



चितवन, माघ ८-
जिल्ला प्रहरी कार्यालय चितवनले एकैदिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरीवाना सजाय भई फरार रहेका व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दिव्यनगरको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
चोरी, सवारी ज्यान, लागुऔषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २२ जना पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा बुझाइएको थापाले नारायणी अनलाइनलाई बताए ।