



काठमाडौं, माघ ७-
नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७, २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।
आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।
निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ । त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन कांग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धी कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।