अवस्था आएको भन्दै एउटै पार्टीका नेताहरुले एकअर्कालाई विरोध गर्न थालेको बताए ।
कार्यक्रममा जिल्ला प्रतिनिध देवकी गौतमले केपी ओली नेतृत्वको सरकारले जनतासंग गरेको बाचा पुरा गर्न नसकेको भन्दै झुटो आश्वासनमा नफस्न सबैमा आग्रह गरिन् ।
वडा सभापति अम्मर बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति महेश्वर ढकाल, नेता ज्ञानेन्द्र गिरीलगायतले सम्बोधन गरेको युवा नेता राजेश भुषालले जानकारी दिए । विरोधसभा विभिन्न स्थानमा र्याली निकालिएको थियो ।